✍️ कलानिधि दाहाल
अँधेरी रातमा दीप बाल्नलाई निरन्तर
सङ्गल्प मनमा भर्दै चलाई नित्य जाँगर !
मुक्ति स्वतन्त्रता निम्ति सङ्कल्पित भई पर
चेतनाका मुठा बोकी पुग्दछौ सबका घर !!
सङ्कटका सबै गौँडा कसिन्छन् पेचिला बनी
हिम्मतका कडा वक्ष घुम्दछौ तिमी फन्फनी !
हिर्काएर उता फर्की ढिस्यौँ लात उचाल्दछौ
ज्यान जीवनको सान सजाएर कुचल्दछौ !!
सत्ता कडा अझै ज्यादा स्वार्थका चेपी सामल
निफनेर तिमी दिन्छौ सफा अक्षर चामल !
दुष्टका वक्ष ताकेर निशाना सान सानमा
दिँदै चेतनचस्काले छौ तिमी स्वाभिमानमा !!
तन चौकसका ताता कस्छन् यी भ्रष्टका छत
त्यतै ठोक्छौ दिई धक्का नभई कत्ति लत्पत !
अगम्य छहराबाट झरेको जलझैँ जल
पाना शब्द सजाएर टल्कन्छौ तिमी टल्पल !!
सिन्की खाडलका नेता डुङ्डुङ् गनाउँछन् यता
झिकी गन्ध सबै वास्ना छर्न हिँड्छौ जतातता !
ताता बन्दुकका गोली बोलीले नै चिस्याउँछौ
सफा कागजका पाना सञ्जीवनी रसाउँछौ !!
बारुदका सबै छर्रा पङ्ति पङ्ति फिजाउँछौ
जता ताक्छन् त्यतै टक्क उभिएर भिजाउँछौ !
बलियो मुटुको शक्ति हार्छन् ट्याङ्करका बल
निरङ्कश सधैँ गर्थे नहुँदा तिमी खल्बल !!
चकाचौध फिजाएर दीनका दर्दका कथा
राज्यभित्र हुने पीडा हटाउँछौ सबै व्यथा !
तिमी छौ र छ क्यै बाँकी नत्र बन्थे निशाचर
नेता यी दृश्यका जन्तु जन हुन्थे भयातुर !!
चेतना जनमा छम्की सत्ताको लिई हुर्मत
न्यायका बलमा तिम्रै अन्याय हुन्छ मर्मत !
तिमीभित्र तिमी बन्दा ऊ काँप्ने हुन्छ थर्थर
अन्यायका जरा आफैं मक्किन्छन् बनी जर्जर !!
किशोर वय यो तिम्रो लागेको लालमोहर
देखी ताण्डब हच्कन्छन् लुक्न लाग्छन् यी फोहर !
फट्याइमा अझै ठोक दिलमा राख सद्मति
यति मात्र भए पुग्छ पोलिन्छन् दुष्टका गति !!
साँचा समयका साथ तिमी मुस्कानमा झरे
जम्मै सज्जन हाँस्नेछन् आँसु अन्यायमा परे ।
आडभरोस हुन् तिम्रा साथ छन् भव्य भावना
निकाल जनमा नित्य सुम्पेँ यो शुभकामना !!
(दाहाल प्रसिद्ध साहित्यकार हुनुहुन्छ)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता