म निरन्तर गीत-संगीतमै बगिरहन चाहन्छु : चौलागाईं

Read Time = 7 mins

चितवन स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर नेपाली गीत-संगीतका फाँटमा आफूलाई हिँडाइरहनुभएको नाम हो गायक तथा संगीतकार युवराज चौलागाईं । उहाँ ०५८/०५९ सालदेखि निरन्तर यो क्षेत्रमा रहेर आफ्ना क्रियसन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । १५० भन्दा बढी रेकर्ड गर्नुभएका चौलागाईंका ‘तिमीलाई के भनूँ’, ‘हारेँ हारेँ’, ‘तिम्रो डोला डोला हातमा’, ‘छ एकान छ’, ‘साँझ पख’, ‘लैजा चरी’, ‘हरेक शब्द’, ‘छुटे पछि’, ‘यो मन’, ‘मिस गरेँ’, ‘लटर-पटर’, ‘मिसावट छ पिरतीमा’, ‘तिमी साथमा हुँदा नि’, ‘हाम्रो सम्बन्ध’लगायत थुप्रै गीत श्रोता/दर्शकको अत्यधिक रोजाइमा परेका छन् । आफू गीत-संगीतको साधक भएको र निरन्तर यसै क्षेत्रमा बगिरहन चाहन्छु भन्नुहुने गायक तथा संगीतकार युवराज चौलागाईंसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

कहिलेदेखि हुनुहुन्छ गायनमा ?
म ०५८/०५९ सालदेखि यो क्षेत्रमा निरन्तर छु ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
सानैदेखि मलाई गीत-संगीतमा धेरै रुचि थियो । स्कुलदेखि नै म्युजिकल प्रोग्रामहरूमा सहभागी हुने गर्थेँ र एसएलसीपछि म संगीत सिक्नका लागि चितवनबाट काठमाडौं आएँ र त्यसपछि मेरो संगीत यात्रा सुरु भयो ।

युवराज चौलागाईं को हो ?
म आफूले आफूलाई चिनाउनुपर्दा युवराज चौलागाईं एउटा गीत-संगीतको साधक हो जो निरन्तर यसै क्षेत्रमा बगिरहन चाहन्छ ।

गीत-संगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
गीत–संगीत र जीवन भनेको एउटा नाडीजस्तै हो, जसले कता बगाउने भन्ने कुरा हाम्रो आफ्नै हातमा हुन्छ, यसलाई हामीले जता बगाउन चाहन्छौँ त्यतै बग्छ ।

हामीले जुन गीत सिर्जना गर्दा पनि उत्तिकै मिहिनेत गरेका हुन्छौँ, एउटा राम्रो प्रोडक्ट ल्याउनका लागि सधैँ खटिरहेका हुन्छौँ । यसमध्ये हिट हुनु र कम्ती चल्नुमा कसैको हात हुँदैन, सबै गीतका आ-आफ्नै श्रोता हुन्छन्, कुन गीत कतिबेला हिट हुन्छ त्यो थाहा नै हुँदैन ।

ADVERTISEMENT

यहाँको स्वरमा थुप्रै गीत-संगीत सजिएका छ्न, यहाँलाई युवराज चौलागाईं भनेर कुन गीतले चिनायो भन्ने लाग्छ ?
मलाई युवराज चौलागाईं भनेर चिनाएको मेरो पहिलो एल्बम ‘यु फिल्स’ बाट ‘साँझ पख’ र ‘प्ले ब्याक’ बाट अत्यधिक हिट भएको चलचित्र ‘नोभेम्बर रेन’ बाट ‘तिमीलाई के भनूँ’ र ‘क्लासिक’ चलचित्र बाट ‘हारेँ हारेँ’ अनि ‘हवल्दार सुन्तली’ बाट ‘तिम्रो डोला डोला हातमा’ हुन् जस्तो लाग्छ ।

अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता दर्शकमाझ आएका होलान् ? केहीको नाम लिनुपर्दा ?
अहिलेसम्म मेरो स्वरमा १५० जति गीत रेकर्ड भयो होला । केही गीतको नाम लिनुपर्दा ‘तिमीलाई के भनूँ’, ‘हारेँ हारँे’, ‘तिम्रो डोला डोला हातमा’, ‘छ एकान छ’, ‘साँझ पख’, ‘लैजा चरी’, ‘हरेक शब्द’, ‘छुटे पछि’, ‘यो मन’, ‘मिस गरेँ’, ‘लटरपटर’, ‘मिसावट छ पिरतीमा’, ‘तिमी साथमा हुँदा नि’, ‘हाम्रो सम्बन्ध’लगायत थुप्रै रहेका छन् ।

केही गीत सर्जकले अति राम्रो भएको भनिरहँदा पनि श्रोता/दर्शकले खासै मन नपराएको र केही गीत सामान्य भए पनि अत्यधिक श्रोता/दर्शककोे रोजाइमा पर्ने गरेको पाइन्छ नि, यसको कारण के होला जस्तो लाग्छ ?
हामीले जुन गीत सिर्जना गर्दा पनि उत्तिकै मिहिनेत गरेका हुन्छौँ, एउटा राम्रो प्रोडक्ट ल्याउनका लागि सधैँ खटिरहेका हुन्छौँ । यसमध्ये हिट हुनु र कम्ती चल्नुमा कसैको हात हुँदैन, सबै गीतका आ-आफ्नै श्रोता हुन्छन्, कुन गीत कतिबेला हिट हुन्छ त्यो थाहा नै हुँदैन ।

पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि, के यस्तै हो र ?
पछिल्लो समयमा नेपालीपनको गीत आउन अलि कम भएको महसुस मैले पनि गरेको छु, यसको कारण भन्नुपर्दा जो सर्जकहरू नेपाली मौलिकता बुझेर, संगीत बुझेर यो क्षेत्रमा आउनुभएको छ उहाँहरूलाई अहिले त्यति स्थान पाएको देख्दिनँ, सधैँ लगानी गर्न पनि नसकिने हुनाले पछि परेको हो कि जस्तो लाग्छ र अहिले संगीतमा अलिक विकृति महसुस गरेको छु । गाउनेले पनि मैले कस्तो गीत गाउनु हुन्छ र सुन्नेले पनि कस्तो गीतलाई सपोर्ट गर्नुपर्छ र सुन्नुपर्ने कुरा थाहा भयो भने मौलिकतातिर अघि बढ्छ जस्तो लाग्छ ।

बजारमा अवार्ड पाइरहेका गीत-संगीतका बारेमा यहाँको धारणा के छ ?
बजारमा अवार्ड पाएका हरेक गीत-संगीतका बारेमा भन्नुपर्दा सबैलाई नभनौँ केही अवार्ड फङ्सनहरूमा चाहिँ अवार्डको गरिमा र महत्व बुझेर कसलाई प्रदान गर्दा न्याय मिल्छ भन्ने कुरा ध्यान दिनुपर्छ कि जस्तो लाग्छ ।

यो क्षेत्रमा आउने नयाँ पुस्ताका लागि के भन्न चाहनुहुन्छ ?
यो क्षेत्रमा आउने नयाँ पुस्ताका लागि भन्नुपर्दा संगीत क्षेत्रमा आउनुभन्दा अगाडि संगीत सिकेर यसमा निरन्तर लागिरहन सुझाव दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *