कविता : जूनको ……..

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

✍️ अच्युत दाहाल

मादल र तबेलाको शब्दले
रुग्ण भएका मेरा कान
बाँसुरीको मधुर स्वर सुन्न तड्पिएका छन्
इलेक्ट्रोनिक लाइटको मधुरो उज्यालोमा
भिजेका रातहरू
खोज्दैछन् डुब्न
चन्द्रमाको शीतलतामा
घरि घरि चन्द्रमा मेरो बार्दलीबाट चियाउँछ
छड्के नजरले हेर्छ
अनि झट्टै लुकिदिन्छ
मलाई केही नसोधी
फेरि अर्को बार्दलीमा चियाउन पुग्छ
किन यसो गर्छ ऊ ?

सायद आफन्तको महक नपाएर हो
अथवा अरूले झैँ उसले पनि
लिगेसी खोजेको हो !
चन्द्रमा, ऐ चन्द्रमा !
म तेरै मनमाया हुँ
जसलाई विसं २०४४ मा
सुनकोशीको बाढीले बगाएको थियो
त्यसैले मैले जंगल पस्नुपर्‍यो
मान्छेले भरिएको जंगल
धुवाँ र धुलोले पोतिएको जंगल
धेरैको भीडमा पनि
एक्लो अनुभव हुने जंगल
यति भन्दा पनि विश्वास भएन भने
भन्नुपर्छ क्यार !

ADVERTISEMENT

लखतरान भएका बाल्यकालका मेरा रातहरू
तेरै स्पर्शमा थकाइ मेट्ने गर्थे
तेरै साथ र सहयोगमा
धिपधिप बलेको बत्तीको भरमा
मैले जीवनको आदिपाठ पढेको थिएँ
रटेको थिएँ कविता तँलाई सम्बोधन गर्दै
‘कुन मन्दिरमा जान्छौँ यात्री कुन
मन्दिरमा जाने हो, कुन सामग्री ......’
अनि यौवनका कैयौं अथकित
रातले गजल लेख्थे
तेरै सान्निध्यमा
तँ घुम्तीमा आँखा जुधाउन आएको बेला
चन्द्रमा चुम्ने रहर हुन्थ्यो मलाई
कहाँ कहाँ कता कता
सपनाको देशमा
उड्न मन लाग्थ्यो मलाई
आज तँ नचिनेको जस्तो गर्छस्
तर्किएर हेर्छस्
म त त्यही महाभारतकै मनमाया हुँ
बारी बारीमा रमाउने
तँमाथि मायाको हक जमाउने
तेरै आफ्न्त हुँ
विश्वास भएन तँलाई ?

आई देऊ न चन्द्रमा !
मेरो आगनमा
तेरो साथ र सानिध्यमा मात्रै
मेरा कविता सृष्टि हुन्छन्
आउनु ल चन्द्रमा,
म बाटो कुरेर बसिरहन्छु
यसैगरी सदा झैँ
बेलुकी हुन्छ
सधैँ लोकगायकले लोकगीत गाए झैँ
लोकगीत गाउँदै चराहरू गुँड पस्छन्
बकुल्ला कराउँछन्
सुकेका तालमा दिनभरि आहार खोजेर
रित्तो हात
खाली भुँडी र
लाचार आशा लिएर घर फर्किंदा
खेताला मेलाबाट घरतर्फ लाग्छन्
साँझलाई हातको हँसिया र पैतालाका
चालमा बाँध्ने
ब्यर्थ प्रयास गर्दै
धुलो उडाउँदै गाईवस्तुका बगाल आउँछन्
सुख्खा मैदानमा दिनभरि चरेर
पछिपछि उनीहरूको सारथी
आफ्नो पुरानो छाता काखीमा च्याप्दै
विरहको धुनमा खुसीको गीत गाउँदै
आइरहेको हुन्छ
विरह नगाई कहिले खुसी नहुने
गोठालो
पर देखिएको चौतारीको पिपलको बोटसँग
लुकमारी खेल्दै गरेका घामलाई
पहाडले आफ्नो सिँदुरे घुम्टोले बेर्छ
ग्रास गर्छ घामका अपूर्ण आशाहरूलाई
बिस्तारै त्यो पल्लो डाँढाको दुई चुचुरोभित्र
अदृश्य हुन्छ आकाशको निधारको
त्यो रातो सूर्य
यसैगरी सयौं दिन बित्छन्
महिनाले वर्षको चोलो भिर्छ
मौसम बदलिन्छ
संवत फेरिन्छ
साइलोले लगेको साहुको ऋण पनि तिर्छ
पारिजातको वासना समयमै झर्छ
सिमल फागुनमै फुल्ने गर्छ
महिषासुर पनि शरदमै मर्छ
सबै काम समयमै हुन्छन्
मात्र झुल्किँदैन त्यो चन्द्रमा
जसलाई भेट्न यो मन वर्षौंदेखि लालायित छ
सबैको काम, तर मेरो होइन
सबैले गर्ने, तर मैले होइन
सबैको हो, तर कसैको होइन
यसैगरी
दिनपछि रात अनि रातपछि दिन हुन्छ
रामदाइ पारिवारिक
एकता, अनुशासन, आदर सत्कार, मायाप्रेम
अनि आफ्नो, पराइ, कर्म सत्कर्म आदि आदिका बारेमा
जाँगर भाषण छाँट्छन्
यसै गरी बेलुकी हुन्छ
केही हुल ताराहरूको मधुरो प्रकाशमा
बस्ती प्रकाशमय हुन्छ
टुकीको प्रकाशमै कुनै नानीले रटेको सुनिन्छ
‘तमसोमा ज्योतिर्गमय’
गाउँका सबै युवा विदेशिएका छन्
उन्नतिको शिखर चुम्न
तर केवल म त्यही चन्द्रमाको पर्खाइमा छु
जुन चन्द्रमा अझै देखिएको छैन ।
चन्द्रनिगाहपुर, रौतहट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *