कञ्चनपुर । कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताउनुभयो । ‘हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेन,’ उहाँले भन्नुभयो, ‘यस वर्षदेखि पुनः प्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।’
उहाँका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद दुई लाख ११ हजार १११ सहित ट्रफी, उपविजेताले नगद एक लाख ११ हजार १११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितमा उत्कृष्ट खेलाडीलाई नगद दश हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई जनही पाँच/पाँच हजार प्रदान गरिनेछ ।
क्लबले प्रतियोगिताकोे पूर्वसन्ध्यामा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । त्यसैगरी लालझाडी गाउँपालिका-१ स्थित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट करिब आठ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ ।






