निसीखोलामा स्याउ खेती बिस्तार गर्दै गाउँपालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिन्छ । निसीखोला गाउँपालिका-५ मा पर्ने निसेलढोरमा वर्षौँ अगाडिदेखि नै व्यवसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउ खेती बिस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नम्बर ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ ।

निसेलढोरभन्दा वडा नम्बर ६ केही औलमा पर्छ । सिप, भल्कोटलगायका क्षेत्रमा स्थानीयले वर्षौँ अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरि नयाँ जातको स्याउका विरुवा दिएपछि खुसी हुन थालेका छन् ।

वर्षौँ अगाडि गाउँमा स्याउ लगाए पनि उत्पादन राम्रो नदिएको स्थानीय ओमबहादुर घर्ती मगर बताउनुहुन्छ । उहाँले वडा नम्बर ६ को सिपमा स्थानीयले प्राविधि ज्ञान बिनै स्याउ लगाएको हुँदा फलाउन नसकेको भन्दै यसपाली स्थानीय सरकारकै सहयोग हुँदा उत्पादन राम्रो हुनेमा आशा वादी रहेको बताउनुभयो ।

घर्ती मगर भन्नुहुन्छ-“यो ठाउँ भौगोलिक हिसाबले पनि उच्च ठाउँमै छ, पहिला लगाउने बेला कुनै माटो परीक्षण भएन, विरुवा लिएर लगाइयो, अलिअलि दाना हाले पनि धेरै फलाउन सकिएन, प्राविधिक ज्ञान केही पनि थिएन, परम्परागत रुपमै लगाइएको थियो, अहिले अलि फरक तरिकाले लगाइएको छ, उत्पादन राम्रो होला ।”

उहाँले पहिले स्याउ लगाएको केही वर्षसम्म राम्रो भए पनि पछि रोग लाग्ने, सुक्ने र फल नै नदिने समस्या आएको सुनाउनु भयो । गाउँपालिकाको सहयोगमा स्याउ खेती बिस्तार हुँदा यहाँका कृषकहरु उत्साहित भएको घर्ती मगर बताउनुहुन्छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले भौगोलिक बनावट, हावापानी र स्थानीयको माग अनुसार यहाँ स्याउ खेती बिस्तार गर्न थालेको बताउनुभयो । उहाँले स्याउका विरुवा लगाउन थालेपछि कृषक निकै उत्साहित भएको बताउनुभयो । यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका विरुवा लगाइने अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती बिस्तार गर्न थालेको उहाँको भनाई छ । यस वर्ष निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको उहाँले बताउनुभयो ।

“गाउँपालिकाले जुन क्षेत्रमा स्याउ लगाउन थालेको छ, ति सबै क्षेत्र संभावना भएका ठाउँ हुन्, यि ठाउँहरु मध्ये केही ठाउँमा पहिले पनि स्याउ लगाइएको थियो तर राम्रो भएन” अध्यक्ष घर्ती मगरले भन्नुभयो-“यस वर्ष राम्रो हुने आश गरेका छौँ, किनकी प्राविधिक रुपमै अनुसन्धान गरेर स्याउका विरुवा रोप्न थालेका छौँ ।”

ADVERTISEMENT

स्याउ खेती बिस्तारपछि यस क्षेत्रका खाली जग्गा पनि प्रयोगमा आउने अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । उहाँले युवालाई स्वरोजगार बनाउन र बाँझो जमिनको उपयोग गरि उत्पादनसँग जोड्नका लागि स्याउ खेतीमा जोड दिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ-“अहिले दैनिक जसो युवाहरु विदेश गइरहेका छन्, यहाँ यति ठूलो संभावना छ, तर चिन्न नसक्दा विदेशिन परेको छ, गाउँका धेरै जग्गाहरु बाँझिदै गए, अब यि सबैलाई उत्पादनसँग जोड्ने युवालाई गाउँमै स्वरोजगरा बनाउने हाम्रो अभियान छ, स्याउ खेतीले पनि यो अभियानलाई सार्थकता बनाउने छ ।”

निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा बहादुर परियारले दर्ता भएका कृषि फर्म तथा समूहलाई विरुवा प्रदान गरेको बताउनुभयो । उहाँले वडा नम्बर ५ र ६ का ४५ समूहलाई चार सय पचास स्याउका विरुवा दिएको बताउनुहुन्छ । माटो परीक्षण गरेर यहाँको हावापानी र वातावरण अनुकुल हुने फुजी जातको स्याउ यहाँ लगाउन थालिएको परियारको भनाई छ ।

पाल्पामा उत्पादन गरिँदै आएको स्याउको विरुवा खरिद गरि यहाँका कृषकलाई वितरण गरेको उहाँ बताउनुहुन्छ । निसीखोलामा दुई हजारदेखि चार हजार उचाइसम्म स्याउका विरुवा लगाइने उहाँको भनाई छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँलगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् ।

कृषि शाखा प्रमुख परियार भन्नुहुन्छ- “यहाँको भूगोल, स्याउका लागि चाहिने वातावरण, हावापानीका बारेमा अध्ययन गरेर फुजी जातको स्याउ लगाउन थालेका हौँ, उचाई मिलाएर स्याउ लगाउन थालिएको हुँदा उत्पादन राम्रो दिन्छ भन्ने लागेको छ ।”

परियारले सुरुमा स्याउ खेतीका बारेमा कृषकलाई तालिम दिएको र उनीहरुको माग अनुसार विभिन्न क्षेत्रमा स्याउ लगाउने योजना बनाएको बताउनुभयो । यस वर्ष गाउँपालिकाले स्याउ खेती गर्न चाहने कृषि समूहलाई निःशुल्क विरुवा र आवश्यक सामग्री पनि उपलब्ध गराएको उहाँ बताउनुहुन्छ ।

“कृषकहरुले स्याउ लगाई सकेपछि समय-समयमा त्यसको निरीक्षण, परीक्षण र कृषकलाई आवश्यक तालिम तथा परामर्श पनि पालिकाले दिने छ, त्योसँगै अन्य प्राविधिक सहयोग पनि पालिकाले निरन्तर दिँदै जाने छ” परियारले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *