स्रष्टा प्रेमप्रकाश मल्ल अनि ‘झरेको पात’ उपन्यास

डा. नारायण चालिसे

देशको प्रशासनिक राजधानी काठमाडौंलाई सबै कुराको केन्द्र मान्ने सनातनी संस्कार लोकतन्त्र आएपछि पनि सच्चिएन । काठमाडांँलाई नै आधार बनाएर अहिले पनि राजनीति, अर्थनीति, कला, साहित्य र संस्कृतिका निर्णयहरू गरिन्छन् । देशको विकट दूरदेश काठमाडौं छिर्न सक्दैन काठमाडौं राजधानी बाहिर जाने कुरा भएन । राजधानी काठमाडौं एकप्रकारले एलिडहरूको चलखेल गर्ने थलो हो । त्यसो त यहीँ बसेर समाजवाद, साम्यवाद, लोकतन्त्र, गणतन्त्र, समावेशी राजनीतिका आदिका आकर्षक मेनिफेस्टोहरू लेखिन्छन् । सबै दृष्टिले असल छौँ हामीहरू भन्ने अब्बल दर्जाका नागरिकहरू पनि यहीँ बस्छन् भनिन्छ ।

देश चलाउने, देश चलाउन सघाउने, सत्तापक्ष वा प्रतिपक्ष सबैको वासस्थान काठमाडौं नै हो । यतिसम्म कि प्रादेशिक पार्टी, नेता र नेतृत्वले पनि प्रदेश बनाउने खाका यहीँ बसेर कोर्न आवश्यक ठान्छ । साहित्यका सन्दर्भमा कुरा गर्दा पनि केही रैथाने सामन्तहरूले राज गरिरहेको र नवसामन्तहरूलाई प्रशिक्षण दिने थलो पनि यही हो । सामन्ती चेतना भएको रहेछ भनेँ वा सामन्त रिझाउने कला रहेछ भने बाहिरको स्रष्टा पनि यहीँ आएर आफ्नो कला देखाउन थाल्छ । र केही बागी स्रष्टाहरूले भने राजधानी बाहिरैबाट पनि चुनौती दिएका छन् । आजको परिस्थितिमा पनि साहित्यको राजधानी काठमाडौं नै हो भन्ने मानियो भनेँ देशप्रति न्याय गरेको ठहरिने छैन ।

पहिलो कृतिको पाण्डुलिपि नै यति सुन्दर लागेर वरिष्ठ साहित्यकार कृष्ण धरावासीले भूमिकाको शीर्षक नै जन्मिँदै तीन पाइला हिँडेको उपन्यास भनेर राखेका छन् । म त भन्छु तीन पाइलामात्रै होइन यो उपन्यास पाँच पाइला हिँडेको कृति हो ।

नेपाल हेर्न वा नेपाल बुझ्न देशका कुनाकन्दरा छाम्न सक्नुपर्छ यदि त्यसो भएको छैन भने देशको साहित्य पनि लेखिएको छैन । हाम्रो राजधानी केही इष्र्यालु र डाहाडे पनि छ । राजधानी बाहिरको स्रष्टालाई झट्टै स्वीकार्दैन । पहिले हेप्छ, पत्याउँदैन पछि इष्र्या गर्नर खुट्टा तान्न थाल्छ । राजधानीलाई खुसी पार्न चाहिने विधि नजानेको लेखकलाई यहाँका ठूलाठालूहरूले माया मान्दै अँठ्याउँदै गरेर निष्प्राण बनाइ दिन्छन् ।

आफू राम्रो लेख्छु भनेर प्रमाणित गर्न वा आफ्नो सिर्जनालाई अनुमोदन गराउन जब बाहिरको स्रष्टा यहाँ आउँछ र कोही उच्च दर्जाको स्रष्टा वा समालोचक चुन्छ । जसलाई उसले चुन्छ उस्तै परे उसैले उसलाई चुस्न थाल्छ । फुच्चेले आफूले भन्दा राम्रो लेख्दोरहेछ भन्ने थाहा पाएपछि उसलाई भाउन्न हुन थाल्छ र कसै गरी माथि उठ्न नदिने खेल खेल्न थाल्छ । यो त भयो साहित्यिक विकृतिको एउटा पाटो र केही स्रष्टा र द्रष्टाहरूले त्यत्तिकै सहयोग र हौसला पनि दिन्छन् जसले गर्दा राजधानी बाहिरका केही स्रष्टाहरूले प्रोत्साहन पनि पाउँछन् र आफू उभिन प्रयत्नपनि गर्छन् ।

तीन वर्ष पहिले एकजना यस्तै युवक नेपाल राजधानीको आँगनीमा प्रवेश गर्छ दूरदराज गाउँबाट । पाङ्कोट-५ दैलेखबाट आँखाभरि अनगिन्ती सपना, मनभरि रहर, केही सङ्कोच, केही आशा र केही भरोसा बोकेर राजधानी छिरेको त्यो युवा संयोगले असल मानिसको सम्पर्कमा आउँछ । त्यसपछिका उसका काम केही सहज भए होलान् केहीसल्लाह र सुझाव पनि प्राप्त भएहोला । फलस्वरूपउसको हातबाट एउटा झरिलो कृतिको पाण्डुलिपितयार हुन्छ झरेको पात । यद्यपि उपन्यासले दिएको सन्देश हाम्रा निम्ति त्यति सुखद् छैन । दुःखका कथाले भरिएको यो उपन्यास औपन्यासिक शिल्पविधानका दृष्टिले भनेँ अब्बल देखिएको छ ।

पहिलो कृतिको पाण्डुलिपि नै यति सुन्दर लागेर वरिष्ठ साहित्यकार कृष्ण धरावासीले भूमिकाको शीर्षक नै जन्मिँदै तीन पाइला हिँडेको उपन्यास भनेर राखेका छन् । म त भन्छु तीन पाइलामात्रै होइन यो उपन्यास पाँच पाइला हिँडेको कृति हो । त्यसो त देशका प्रतिष्ठित पुरस्कार पाएका स्रष्टाहरूले पछिल्ला कृतिहरू त्यतिको उचाइका लेख्न नसकेका धेरै दृष्टान्तहरू छन् तर मल्लले जसरी यो कृति लेखेका छन् यही क्रमले यिनले आख्यानशिल्पलाई खार्दै लाने हो भनेँ यिनको लेखनको भविष्य उज्ज्वल छ भन्ने लाग्छ ।

प्रेमप्रकाश मल्ल पेसाले उच्च माविको शिक्षक अनि रहरले साहित्यकार हुन् । झट्ट हेर्दा अत्यन्त साधारण जस्तो देखिने ती युवकले पहिलो कृतिका रूपमा झरेको पात उपन्यास लिएर आएका रहेछन् । मृदुभाषी, विनयी ती युवकलाई हेरेरै कुनै निर्णय लिन पर्ने थियो भने भन्न सकिन्थ्यो यिनले पनि के साहित्य लेख्छन् होला खै ? तर त्यस्तो हुँदैन मानिसलाई हेरेर धारणा बनाउने होइन उसको उपस्थिति साहित्यमा कसरी भएको छ भनेर हेर्नु हाम्रो धर्म हो । पछिल्लो समयमा उनीसँग लेखनको संसारमा बाक्लै भेट हुन्छ । उनी अध्ययनशील छन् र उनी सुन्दर सर्जक हुने सम्भावना बोकेरै हिँडिरहेको लाग्छ । भयो पनि त्यस्तै नपत्याइँदो त्यो युवकले लेखेको कृति आजका मितिसम्म के कति जनाले पढ्न पाउनुभएको छ कुन्नि मलाई थाहा छैन ।

यदि पढ्नुभएको छ भने एकपटक लामो सुस्केरा छोडेर देशको विद्यमान अवस्था र परिस्थितिका बारेमा अवश्य सोच्नु भएको छ । दुःखका कथालाई यति कलात्मक किसिमले पनि लेख्न सकिँदो रहेछ । म किन प्रेमप्रकाश मल्ल हुन सकिन भनेर धेरैको मनमा पछुतो भएको हुनुपर्छ । समयले मल्लका हातबाट लेखाएको यो उपन्यास पश्चिम नेपालको दैलेख, सुर्खेत, कैलाली, बर्दिया हुँदै पूर्वी नेपालको पनि मधेश क्षेत्र फैलिएर लेखिएको छ । लेखिएको छ को अर्थ यहाँ देशले त्यो समयमा के भोगेको छ ? के व्यहोरेको छ ? र के अनुभव गरिरहेको छ भन्ने कुरा यो कृतिले छर्लङ्ग पारेको छ ।

पीडालाई पनि राम्ररी लेख्नु आजको हाम्रो साहित्यको धर्म हो । पीडाको घाउ जति गहिरो छ त्यति नै गहिराइमा पुगेर मर्मलाई उधिन्न सक्नु नै पीडाको चित्रणमा सफल हुनु हो । हामी जस्तो बाँचिरहेका छौँ, जहाँ बाँचिरहेका छौँ र जसरी बाँचिरहेका छौँ योभन्दा सुन्दर किसिमले जीवनलाई पीडामा उतार्न सकिँदैन भन्ने मलाई लाग्छ । सबै कुरा एउटै कृतिमा उतार्न सकिँदैन तर प्रतिनिधि स्वरूप आएको यो उपन्यास धेरै नेपालीको जीवन्त समस्या हो ।

ADVERTISEMENT

उपन्यासले हामी नेपालीका केही स्थायी समस्याहरूलाई निरन्तरता दिएको छ । यसको अर्थ उपन्यासले मान्यता दिएको नभएर समस्यापूर्ण यथार्थलाई उजागर गरेको छ । गरिबी, अशिक्षा र पछौटेपन हाम्रा सबैभन्दा ठूला शत्रु हुन् । हाम्रो समाज अहिले पनि सामन्ती प्रथाको कहाली लाग्दो अवस्थाबाट गुज्रिरहेको छ । लैङ्गिक विभेद, जातीय विभेद र उत्पीडन, श्रमशोषण, अशिक्षा, अन्धविश्वास, गरिबी र पछौटेपन जस्ता डरलाग्दा शत्रुले हामीलाई बेलाकुबेला डसिरहेकै छन् । अर्थिक, सामाजिक, शैक्षिक राजनीतिक वा सांस्कृतिक हरेक किसिमले हामीले आफूहरूलाई अद्यावधिक गर्न सकिरहेका छैनौँ । अन्धविश्वास, अशिक्षा र गरिबीको चूडान्त अवस्थामा हामी छौँ ।

समाजमा भेदभाव छ । नारी र पुरुष (छोरा र छोरी) मा, तल्लो जात र माथिल्लो जातमा, धनी र गरिबमा असमान पर्खाल लगाइएको छ । शहरको तुलनामा गाउँघरमा यो समस्या अझ भयावह छ । नारीप्रतिको दृष्टिकोण परिवर्तन हुन सकेको छैन । चेतनाको अभावमा हाम्रा गाउँवस्तीहरू शोषण, दमन, उत्पीडन र अन्धविश्वासको अँध्यारोमा पिल्सिएका छन् । परिवर्तनका नाममा भएका कुनै पनि क्रान्तिले लक्षित वर्गलाई सम्बोधन गर्न सकेकै छैन ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मधेसआन्दोलन, थरूहट आन्दोलन वा यस्तै कुनै अमुक नामका आन्दोलनहरू कसैले पनि वास्तविक समस्यालाई पहिचान गर्न र निराकरण गर्न सकेको अवस्था छैन । शोषण र पछौटेपन यथावत् छ । युगौँदेखि युगौँयुगसम्म हाम्रो समाज एकतमासले हिँडेको छ । लाग्छ सबै सकिएको छ, रित्तिएको छ पाउने कुरा अब केही पनि छैन । तर त्यही बीचमा जीवनजन्य प्रेमले जीवनमा उर्जा दिएको छ ।

उपन्यासमा देशका सर्वसाधारण जनताको वास्तविक अनुहार प्रस्ट देखिएको छ । पात्रहरू प्रतिनिधि भएका छन् । समस्या सनातन छन् । पीरा, नुनिला, काँचा आँसुहरूले जीवनलाई सधैँ धोएका छन् र त जीवनले पनि हार मानेको छैन । आँसुले नै सही नुहाउन त पाइएको छ भनेजस्तो गरी देशको अनुहार उदाङ्गिएको छ । जनतालाई सधैँ साधन बनाइएको छ । भर्‍याँङ चढेर जनतामा सत्ता नाचिरहेको छ । कहिले के नाउँमा कहिले के नाउँमा नाच्ने सत्ता नागरिक समस्यादेखि बेखबर छ । उपन्यासमा बाह्रवटा खण्ड रहेका छन् ।

शीतको थोपा, बलवीर काकाको आँसु, अनौठो संसार, जलमै हराए जलराशिका फोकाहरू, मृगतृष्णा, अँधेरी रात र बिरही धून, गाउँको सम्झना, कथित सशस्त्र युद्ध, चन्द्रा र मेरो जीवन, रुन जन्मिएकी म, फूलमती, आशाको दियो र दुःखको उत्खनन, दुःख र पापको भरिया, मुक्ति नामकरण गरिएका यी खण्डहरूले नै यसभित्र के कस्ता कुरा होलान् भन्ने सामान्य अनुमान गर्न सकिन्छ । शीर्षकैले जनाएझैँ यसभित्र दुःखका कथा, व्यथा र सुस्केराहरू छन् । ती खण्ड होइनन् जीवनका घाउ हुन् । उपन्यासले परम्परागत चेतना, प्रचलन र मान्यतालाई चूनौती गर्न चाहेको छ । कहिले कस्तो कहिले कस्तो रूपमा प्रकट हुने घाउका यी अनुहार हाम्रो देशका नागरिकहरूका अनुहारहरू हुन् ।

यहाँ केवल प्रतिनिधिको रूपमा आएकी पार्वती यो उपन्यासकी सबैभन्दा पीडित नारी हुन् । उनको जीवनको वरपर घुमेका तमाम घटनाहरूमा उनी जसरी साक्षी भएकी छन्, भोक्ता भएकी छन् ती सबै हाम्रा दिदी बहिनीहरू हुन् । फूलमती, चन्द्रा, सकुन्तला, सुवास दाइ, बुबा, आमा, मीतबा, मितिनी आमा, दिदी, भिनाजु आदि यस उपन्यासका अन्य क्रियाशील पात्रहरू हुन् । यहाँ दाजुभाइहरू पनि छन् तर तीमध्ये धेरैका अनुहार त्यति उज्याला छैनन् । पुरुष जातिमाथि नै प्रश्न उठ्ने गरी आएका केही निषेधात्मक चरित्रहरूले गर्दा पुरुष जातिप्रति नै विश्वास धर्मराएको छ, आस्था मरेको छ ।

उपन्यासले जीवन र मुक्तिको नयाँ परिभाषा सुझाएको छ । जीवन ज्यादै ठूलो उत्साह र जिज्ञासाबाट सुरुभएर विस्मातपूर्ण निराशामा पुगेर सकिएको छ । जीवनको अर्थ र तात्पर्यको खोजी भएको छ । पुरुषले नारीको मनबाट लेखिएको उपन्यासमा नारी मनलाई राम्ररी उतारिएको छ ।

नारीवादको दृष्टिले, प्रेमको आदर्शलाई परिपालन गरेको दृष्टिले, माओवादी समस्या, सशस्त्र युद्ध, जनअधिकारको लडाइँ, मधेस आन्दोलन, थरूहट आन्दोलन, बाढी, पहिरो, गरिबी र अशिक्षा, अन्धविश्वास, धार्मिक आस्थाको भारी, पुरुषसत्तात्मकता, पहाडका कुरा, मधेसका कुरा, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनीतिक, मनोवैज्ञानिक, जीववैज्ञानिक, समाजवैज्ञानिक, समाजशास्त्रीय, दृष्टिले उपन्यासलाई हेर्न सकिने देखिन्छ । उपन्यासले जीवन र मुक्तिको नयाँ परिभाषा सुझाएको छ । जीवन ज्यादै ठूलो उत्साह र जिज्ञासाबाट सुरुभएर विस्मातपूर्ण निराशामा पुगेर सकिएको छ ।

जीवनको अर्थ र तात्पर्यको खोजी भएको छ । पुरुषले नारीको मनबाट लेखिएको उपन्यासमा नारी मनलाई राम्ररी उतारिएको छ । जुन कुरा ज्यादै जटिल भइकन पनि सफल भएको छ । झरेको पात प्रतीकात्मक छ । पलाउनुपर्ने, सप्लाउनुपर्ने पात झरेको छ र समयको हावाले धेरै ठाउँ उडाएको छ । आधार चँुडिएपछि पातको जुन अवस्था हुन्छ जीवनलाई पनि त्यस्तै ठानिएको छ तर जीवनबोध मुक्ति हो । सशरीर जीवनले मुक्तिको बाटो समाउन सक्छ । पार्वती भोक्ता र द्रष्टा दुवै पात्र हो । अरू पात्रहरूको पनि जीवन त्यति उल्लेख्य बन्न सकेको त छैन तर पार्वतीलाई जीवन बढी नै बोझिलो बनेको छ ।

त्यसैले उनले आफूलाई मूल हाँगाबाट चुँडिएको पात ठानेकी छन् । एक अर्थमा उनी र उनीजस्ता धेरैका जीवन झरेका पातसरह भएका छन् तर त्यहीँनेर जीवनबोधी चेतनाको प्रारूप तयार भएको छ । उपन्यासकारले आफ्नो कृतिको अन्तिम पातो मुक्ति राखेका छन् जसलाई चेतनाबोधको अवस्था मान्न सकिन्छ । यही ज्ञान जसले अबको पुस्तालाई केही मार्गदर्शन गर्न मद्दत गर्ने छ । यति सुन्दर कृतिका निम्ति स्रष्टा प्रेमप्रकाश मल्ल धन्यवादका पात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
1 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *