काठमाडौं । मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि गोलवर्षा गरेको छ । च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारको पोस्टमा ७ गोल हान्यो । उक्त खेल मच्छिन्द्रले ७-३ गोलअन्तरले पराजित गरेको थियो । मच्छिन्द्रका लागि ओलावाले अफिजले लिगको पहिलो हृयाट्रिकका साथै ५ गोल गर्नुभयो । यस्तै, टोलीका लागि विमल घर्ती मगरले बाँकी दुई गोल गर्नुभयो । खुमलटारका लागि मेसुके ओलोमोउले २ तथा स्टेफन विनोङले १ गोल गर्नुभयो ।
खेलको २४औँ मिनेटमा आफिजको गोलबाट मच्छिन्द्रले अग्रता लियो । सुरज विकको लामो पासलाई पेनाल्टी क्षेत्रभित्रबाट उहाँले गर्नुभएको प्रहार गोलमा परिणत भएको थियो । त्यसको ५ मिनेट नबित्दै आफिजले दोस्रो गोल गर्नुभयो । भुटानी फरवार्ड चेन्चो ग्याल्सेनको पासमा गोलरक्षकसँग वन भर्सेस वनमा उहाँले गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा विमलले मच्छिन्द्रका लागि तेस्रो गोल गर्नुभयो ।
दोस्रो हाफको ५६औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै आफिजले हृयाट्रिक पूरा गर्नुभयो । विमलले गोलरक्षक देव लिम्बूलाई छक्याएर गरेको प्रहार पदम भट्टराईको हातमा लागेपछि रेफ्रीले दिएको पेनाल्टीमा आफिजले गोल गर्नुभएको थियो । ६१औँ मिनेटमा मेसुके ओलोमोउले खुमलटारका लागि एक गोल फर्काउनुभयो । स्टेफन विनोङको पासमा उहाँले गोल गर्नुभएको थियो । त्यसको एक मिनेटमा नै आफिजले मच्छिन्द्रका लागि अर्को गोल गर्नुभयो । पुजनले मिडफिल्डबाट दिएको पासमा उहाँले गोलरक्षकको टाउकोमाथिबाट गोल गर्नुभएको थियो ।
६७औँ मिनेटमा आफिजले व्यक्तिगत पाँचौँ गोल गर्दै सनसनी मच्चाउनुभयो । आन्द्रेस नियाको लामो पासमा उहाँले हेडरमार्फत् गोल गर्नुभएको थियो । ७६औँ मिनेटमा स्टेफन विनोङले खुमलटारका लागि पेनाल्टीमा एक गोल फर्काउनुभयो । त्यसपछि ८१औँ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ६–३ बनेको थियो । र, अन्त्यमा ८७औँ मिनेटमा वैकल्पिक फरवार्ड विजय भुजेलले गोल गर्दै मच्छिन्द्रलाई ७-३ को सानदार जित दिलाउनुभयो । यस जितसँगै मच्छिन्द्रले आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारसँगै १२ अंक जोडेको छ । खुमलटार आठ खेलमा सात अंकका साथ दशौँ स्थानमा छ ।
यस्तै, लिगको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो जित निकाल्ने क्रममा जावलाखेल युथ क्लबमाथि जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई आर्मीले ३-१ गोल अन्तरले हराएको हो ।
आर्मीको जितमा जिलेस्पीजंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक/एक गोल गर्नुभयो । जावलाखेलका सुनिल खड्काले एक गोल फर्काउनुभयो । खेलको १७औँ मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ५५औँ मिनेटमा नवयुगले गोल गर्दा आर्मी २–० ले अघि रहृयो । खेलको ६२औँ मिनेटमा सुनिलले गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याउनुभयो । त्यसपछि खेलको ८०औँ मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३-१ को जित दिलाउनुभयो ।
जितसँगै आर्मीले आठ खेलमा १२ अंक जोडेको छ । आर्मी पाँचौँ स्थानमा उक्लिएको छ । जावलाखेलले आठ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा यथावत् रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच