एक जना शिक्षकको भरमा विद्यालय

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । वरपर सुनसान जंगल । जंगलको छेउमै छ, टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने टोकरी गाउँ अहिले उराठिलो बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाई हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भरमा चलेको छ । विद्यालयका प्रधानाध्यापकको सेवानिवृत भएपछि एक महिनादेखि गलकोट नगरपालिका-७ टोकरीगाउँ स्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आउनु भएको छ ।

एक महिना अगाडि प्रधानाध्यापक केयरसिंह थापा रिटायर हुनु भयो । उहाँ सेवानिवृत्त भए लगत्तै शिक्षिका रुपा गिरीले विवाह गर्नु भयो । त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो । कक्षा पाँचसम्म पढाई हुने यस विद्यालयमा १९ जना विद्यार्थी छन् । कक्षा तीन र चार खाली छ । हाल कक्षा एक, दुई र पाँचमा पढाई हुँदै आएको छ । शिक्षक अभावका कारण अहिले सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउनुको विकल्प छैन ।

तीन वटा कक्षाका विद्यार्थीलाई पठनपाठन एक्लै गराउँदा समस्या भएको शिक्षिका थापा बताउनुहुन्छ । विद्यालयमा अझै दुई/तीन जना शिक्षको आवश्यकता छ । “एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परे भने विद्यालयनै बन्द हुन्छ, त्यसले गर्दा विद्यार्थी पढ्नबाट वञ्चित हुन्छन्, सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु” शिक्षिका थापाले भन्नुभयो- “प्रअ सरले अवधी पुगेर राजीनामा दिनुभयो, रुपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ती दुई दिन आउनु भएको थियो, त्यसपछि आउनु भएको छैन ।”

शिक्षिका गिरी विद्यालय नआएको एक महिनाभन्दा बढी भएको स्थानीयको भनाई छ । गिरी माघ २१ गतेदेखि बिदामा हुनुहुन्छ । उहाँ केही दिन अगाडि दुई दिन विद्यालय आए पनि अहिले आउनु भएको छैन । शिक्षिका थापाले अहिले विद्यार्थीहरुलाई बहुकक्षा शिक्षा प्रणाली अनुसार अध्ययापन गराइ रहेको बताउनुहुन्छ । उहाँका अनुसार कक्षा एकमा १० जना, कक्षा दुईमा पाँच जना र कक्षा पाँचमा चार जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

कुनै बेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय अहिले सुनसान बन्दै गएको छ । विद्यालय सुनसान मात्रै बनेको छैन । गाउँनै सुनसान बनेको छ । बढ्दो बसाइँसराइका कारण यो समस्या आएको हो । विद्यालयमा दुई जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । हाल एक्लै अध्यापन गराउँदै आउनु भएकी ज्योति थापालाई केही महिना अगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तबल दिने गरि राखेको हो ।

ADVERTISEMENT

गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्र नारायण सापकोटाले यस विद्यालयमा दुई जना स्थायी शिक्षक आउने भएको जानकारी दिनुभयो । तर कहिले आउने भन्ने एकिन नभएको उहाँको भनाई छ । सापकोटाले स्थायी शिक्षिक नआउँदासम्म अर्को विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुहुन्छ- “अहिले एक जना मिसले पढाई राख्नु भएको छ, अर्को मिसको विवाह भएछ, उहाँ बिदामा हुनुहुन्छ, केही दिनमा आउनुहुन्छ होला, हेडसरले राजीनामा गर्नु भएको रैछ, अब केही समयमै त्यहाँ दुई जना स्थायी शिक्षकहरु आउनुहुन्छ ।”

गलकोट नगरपालिकाले शिक्षामा ठूलो लगानी गरे पनि यहाँसम्म त्यसको पहुँच पुग्न सकेको छैन । नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताउनुभयो । नगर प्रमुख गैरेले पछिल्लो समय गलकोटका धेरै ठाउँमा बसाइँसराइका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो- “सबै ठाउँमा सहज शिक्षा र स्वास्थ्यको पहुँच पुर्‍याउने कोसिस गरि रहेका छौँ, गाउँगाउँमा विकास पुगे पनि बसाइँसराइ रोकिएको छैन, यो ठाउँबाट पनि धेरै बसाइँसराइ भइरहेको छ, यहाँ शिक्षकको समस्याका बारेमा पहिल्यै जानकारी गराएको भए, अहिलेसम्म केही विकल्प खोजि सक्थ्यौँ, यसको व्यवस्थापनमा हामी गम्भीर भएर लाग्छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?