नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल प्रहरीले नवौँ राष्ट्रिय खेलकुद-२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद-२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई सम्मान गर्नुभएको हो ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीका तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गरेकै कारण संगठनको गरिमा उचो हुँदै आएको बताउनुभयो ।

प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीले गरेको कडा परिश्रम, मिहिनेत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गर्नुभयो । उहाँले खेलाडीले सफलता पछाडिको संघर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीका रूपमा विकास गरी व्यक्तिगत उपलब्धिका साथै संगठनको श्रीवृद्धि, बृहत्तर हित र संस्थागत विकासमा योगदान दिन खेलाडीलाई उहाँले आग्रह गर्नुभयो ।

ADVERTISEMENT

प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पदक विजेता खेलाडीको उच्च योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले प्रहरीले विभिन्न खेलकुद गतिविधिमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

विसं २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित उक्त प्रतियोगितामा नेपाल प्रहरीका तर्फबाट सहभागी खेलाडीहरूले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल एक सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । विजेता खेलाडीलाई सम्मानस्वरूप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई १० हजार, रजत पदक विजेतालाई सात हजार र कास्य पदक विजेतालाई पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?