पाल्पा । ‘चैते धान लगाउने बेला भएको थियो,पानी नपर्दा लगाउन पाएका थिएनौं, पानी परेकाले अब धान रोप्ने तयारी गर्दछौं’ पूर्वखोला गाउँपालिकाकी किसान सीता सारुले भन्नुभयो । हिउँदे वर्षाले सुख्खा रहेका खेतबारी अहिले चिस्यान भएको उहाँले बताउनुभयो । सारुले बारीमा लगाएको तरकारीलाई अहिलेको वर्षाले राहत मिलेकोमा खुसी समेत व्यक्त गर्नुभयो । हिउँदमा लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका तरकारी समेत फस्टाउन पाएका थिएनन् अब फस्टाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।
‘हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, जौलगायतका हिउँदेबाली, तरकारी र फलफूलहरू खेतवारीमा नै सुक्न लागेका थिए’ गुल्मी मुसिकोट नगरपालिका-३ पेगाकी किसान सारदा जिसीले भन्नुभयो ‘यो हिउँदमा पहिलोपटक बल्ल पानी पर्यो, औधी खुसी छौँ ।’ अहिले बारीमा मकै छर्ने बेला भएकाले पानीले ठूलो राहत दिएको पनि उहाँले बताउनुभयो । ‘खडेरीले खेतमा छरेको मकै टुसाउन पाएका थिएनन् । यो वर्षाले धेरै राहत पुर्यायो’, इस्मा गाउँपालिका-१ हस्तिचौरका अर्का किसान निर्दोष खत्रीले भन्नुभयो ‘सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ ।’
हिउँद सकिनै लाग्दा परेको पानीले सारु, जिसी र खत्री मात्रै होइन पाल्पा र गुल्मीका धेरै किसान खुसी भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल र अन्य वालीलाई समेत राहत मिलेको छ ।
शुक्रबारदेखि पहाडी जिल्लाका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुसी दिएको हो । यसअघि चैतको पहिलो साता पनि पानी परेको थियो । खेतमा छरेका मकै र बारीमा छर्ने तयारी गरिरहेका किसानलाई ठूलो राहत पुगेको किसानहरु बताउँछन् । हिउँदे तरकारी र मकैलाई अहिलेको वर्षाले निकै फाइदा पुगेको छ । अहिले गुल्मी र पाल्पाका अधिकांस बारीमा गहुुँ पाकेको छ भने केही ठाउँहरुमा गहुँ स्याहारेर मकै छर्ने तयारीमा किसान छन् । पानी नपरेका कारण यस पटक चैते धान रोपाई पनि ढिला भएको छ । चैते धान रोप्न तयारी गरेका यहाँ किसानहरुलाई समेत पानीले राहत दिएको हो । सिँचाइका लागि आकाशे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ ।
गुल्मीका अधिकांस ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । पहाडका टार, बेंसीमा गहुँ, केराउ, फापर, तोरी र मसुरो स्याहार्ने बेला हो । केही किसानले गहुँ, तोरी स्याहारिसकेका छन् भने केहीले स्याहार्दै छन् । बारीमा रहेको गहुँ, तोरी स्याहरेका किसान पानी परेसँगै मकै छर्ने तयारीमा जुटेका छन् । हिँउदको समयमा पानी नपर्दा किसानले लगाएको बेमौसी तथा मौसमी तरकारी, फलफूललगायतका वालीहरु सुक्दै जान थालेका बेला पानीले केही राहत पुगेको कृषि प्राविधिकहरु बताउँछन् ।
पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यहाँ ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ ४ हजार ८ सय ७१ हेक्टरमा गर्न सकिन्छ । यस्तै गुल्मीमा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ, भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जसमध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा बर्खे धान रोपिँदै आइएको छ ,भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोप्ने गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यावस्था नहुँदा किसानहरु आकाँशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता