काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘गुर्खा वारियर’ को टिजर सार्वजनिक गरिएको छ । वर्ष २०२३ बाट रिलिजको तयारीमा रहेको चलचित्रको बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फ्रष्ट लुक सार्वजनिक गरिएको हो ।
सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गरिएको एक मिनेट तीन सेकेण्डको टिजरले हलिउडको झल्को दिन्छ । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीय छ । नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको चलचित्रको २०२३ मा बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गरिने चाम्सले जानकारी गराउनुभयो । उहाँ ‘गोर्खा वारियर’लाई गोर्खा सैनिकको एउटा इतिहास बोकेको चलचित्र मान्नुहुन्छ । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि चलचित्र निर्माण गरेको चाम्सको भनाइ छ । टिजरले कार्यक्रममा प्रशंसा कमाएको थियो ।
‘गुर्खा वारियर’ २०७ वर्षअगाडिका हजारौँ कथाहरूमध्येको एक ऐतिहासिक कथा हो । सिपाहीको कथामा आधारित रहेर बनाइएको यस चलचित्रलाई सुष्मिता वाइवा र सुमन राईले निर्माण गर्नुभएको हो । सुदीप बरालको छायांकन रहेको चलचित्रमा एलिस कार्कीको संगीत र राजेश पायल राईको स्वर छ । द्वन्द्व निर्देशक भने हिमाल केसी छ ।
चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सरु मगर, आशिष गुरुङ, सुमिन गुरुङ, सुशील तामाङ, कृष गुरुङ, आदि लगायत कलकारको अभिनय छ । नेपाल र मलेशियामा खिचिएको चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन छ । तस्वीर : सुरेन्द्र थापा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts