भूपीका ११ कविता विभिन्न कविको स्वरमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले म्युजिक नेपालसँगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी सार्वजनिक गरेको छ । सो सीडीको थाहा पुस्तकालयमा भूपी शेरचनको ८८औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कवि गीतकार एवं पूर्वमन्त्री शंकर कोइराला, कवि भूपी शेरचनकी धर्मपत्नी कान्ति शेरचन, साहित्यकारहरू अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकाली र म्युजिक नेपालका प्रमुख सन्तोष शर्माले लोकार्पण गर्नुभएको थियो ।

यस एल्बममा कविहरू तुलसी दिवसले ‘हामी’, कृष्णभूषण बलले ‘यो मेरो’ नरेन्द्रबहादुर श्रेष्ठले ‘म’, विश्वविमोहन श्रेष्ठले ‘मैनबत्तीको शीखा’, अशेष मल्लले ‘हल्लै हल्लाको देश’, राधेश्याम लेकालीले ‘सर्पको खोजीमा’, नवराज कार्कीले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, कोमल वलीले ‘प्रजातन्त्र दिवस’, सीता पाण्डेले ‘हल्लै हल्लाको देश’, मोमिला जोशीले ‘सीता’, बाबा बस्नेतले ‘मर्दैछ’ र सन्ध्या पहाडीले ‘पहिरो जाने पहाड मुन्तिर’ कविता वाचन गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले भूपीकै कविता पढेर आफू र आफ्नो पुस्ताले कविता र गीत लेख्न थालेको स्मरण गर्नुभयो । उहाँले भूपीका सरल कवितामा गहन भाव पाइने हुनाले ती सधैं लोकप्रिय रहेको बताउनुभयो ।
नाटककार एवं कवि अशेष मल्लले काठमाडौंमा छात्रको रूपमा रहेका युवा पुस्ताका लेखकहरूले कविद्वय भूपी शेरचन र वासुशशीबाट प्राप्त स्नेह, सहयोग र प्रेरणाको चर्चा गर्नुभयो ।
अर्का कवि एवं साहित्यिक पत्रकार संघका पूर्वसभापति विश्वविमोहन श्रेष्ठले भूपी शेरचनसंग संघको प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै उहाँकै स्वरमा वाचन गरिएका कविता खोजेर सीडीको रूपमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो । कवि एवं समालोचक प्रमोद प्रधानले भूपीलाई छाडेर नेपाली कविताको इतिहास लेख्नै नसकिने तथ्यमाथि प्रकाश पार्दै पछिल्लो पुस्ताका कविहरूमा सबैभन्दा बढी प्रभाव भूपीकै रहेको बताउनु भयो ।

ADVERTISEMENT

साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले भूपीको प्रतिमा स्थापनासहित भूपी सम्बद्ध अन्य काम गर्ने संघको योजनाबारे जानकारी दिनुभयो ।

म्यूजिक नेपालका सन्तोष शर्माले आगामी दिनमा पनि साहित्यको प्रवद्र्धनका लागि संघसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कवि एवं साहित्यिक पत्रकार संघका पूर्व सभापति नरेन्द्रबहादुर श्रेष्ठ र कवि भूपीकि धर्मपत्नी कान्ति शेरचनले आ–आफ्ना भनाई राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?