काठमाडौं । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँ दिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
‘दिवंगत महानुभावप्रति सम्मानस्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ’, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ । ‘स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
अष्ट्रेलियासँग चौथो टेष्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्याण्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । उहाँको आज (शनिबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ । पूर्व-प्रधानमन्त्री एक सरल ‘टेक्नोक्र्याट’ हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरु-गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जितमा योगदान ग¥यो । सन् १९३२ मा अहिलेको पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन ।
उहाँले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाउनुभएको थियो । सिंहले वरिष्ठ निजामती सेवाका विभिन्न पदमा काम गर्नुभयो, केन्द्रीय बैंकको गभर्नरको रूपमा सेवा गर्नुभयो र संयुक्त राष्ट्रसंघ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाल्नुभयो ।
सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पिभी नरसिंह रावले उहाँलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय संकटबाट देशलाई उकास्न जिम्मेवारी दिनुभएको थियो । आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गर्नुभयो । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो ।
उहाँले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । उहाँले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्धत गर्ने बताउनुभएको थियो ।
आर्थिक उदारीकरणका ‘आर्किटेक्ट’
दुई कार्यकाल प्रधानमन्त्री रहनुभएका सिंहलाई पदमा रहुञ्जेल जहिले पनि सोनिया गान्धीको ‘छाया’का रूपमा चित्रित गरियो । तर, पदबाट हटेपछि भने उहाँलाई ‘अण्डररेटेड’ प्रधानमन्त्री भन्नेहरूको संख्या हृवात्तै बढ्यो । सिंह सन् १९९१ मा अर्थमन्त्री बन्नुभएको थियो । उहाँ भारतको आर्थिक सुधारका रचियता मानिनुहुन्छ । आफ्नो कार्यकालमा उहाँले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गर्नुभएको थियो । टाट पल्टाइको संघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उहाँलाई नै दिइन्छ ।
नेपालमा सिंहको सम्झना
राष्ट्रपति रामचन्द्र पौडेलले सिंहको निधनमा शोक व्यक्त गर्दै भारत सरकार, भारतीय जनता र शोक सन्तप्त परिवारजनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले सिंहलाई दूरदर्शी नेता भन्नुभएको छ । ‘भारतका पूर्व–प्रधानमन्त्री डा.मनमोहन सिंहको निधनले हामी गहिरो दुःखी छौँ । डा. सिंह भारतका दूरदर्शी नेता हुनुहुन्थ्यो’, राष्ट्रपति पौडेलले भन्नुभएको छ, ‘म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा शोक व्यक्त गर्नुभएको छ । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको भन्दै उहाँले शुक्रबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मित्रराष्ट्र भारतका पूर्व-प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ । ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ । उहाँले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गर्नुभएको छ । ‘भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनुहुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा. सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ । स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु’, उहाँले भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहको निधनले नेपालले एक असल मित्र गुमाएको भन्दै शोक प्रकट गर्नुभएको छ । ‘भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनले म गहिरो दुःखी छु । उहाँको निधनले हामीले नेपालका एक असल मित्र गुमाएका छौँ’, देउवाले भन्नुभएको छ, ‘म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु । उहाँको दिवंगत आत्माले शान्ति पाओस् !’
यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार शोक वक्तव्य निकाल्दै प्रचण्डले आफू पहिलोपटक सन् २००८ मा प्रधानमन्त्री हुँदा सिंहले न्यानो आतिथ्यता दिएकोसमेत स्मरण गर्नुभएको छ ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका सिंहको निधनमा दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार समाजिक सञ्जालमार्फत सिंहको निधनप्रति भट्टराईले दुःख व्यक्त गर्नुभएको हो । सिंहको निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको उहाँले उल्लेख गर्नुभएको छ । सन् २०११ मा प्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमणको क्रममा सिंहसँग गम्भीर वार्तापछि बिप्पा सम्झौता, इपिजी सहमति र दोहोरो करसम्बन्धी डिटा सम्झौता भएको स्मरण गर्दै भट्टराईले नेपाल-भारत सम्बन्ध महत्वपूर्ण कोशेढुंगा रहने उल्लेख गर्नुभएको छ । सिंहसँगको भेटवार्ताबाट निजी सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा कस्तो असर पार्दो रहेछ भन्ने नजिकबाट अनुभूति भएको उहाँले स्मरण गर्नुभएको छ ।
डा. सिंह भारतको प्रधानमन्त्री हुँदा नेपालमा भने सूर्यबहादुर थापा, ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको नेतृत्व गर्नुभएको थियो । त्यस अवधिमा कोइराला, प्रचण्ड, नेपाल र डा. भट्टराई गरी चार प्रधानमन्त्रीलाई सिंहले भारतमा स्वागतसमेत गर्नुभएको थियो । तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गरेको स्वागत भने नेपाल-भारत सम्बन्धको इतिहासमा स्मरणीय बनेको छ । डा. सिंहले प्रधानमन्त्री कोइरालालाई विमानस्थलमा आफैँ स्वागत गर्न पुगेपछि भारतीय कूटनीतिक क्षेत्र नै तरंगित भएको थियो । त्यसक्रममा डा. सिंहले नेपालको शान्ति प्रक्रियामार्फत सशस्त्र माओवादी द्वन्द्व व्यवस्थापनका कारण उहाँ विशेष उचाइको राजनीतिज्ञका रूपमा आफूले सम्मान दिएको बताउनुभएको थियो । उहाँले गिरिजाप्रसाद कोइरालालाई ‘टावरिङ लिडर अफ एसिया’ भन्नुभएको थियो । सिंहले ‘आज म नेपालको प्रधानमन्त्रीलाई मात्र स्वागत गर्न आएको होइन, लोकतान्त्रिक आन्दोलनका एउटा नेताको स्वागत गर्न आएको’ भन्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts