भविष्य खोज्दै महिला खेलाडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका-५ ढुंगानाबेँसीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँको भलिबल खेलमा औधी रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा सारु निराश हुनुहुन्छ । स्थानीय तथा विद्यालयस्तरमा हुने विभिन्न खेल प्रतियोगितामा सरिक हुने उहाँ सामान्यतया पूर्वाधार अभावले खेलाडीलाई खेल्ने वातावरण नभएकोमा चिन्तित हुनुहुन्छ । सारु दुई वर्षदेखि भलिबल खेल्दै आउनुभएको छ ।

सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुहुन्छ । एकै प्रकृतिको खेल भए पनि पुरस्कार दिँदा महिला खेलाडीलाई भेदभाव गर्ने गरेको गुनासो पोख्नुहुन्छ ।

‘प्रतिभा लुकाएरै बस्नुपर्ने हुन्छ, महिला सहभागिता बढाउन आवश्यक छ । एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद गर्नुभएन, यस्ता कुराले पनि खेलाडीलाई असर गर्छ,’ सारुले भन्नुभयो ।

दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै निरन्तर प्रतिस्पर्धा गर्दै आउनुभएको छ । महिलाका लागि स्थानीय तथा विद्यालयस्तरमा भलिबल खेलमात्रै धेरै आयोजना गरिने हुँदा यसबाट भविष्य बनाउने अठोट लिएको उहाँको भनाइ छ । स्थानीयस्तरमा खेल पूर्वाधार नहुँदा घर्ती चिन्ता प्रकट गर्नुहुन्छ ।

ADVERTISEMENT

‘स्थानीय तहमा मात्र नभई बाहिरी जिल्लामा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यहाँ प्रशिक्षणको व्यवस्था छैन, आफ्नै मिहिनेतले जे जसरी सिक्यो त्यसरी नै खेल्ने हो, हरेक स्थानीय तहमा खेल प्रशिक्षक आवश्यक छ,’ उहाँले भन्नुभयो ।

दरैठाँटी माविकै कक्षा ११ की छात्रा अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राख्नुहुन्छ । भलिबल खेल्न पाउँदा उहाँ ज्यादै हर्षित हुनुहुन्छ । फुर्सदमा भलिबल खेलिहाल्ने थापाको बानी छ । अठार वर्षीया थापा परिवारको साथ सहयोगका कारण खेल्न पाएको बताउनुहुन्छ । उहाँ तीन वर्षदेखि भलिबल प्रतियोगितामा सहभागी बन्दै आउनुभएको छ ।

‘स्थानीयस्तरमा आशलाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत समस्याले खेलमा महिलाको उपस्थिति कम छ,’ थापाले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *