आर्ट्समा एकहप्ते चित्रकला प्रदर्शनी

Read Time = 5 mins

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा एकहप्ते चित्रकला प्रदर्शनी सुरु भएको छ । अग्रज तथा नवपुस्ताका चार दर्जन बढी कलाकारका कलाकृतिको एकहप्ते ‘तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३’ शुक्रबारबाट ठमेलस्थित होटल आर्ट्समा सुरु भएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभएको थियो । उहाँले प्रदर्शनीले अग्रज पुस्तादेखि नयाँ पुस्ताका कलाकारलाई एक ठाउँमा ल्याएको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति हार्तम्छालीले देशको सांस्कृतिक परिवेशलाई कलाकारले कलामार्फत् उठाएको विचार व्यक्त गर्नुभयो । उहाँले कलाका सन्दर्भमा सिर्जना नै प्रमुख कुरा भएको बताउँदै प्रदर्शनीपछि कला मूल्यांकनमा पनि जाने बताउनुभयो । सो अवसरमा क्लबका पूर्वअध्यक्ष तथा कलाकार नगेन्द्रप्रसाद पौड्यालले प्रदर्शनीले नेपाली कलामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो । उहाँले कला प्रदर्शनीले नेपाली परिवेश र समसामयिक परिवेशलाई कलात्मकरूपमा उठान गरेको जिकिर गर्नुभयो ।

लायन्स क्लब रिजन चेयरपर्सन ३२५ आइका संगीता केसीले नेपाली कला र संस्कृतिलाई विश्वव्यापी बनाउन क्लबले काम गर्दै आएको जनाउनुभयो । उहाँले नेपालीपनलाई चिनाउन यस्ता प्रदर्शनी निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ फाइन आर्ट्सका उपाध्यक्ष किरण सिगुले प्रदर्शनीमार्फत् कलामा अग्रज र नयाँ पुस्ताका कलाकारलाई जोडेको बताउनुभयो । उहाँले आगामी दिनमा क्लबले भिन्न र सिर्जनशील कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

ADVERTISEMENT

लायन्स क्लब अफ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले कलामार्फत् नेपाली संस्कृतिलाई विश्वमा चिनाउने गरी काम गरेको सुनाउनुभयो । उहाँले कलाक्षेत्रमा केही पृथक् कार्य गर्ने उद्देश्यका साथ सन् २०१९ ताका लायन्स क्लब अफ फाइन आर्ट्सको स्थापना गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा अग्रज कलाकार राधेश्याम मुल्मी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, चित्रकला विभाग प्रमुख सञ्जय वान्तबा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, परम्परागत शिल्पकला विभाग प्रमुख पाल्साङमो लामालगायतका व्यक्तित्वको उपस्थिति थियो ।

अप्रिल ६ सम्म चल्ने प्रदर्शनीमा ४९ स्वदेशी र एक विदेशी कलाकारका कलाकृति राखिएको छ । प्रदर्शनीमा अग्रज कलाकार केके कर्माचार्य, राधेश्याम मुल्मी, नगेन्द्रप्रसाद पौड्याल, महेश आचार्य, राजेश मानन्धर, रमेश कुँवर, डिबी राई, डि राम पाल्पाली, धन याख्खा, भीमबहादुर श्रेष्ठ, चिरञ्जीवी भट्ट, एनवी गुरुङ, निमबहादुर तामाङ, किरणकुमार सिगु, आवरण पौडेल, मनारा प्रजापती, अमन ठाकुर, अंकित महतो, अर्जुन देशार, विनिता इजम, विनोद गिरी, विनोद लिम्बू, विशाल लिम्बू, दिपक कुँवर, डिल्लीकृष्ण आले, गिरिराज शर्मा, जेजी विल्स, जनक अधिकारी, जितेन्द्र लामा, जीवन तामाङ, ज्योति खड्का, कृष्ण मुनिकार, नवाङ ग्युर्मे लामा, प्रकाश मिजार, प्रतिभा खड्का, लक्ष्मी मास्के (पुनम), पूर्ण वनेम, राजकृष्ण महर्जन, रञ्जु दर्नाल, रेविका शाक्य, सविन आचार्य, सञ्जीव मगर, सरुनादेवी महर्जन, श्रेया हाडा श्रेष्ठ, सुष्मा श्रेष्ठ, सिजन पोखरेल, सोनाम राई, सुमिना श्रेष्ठ, सुरेम देशार, उजेम मानन्धरका कलाकृति राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *