देवशिला गोरखपुरमा, आज अयोध्या पुर्याइने

रासस
रासस
Read Time = 3 mins

गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मंगलबार राति गोरखपुर ल्याइपुर्याइएको छ ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्याइएको हो ।

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पुर्याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् ।

ADVERTISEMENT

‘जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शिलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमंग देखियो’, दासले भन्नुभयो, ‘नेपाल र भारतवासीको भगवान् राम तथा शिलाप्रतिको आस्था एवं श्रद्धा देखेर नतमस्तक छु ।’

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताउनुभयो । ‘त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभास भएको छ’, उहाँले भन्नुभयो, ‘राममन्दिर राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व झन बढेको छ । बाटोमा स्वःस्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले त्यसको महत्वलाई थप उचाइमा पुर्याएको छ ।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?