काठमाडौं । चौथो संस्करणको सगरमाथा म्युजिक अवार्ड सम्पन्न भएको छ । संघीय राजधानी काठमाडौंमा एक विशेष समारोहबीच सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा सम्पन्न भएको हो ।
सो समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई १७ हजार ६९६ नगदसहित सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योति विकास बैंकका एजिएम रामहरि आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो । ज्योति विकास बैंकको प्रस्तुति रहेको कार्यक्रमलाई सहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानका लागि नगरपालिकाले सहकार्य गरेको बताउनुभयो । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई आठ हजार ८४८ नगद रुपैयाँसहित सगरमाथा कला पत्रकारिता रजतबाट सम्मानित गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो ।
त्यस्तै, सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । यस्तै, लोकगायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारीलगायतकालाई सम्मान गरिएको थियो ।
मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा विभिन्न ५० विधामा गीतसंगीतका सर्जकलाई अवार्ड प्रदान गरिएको थियो ।






