काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो हुनुभएको हो ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११-९, ७-११, १५-१३, १३-११ र १४-१२ को सेटमा पराजित गर्नुभयो । एभिएम टेबल टेनिस क्लबका रुविन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तेस्रो हुनुभयो ।
महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १-११, ११-३, ११-८, ११-४, ७-११ र ११-४ को सेटमा हराउनुभयो । प्रहरीका मञ्जु सुवाल र यशस्वी अवाल तेस्रो हुनुभयो । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार जिते ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो । प्रहरीले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३-१ ले पाखा लगायो । प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेस्रो भए ।
मिडियाको पुरुष सिंगल्स फाइनलमा मनोहरी थापाले मदन आचार्यलाई ११-३, ११-८ र ११-८ को सोझो सेटमा पन्छ्याउदै पहिलो स्थान हात पार्नुभयो । सुमन प्रधान तेस्रो बन्नुभयो । प्रतियोगिताको कलेजतर्फ दुई स्वर्ण र एक कांस्यसाथ प्राइम टिम च्याम्पियन बन्यो । स्कुलतर्फ सिर्जना ज्ञान सागर एक स्वर्ण, दुई रजत र चार कांस्य जित्दै समूह विजेता भयो । ‘टेबल टेनिस फर अल’ नाराका साथ भएको पाँचदिने प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा तीन सय खेलाडीले सहभागिता जनाएको आयोजक काठमाडौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts