विराटनगर । नेपाल पुलिस क्लबका विष्णु कटुवाल र प्रिन्स दाहाल विराटनगरमा जारी ‘लिनिंग १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता- २०२३’ मा पुरुष एकलको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
विष्णुले एपिएफका देवराज रानालाई २४-२२, २१-१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१-११, २१-८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनुभएको हो । यस्तै, सेमिफाइनल प्रवेश गर्ने अरू खेलाडीहरूमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन रहनुभएको छ । प्रफुलले कास्कीका विधान अधिकारीलाई २१–१४, २१–१२ र रुकेशले एपिएफका क्षितिज खनाललाई २२-२०, २१-१३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुभएको हो । फाइनल प्रवेशका लागि अब विष्णुले प्रफुल र प्रिन्सले रुकेशको सामना गर्नुहुनेछ ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगितामा शीर्ष १२ वरीयताबाहेकको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१-१६, २१-१३ ले पराजित गर्दै सेमिफाइनलमा एपिएफकी जेशिका गुरुङसँगको भेट पक्का गर्नुभएको छ ।
यस्तै, अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी निता लम्साललाई २१-१६, २१-१५ ले पराजित गरी सेमिफाइनलमा आर्मीकै प्रार्थना देउवासँग प्रतिस्पर्धा गर्नुहुने भएको छ । प्रार्थनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गर्नुभयो ।
पुरुष एकल शीर्ष वरीयता १६ देखि बाहेकतर्फ आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१-१८, २२-२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१-१८, २१-८ ले पराजित गर्दै सेमिफाइनल भेट पक्का गर्नुभयो । अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका विवेक चौधरीलाई २१-८, २१-१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१-१४, २०-२२, २१-५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभयो ।
पुरुष यू-१७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाइनल प्रवेश गर्नुभएको छ । साउदले आर्मीका अभय महरालाई २१-१४, २१-९, रानाले आर्मीका कविर केसीलाई १६-२१, २१-१८, २१-१३, रैनीले मोरङका सुप्रिम पन्तलाई २१-१७, २१-११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६-२४, २१-१८ ले पराजित गर्नुभयो ।
यस्तै, महिलातर्फ आर्मीकी रिहाना शेरचनले मोरङकी भावना गुरुङबाट वाकओभर प्राप्त गर्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१-१८, २३-२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१-१७, २१-१० र ताप्लेजुङकी नुमा लिम्बूले एपिएफकी रञ्जु रानालाई ११-२१, २२-२०, २१-१९ को संघर्षपूर्ण जित निकाल्दै सेमिमा स्थान बनाउनुभयो ।






