करोडपतिको खाजा !

डा. नारायण चालिसे
डा. नारायण चालिसे
Read Time = 14 mins

धेरैजसो मानिसलाई आफूबाहेक अरू सबै बेठिक छन् भन्ने जस्तो पनि लाग्छ । अरूका कुरा नगरेसम्म आफ्नो उचाइ पनि बढ्दैन कि झैँ गरेर प्रायः मानिसहरूले अरूकै निन्दोचर्चो गर्छन् । यसो गर्दा केही त जानकारीमूलक कुराहरू पनि बाहिर आउँछन् । कहिले मानिसको चरित्रका बारेमा, कहिले मानिसको हैसियतका बारेमा, कहिले मानिसको स्वभावका बारेमा चर्चा गरेर प्रायः मानिसको समय व्यतीत हुन्छ । समाजमा बसेपछि सामाजिक विषयहरू प्राथमिकतामा पर्छन् । निम्नमध्यम वर्गीय परिवारमा जन्मियो आधारभूत कुराहरू केही पाइए तर धेरै रहर अधुरै रहे । त्यसो त रहर कहिले पो पूरा हुन्छन् र ? रहर र सपना उस्तै पनि हुन् । उज्यालो हुँदा सपना हराएझैँ यथार्थ परिस्थितिसँग जम्काभेट हुँदा रहरहरू हराउँछन् ।

मलाई सानैदेखि लाग्थ्यो ठूला मानिस अर्थात् धनीमानीहरूले के कस्तो खाँदा हुन् ? उनीहरूले पनि हामीले जस्तै खाना त अवश्य खाँदैनन् होला । सुन, चाँदी, हिरा, मोती आदि मूल्यवान् वस्तुहरू हुन् भन्ने पनि सुनेको थिएँ । तिनीहरूको उपयोग के कस्तो ठाउँमा हुने हो थाहा थिएन । कता कता तिनीहरूले खानेकुरा तिनै महँगा वस्तुहरूबाट बन्छ होला जस्तो लाग्थ्यो । ठूलो हुँदै गइयो केही कुरा जानकारी हुँदै गयो तर केही कुराको जानकारी अझै पनि हुन सकेन । सुन चाँदी खाने वस्तु होइन रहेछन् देखाउने विषय रहेछन् भन्ने त थाहा भयो अझै पनि ती ठूलाबडाहरूसँग जोडिन सकिएन अनि तिनले के खान्छन् भन्ने थाहा पाउन सकिएन । करोड भन्ने कुरालाई सधैं ठूलो ठानिरहियो ।

यतिका वर्षपछि हालसालै एक जना करोडपति सज्जनसँग पाँच घण्टा सँगै यात्रा गर्ने अवसर जु¥यो । आफ्नो जीवनकालमा उहाँले धेरै नै कमाइधमाइ गर्न सक्षम हुनुभएको अन्दाज गरिन्छ तापनि सजिलोका निम्ति हामीले उहाँलाई करोडपति भन्न सकिने प्रशस्त आधारहरू थिए । अहिलेको परिस्थितिमा करोडपति त छ्यासछ्यास भेट्न सकिन्छ भनिए पनि यसरी जाने बुझेकै वा थाहा पाएकै करोडपतिसँग सङ्गत गर्ने प्रत्यक्ष अवसर भने जुरेको थिएन । त्यसो हुँदा वर्षौंदेखिको मेरो जिज्ञासाका स्रोत व्यक्ति भेटेकामा म उत्साहित थिएँ । यति लामो यात्रामा त करोडपतिले खाने विषयको सामान्य जानकारी लिने मौका मिल्नेछ भनेर पनि म बढी उत्साहित थिएँ ।

अहिलेको परिस्थितिमा करोडपति त छ्यासछ्यास भेट्न सकिन्छ भनिए पनि यसरी जाने बुझेकै वा थाहा पाएकै करोडपतिसँग सङ्गत गर्ने प्रत्यक्ष अवसर भने जुरेको थिएन । त्यसो हुँदा वर्षौंदेखिको मेरो जिज्ञासाका स्रोत व्यक्ति भेटेकामा म उत्साहित थिएँ ।

धनीमानीले केकस्तो खाँदा रहेछन् आज जान्न पाइने भयो । साथै यो पनि लागिरहृयो कि आज करोडपतिसँग खाजामा पनि साथ दिन पाइने भयो । उहाँसँग भेट हुने बित्तिकै कुराकानीको पनि थालनी भयो । उहाँ बडो सज्जन प्रकृतिको व्यक्ति हुनुहुँदो रहेछ । आहार, विहार, विचार, व्यवहार आदि कुरामा त्यत्तिकै सजग पनि । उहाँले यात्राभरि के खाने ? के नखाने ? के गर्ने के नगर्ने ? देखि मुलुकको विद्यमान राजनीतिक परिस्थितिका विषयमा पनि आफ्ना अनुभवी धारणा राख्नुभयो । गतिशील जीवनमा उहाँले के कस्तो अवसर लिनुभयो त्यति थाहा नपाए पनि उहाँका कुराबाट कुनै बलियै राजनीतिक पार्टीसँग गहिरो सम्बन्धमा हुनुहुन्छ भन्ने जानकारी पनि उहाँको भनाइबाट झल्किन्थ्यो ।

उहाँले धेरै विषयमा आफ्ना गहन विचार व्यक्त गर्दै रहनुभयो तर त्यत्रो लामो यात्रामा केही खान पर्ने विषयमा भने त्यति चासो दिनु भएन । आफूले चासो राखौँ उहाँ जत्तिको व्यक्तिलाई कस्तो ठाउँमा जाऊँ भनेर प्रस्ताव गरौँ असजिलो लागिरहृयो । भित्रभित्रै भोक लागिरहेको छ । के खाऊँ ? के खाऊँ ? भइसक्यो । आफैं पनि एक पहरको खाजासम्म प्रस्ताव गर्न सक्ने हैसियतमा त थिएँ तैपनि यात्रामा उहाँजत्तिको व्यक्तिलाई प्रस्ताव गर्ने खाजाघर कुनै सुझिरहेकै थिएन । यता जाऊँ भनेर प्रस्ताव गरौं उहाँको हैसियतमा आँच आउने हो कि भन्ने डरले मन गह्रौं पारेर गाडीमा हुइँकिइरहृयौँ ।

उहाँले प्रस्ताव गर्ने कुनै छेकछन्दै छैन । चियाको तलतल त्यत्तिकै छ तीन घण्टा जति भएपछि अर्को एकजना मेरै हैसियतका सहयात्रीले मुख फोर्नुभयो । होइन भोक पनि लाग्यो यसो केही खाएर हिँडौं कि ? त्यसपछि उहाँले सहमतिमा मुख फोर्नुभयो र भन्नुभयो ‘ठिक भन्नुभयो यतै कतै राम्रो कफी बनाउने ठाउँ छ त्यो खोजौं र केही खाएरै जाऊँ ।’ अनि अर्को उत्साह थपियो मनमा उहाँ जत्तिको मानिसले कफी पिउने ठाउँ कुन होला ? आज त्यो अवसर पनि प्राप्त हुने भयो । त्यसपछि त्यो ठाउँ खोजी गर्ने क्रम सुरु भयो । राजमार्गका अलि स्तरीय जस्ता लागेका खाजाघरहरूमध्ये कुनै हुनसक्ने ठानेर देखाउँदै उहाँलाई सोध्दै गर्न थाल्यौँ । उहाँले होइन भन्दै जानुभयो ।

उहाँलाई मात्र जानकारी भएको ठाउँ उहाँले नै पत्ता लगाउनुपर्ने भयो । उहाँ बेला–बेला कारबाट बाहिर हेर्दै रहनुभयो तर समस्या के भयो भने उहाँले खोजेको त्यो ठाउँ कता छुट्यो पत्तै भएन । उहाँले भनेअनुसारको ठाउँ हामीले भेट्न सकेनौँ । अनि उहाँ कट्टर किसिमको शाकाहारी हुनुहुँदो रहेछ । जो कोही ठाउँमा पस्दै नपस्ने । शुद्ध शाकाहारीमा मात्र जान मिल्ने । हामीलाई अर्को पनि समस्या प¥यो । त्यस्तो ठाउँ भेट्न राजमार्गमा झनै गाह्रो । यसरी हुइँकिँदै गर्दा खाजाको सम्भावना टर्दै गएको अनुभव हुँदै गयो । धेरैपछि उहाँको पनि धैर्य टुट्यो । एउटा खाजा र फलफूल पसल भएको ठाउँमा गाडी रोक्न लगाउनुभयो र हामी बाहिर निस्क्यौँ ।

ADVERTISEMENT

त्यो ठाउँ पनि भने जस्तो नभएपछि उहाँ फलफूल पसलतिर लम्किनुभयो । त्यहाँ पसेर उहाँले तीनवटा अम्बा (सायद आधाकिलो हुनुपर्छ) किन्नुभयो र चारवटा रसिला अमला कम्प्लिमेन्ट्री (भनिन्छ नि आधाकिलो काउलीमा चारवटा पात धनिया वा दुई ढिँडी खुर्सानी सित्तैमा) लिनुभयो र भन्नुभयो जाऊँ भने जस्तो खाजा खाने ठाउँ भेटिएन त्यतिन्जेल यिनै अम्बाखाँदै गरौँ । खाजा पसल पनि हेर्दै जाऊँ भन्नुभयो । हामीले मुखामुख गर्दै हुन्छ भन्नेमा सहमति जनायौँ । गाडीमा बसेपछि उहाँले भक्षाभक्ष र पथ्यापथ्यको विषयमा सारगर्भित प्रवचन दिनुभयो र ल ¤ यो अमला खाऊँ यसमा यति प्रकारका भिटामिन हुन्छन् । यति प्रकारका औषधीय गुण हुन्छन् इत्यादि भनेर प्रवचनलाई क्लाइमेक्समा पुर्‍याउनुभयो ।

हामीले सहमतिमा टाउको हल्लाउँदै अमला चपाउँदै पानी पिउँदै ग¥यौँ । एक प्रकारले पेट भरियो । त्यसमाथि हामीसँग उहाँले किनेका अझै तीनवटा अम्बा बाँकी नै थिए । त्यसपछि उहाँले सारगर्भित ढङ्गले भन्नुभयो ल ! अब यी अम्बा बाँडर खाऊँ । मलाई त राम्रै खाजा खुवाउने मन थियो तर के गर्ने सबै ठाउँमा खान सर्द लाग्दैन । शुद्ध हुन्न शरीरमैत्री पनि हुँदैन बाहिरको खाना । म त प्रायः बाहिरको खाना खाँदिन । अप्ठ्यारै भएर खान परे यस्तै स्वस्थकर फलफूल आदि लिने गर्छु । आफूले श्रद्धाले खाने गरेको ठाउँ कता छुट्यो । यस्तै हो यात्रामा भनेजस्तो नहुने भनेर केही पाकेजस्ता अम्बा हातले फोर्न लाग्नुभयो । हामी चारजनाले तीनवटा अम्बा बाँडेर खायौं र सन्तुष्ट भयौं ।

धनीमानी भनेका को हुन् ? करोडपति र रोडपतिमा के फरक रहेछ ? खानकै निम्ति करोडपति बन्न आवश्यक छ र ? खानु नै के रहेछ र ? इत्यादि पनि कहीँ जिज्ञासा हुन्छन् ? भोक जो शरीरले लिएर आएको छ ।

हामी त के के सोच्छौं । प्रशस्त पैसा भए वा पुगिसरी आए त कहाँ कहाँ जाउँला । महँगा महँगा होटल वा रेष्टुरेन्टमा छिरौंला । नया-नयाँ नामै नसुनेका स्वादिला खानेकुरा मनग्गे खाउँला र रमाउँला । तर, सत्य त्यस्तोमात्रै कहाँ हुँदोरहेछ र ? पुगेपछि पनि यदि खान जानेको मानिस त त्यसरी मुख छोडेर खाँदोरहेनछ बरु पथ्यापथ्य ख्याल गरेर खाँदो रहेछ । तत्कालै मेरो भ्रमको पर्दा हट्यो । मैले अब नयाँ सपना खोजेर बाँच्नुपर्ने भयो ।

त्यसपछि उहाँ आफ्नो मोबाइलमा आत्मज्ञानका सुमधुर भजन लगाएर सायंकालिक भगवद् चिन्तनमा लाग्नुभयो । हामीले शान्त, स्थिर, निश्पृहजस्तो उहाँको ध्यान मुद्रालाई एकछिन नियाल्यौं । आफूभित्रबाट पनि त्यसै प्रकृतिको आध्यात्मिक भाव प्रकट हुन नसकेकामा हामीलाई केही अपूर्णता बोध भयो । यति गर्दा हाम्रो गन्तव्यको बिन्दु पनि आइपुग्यो । त्यसपछि आवश्यक शिष्टाचारसहित हामी बिदा भयौं ।

आहा ! क्या रोमाञ्चक भयो त्यो यात्रा । कति धेरै खुराक मिल्यो मेरो जीवनचेतनालाई । मैले कति धेरै प्रश्नहरूको एकैचोटी उत्तर पाएँ । कति लामो प्रतीक्षाको अन्त्य भयो मेरो । मैले जीवनभरि रहस्यमय मान्दै आएको धनीमानीसँग जोडिएको जिज्ञासालाई यति राम्ररी मेटाउने अवसर पाएँ । खानु भनेको सन्तुष्ट हुनु वा पेट भर्नु रहेछ । के खाएर सन्तुष्ट भइयो वा पेट भरियो त्यति ठूलो कुरा रहेनछ ।

धनीमानी भनेका को हुन् ? करोडपति र रोडपतिमा के फरक रहेछ ? खानकै निम्ति करोडपति बन्न आवश्यक छ र ? खानु नै के रहेछ र ? इत्यादि पनि कहीँ जिज्ञासा हुन्छन् ? भोक जो शरीरले लिएर आएको छ । त्यसैले गर्दा मानिस कति उत्ताउलो भएको छ । यसरी हो नि ! भोकलाई आफ्नो बनाउने । भोजनलाई प्रेम गर्ने । यति सामान्य कुरा बुझ्न पनि यतिका वर्ष कुर्न परेकामा भने म आफ्नै नादानीमा लज्जित भएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. बधाइछ डा चालिसेलाई ।खान र लाउन अनि स्वास्नी पाल्नकै निमित्त 37 क्विन्टल सुन कमानु या लुकाउनु अावश्यक ठान्ने नेताकाे एकजना बाैद्धक मान्छेका आखा खाेलिदिएछन् ती महाशय कराेडपतिले ।अब कुनैदिन तिनले पदमा खेप दाेहाेर्याएर मात्र ठूलाे बनेका वृथाभिमान पाल्न सके पनि दुनियाँले असल मान्छे भन्दैन ।असलमा दरिन असल साेच,असल अाचरण,असल चरित्र पानी चाहिन्छ भने” शेपुमाझकेओ” लाई पनि बाेध गराउन कारमा यात्रा गराउन पाए देशले र जनताले नै त्राण पाउने रहेछन् ।अमला,अम्बा र पानी भए पुग्दाेरहेछ जीवन धान्न भने सुन,चाँदी,हीरामणि जवाहरात अादि र देशमा राख्न नसकेर विदेशी बैकमा लगेर देश कङ्गाल बनाउनु नपर्ने रहेछ भन्नेबाेध गराउन डा चालिसे यश लेखमा सफल भएका छन् ।अत: डा चालिसेलाई वक्राेक्तिशैली साधनाकाे कलाका लागि पनि अर्काे एकचाेटि अरु बधाइ ।