डडेल्धुरा । महाशिवरात्रीको अवसर पारेर फागुन ६ गते डडेल्धुरामा अमरगढी हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । महाशिवरात्री तथा २६० औँ नेपाली सेना दिवस २०७९ का अवसरमा ढुंगे किल्लाको संरक्षण, प्रवद्र्धन गर्न तथा पर्यटकीय आकर्षण बढाउन रणबम गण दह ब्यारेकद्वारा दौड प्रतियोगिताको आयोजना हुन लागेको नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो ।
नागरिकसँग सेनाको सम्बन्ध सुदृढ गर्न र खेलकुद गतिविधिमा सबैको सहभागिता बढाउन आयोजना गरिएको दोस्रो अमरगढी हाफ म्याराथन प्रतियोगितामा २१ किलोमिटर म्याराथनसँगै आठ किलोमिटर वाकाथन पनि गरिने जनाइएको छ । फागुन ६ गते शिवरात्री पर्वका दिन सम्पन्न हुने म्याराथनमा उत्कृष्ट हुने १० जनालाई नगद पुरस्कार दिइने आयोजले बताएको छ ।






