कथा : बिठ्याहा मकरे

✍️ लेखनाथ पोख्रेल

एक दिन, छेउमा मुखधुने पानीको लोहोटा राखेका, पर्खालमा टुक्रुक्क बसेर ख्वाक..ख्वाक..खोक्दै गरेका पण्डित बाजेले भान्साको तानेमुनेमा लागेकी कान कम सुन्ने बुढीमाऊलाई ‘ए बुढी ! दाँत माझ्नका लागि पिसेर राखेको अँगारको धुलो त सकिएछ पो ! ल्या त ! त्यो लोहोरो र अगेनाका दुई चारवटा अँगार’ भन्दै ठूलो स्वरमा अह्राए ।

लोहोरो खाली छैन, सिलौटोमा मसला पिस्दैछु । दाँतले चपाउनु नि जाबो त्यो अँगार त ! भन्दै अँगारका चारवटा काला टुक्रा पर्खालमा राखिदिएर बुढीमाऊ पुनः भान्सातिर लागिन् । अँगारको एउटा टुक्रा मुखमा हालेका पण्डित बाजेले त्यसलाई मार्यांग मार्यांग चपाएर दाँत मोल्न थाले । खाली पेटमा जबरजस्ती अमिलो बासी मोही पिउनु परे जसरी मुख बिगारेर अँगार चपाउँदै गरेका पण्डितको त्यो कृत्य देख्दा खिति..ति गर्दै हाँस्यो छेउमा उभिएको मकरे ।

मकरेको हाँसो सुनेर ऊतिर फिरेका पण्डितले भने- किन हाँसेको हँ ? अँगारले मोल्यो भने दाँत कस्तो सफा र टलक्क टल्किन्छन् भन्ने कुरा थाहा छैन कि क्या हो तँलाई ? जा ! बाख्रालाई घाँस लिएर आइज भन्दै मकरेलाई तल्लो बारीतिर लखेटेर मुख कुल्ला गर्न लागे ।

यो संस्मरण हो हेड-मास्टर मकरध्वज खबासको । स्कुलमा हाजिर भएको दोस्रो दिन थियो । टिफिन छुट्टीको घण्टी बज्नासाथ होहल्ला गर्दै कक्षा कोठाबाट बाहिर निस्किएका भुराहरूले उत्पात मच्चाइरहेका थिए खेल मैदानमा । कोही डण्डी-बियो खेल्नमा व्यस्त थिए, कोही भोगटेको दानालाई फुटबल बनाएर लात्तीले हान्दै थिए । कोही हरियो चौरमा बुर्कुसी मार्दै थिए, कोही हरिगुड्डु खेल्नमा व्यस्त थिए । अफिस कोठाको झ्यालबाट भुराहरूको त्यो उत्पात हेर्दै गरेका मकरध्वज भने आफ्नो अतितलाई हेर्दै थिए ।

पण्डितको घरमा गोठालो बसेको मकरेलाई आफ्नी आमाको अनुहारको सम्झना छैन । घाँस दाउराको भारी ल्याई बेलैमा भकारो सोहोरेर गोठ सफा पारेको दिन पण्डितनी बज्यैले माया गरेर खाने कुरा दिँदा भने ऊ पण्डितनी बज्यैको अनुहारमा आफ्नी आमा खोज्ने गथ्र्यो ।

वर्षायाम, फर्सीको लहरासँगै जेलिएर ठूल्ठूलो भइसकेको कोठेबारीको झार उखेल्नमा तल्लीन मकरेको भोटो र लँगौटी दुवै लफ्रक्कै भिजिसकेका थिए । घरको जस्केलामा उभिएकी पण्डितनी बज्यैले ‘ए ! मकरे खाजा खान आइज है !’ भनेर बोलाएको सुन्दा घाँस उखेल्दै गरेको मकरे घरतिर उक्लिएको थियो । दलानमा भएको जाँतो छेउको गुन्द्रीमा बसेको मकरेलाई पण्डितनी बज्यैले भर्खर पोलेका दुई घोगा हरिया मकै र एक कचौरा मोही दिइन् । भोकले फत्य्राक फत्य्राक परेको बेला भेटेको मकै र मोही सल्याकसुलुक पारेको मकरे झार उखेल्न पुनः बारीमै फर्कियो ।

पण्डितको घरमा गोठालो बसेको मकरेलाई आफ्नी आमाको अनुहारको सम्झना छैन । घाँस दाउराको भारी ल्याई बेलैमा भकारो सोहोरेर गोठ सफा पारेको दिन पण्डितनी बज्यैले माया गरेर खाने कुरा दिँदा भने ऊ पण्डितनी बज्यैको अनुहारमा आफ्नी आमा खोज्ने गथ्र्यो । तर, नाकको टुप्पोदेखि खुइलिएको तालुसम्म चन्दन लगाउने कचकचे पण्डित बाजेको अनुहार भने उसलाई ठ्याम्मै मन पर्दैनथ्यो ।

राम्रो अनुहार, पोटिलो जीउज्यान भएको मकरे रामकली र सनमानेको छोरो थियो । गीत गाउन, हाँस्न र हँसाउन खप्पिस सनमाने र नाच्न गाउँनमा पोख्त रामकलीको पहिलो भेट ठूली एकादशीको बजार भर्न जाँदा रँभुवा बजारमा भएको थियो । पहिलो पटकको आँखा जुधाइमै रामकली र सनमाने दुवैले एकअर्कालाई मन नपराएको भने होइन तर जसले आफूलाई जुवारीमा हराउँछ ऊसँग मात्र विवाह गर्ने सर्त राखेकी रामकलीलाई महिनौसम्म पछ्याएको सनमानेले फकाएर आफ्नो घरमा भित्र्याउन भने सकेको थिएन । अर्को वर्षको माघेसंक्रान्तिको रभुवा बजारमा भएको जुवारीमा भने सनमानेले हराएको हुँदा रामकलीले आफ्नो राजीखुशीले ऊसँग विवाह गरेकी थिई ।

औधी नै मिलेको जोडी थियो सनमाने र रामकलीको । सनमाने गोडा तीसेक वर्षको हुँदा पच्चीस वर्षे खाऊँ-खाऊँ र लाऊँ-लाऊँको कल्कलाउँदो उमेरकी रामकलीले दोस्रो बच्चा जन्माउँन नसक्दा भयावह प्रसव पीडाको कारण एकाएक नै परमधाम प्रस्थान गरेकी थिई । रामकलीको मृत्युले सनमानेको मुटुभित्रको गाढा रातो रगतका थोपा-थोपा र रेसा-रेसा हुँडल्यो । कसैलाई पोख्नसम्म पनि नसकिने त्यो पीडा आँसु बनेर बग्न पनि सकेन सनमानेको आँखाबाट । आँसुलाई रोक्ने उसको प्रयास यति तीव्र बनेछ कि आँसु नै सुक्न पुग्यो । कलिलो कल्कलाउँदो उमेरको छोरातिर फर्किएर मुस्कुराउने प्रयास गर्‍यो तर सकेन । रामकलीलाई धन्यवाद दिँदै उसले दिएको उपहारको सेवा सुश्रुसामा आफ्नो जीवन गुजार्ने निधो गर्‍यो सनमानेले त्यास दिन ।

जन्मिएर सात वर्षको पनि नहुँदै आमा गुमाएको छोरा मकरेलाई विधुर सनमानेले आमा–बाबु दुवै बनेर अत्यन्त प्रेमपूर्ण परिवेशमा हुर्काएको थियो । सनमानेको ठट्यौली र उसको लाडप्यारले मकरेलाई सानो उमेरदेखि नै उट्पट्याङ्ग स्वभावको बनाएको थियो ।

जाडोको एक दिन घाम तापेर आँगनमा बसेको बेला मकरेले ‘ए बाउ ! मेरो जीउ र कान एकदम चिलायो, कन्याइ देउ त !’ भनेपछि सनमानेले छोरालाई नुहाई धुवाई गरेर जीउ र कपालमा तोरीको तेल लगाइदियो । घाममा तातेको थोरै तेल कानमा हालेर बाँकी उसको अनुहारमा घसिदियो । केही बेरपछि कन्कर्नाले कान कोट्याएर कानेगुजी पनि निकालिदियो । जीउ हलुंगो भएको मकरे भूइँमा ओछ्याएको न्यानु गुन्द्रीमा त्यत्तिकै निदायो ।

ADVERTISEMENT

अर्को दिन बिहान सबेरै पण्डितको धान ओसार्न ब्याँसी जानुथियो । ग्वालीमा भएको गाई र खोरमा भएका कुखुरा हेर्ने कामको जिम्मा मकरेलाई सुम्पिएर सनमाने धान बोक्न ब्याँसीतिर झर्‍यो । घरमा देउतालाई चडाएका ठूल्ठूला दुईटा कुखुराका भाले, दुईटा मझ्यौला र केही मसिना चल्ला थिए । ठूला दुईमध्येको एउटा भाले विसञ्चो भए जसरी जिंग्रिङ्ग परेर घाम तापिराखेको थियो । ओर्‍याहा स्वभावको छँदै थियो मकरे । चिसो लागेछ क्यारे भन्ने ठानेको मकरेले त्यो भालेलाई समातेर आफ्नो काखमा राख्दै त्यसको टाउको र कानमा तेल हालिदियो । कानमा तेल हालेपछि काखमा राखेको भालेको काने गुजी निकाल्न कानमा कन्कर्नु छिराएर घुमाउँदै गर्दा फत्य्राक फत्य्राक परेको भाले एकाएक शान्त हुन पुग्यो ।

सुरुमा त भालेलाई के भयो भन्ने कुरा नै बुझेन मकरेले । छट्पटाउन छोडेर आफ्नो काखमा लमतन्न परेको भालेलाई भुइँमा राखेर स्यु..स्यु.. गर्दै उठाउन खोज्यो तर भाले उठेन । साँझमा बाबुले कुटेर धुस्नु बनाउँछन होला ! भन्ने डरले थरथरी काम्दै बसेको मकरेलाई उसको बाबुले अब त्यसो नगर्नु ल ! भन्दै माया गर्दै कुखुरा पकाएर ख्वायो । मासु पकाएको बेला बाबुलाई खुशी भएको देख्दा आफूले कुनै गल्ती गरेको रहेनछु भन्ने कुराले आस्वस्त बन्यो मकरे । अर्को दिन पनि मकरेको बाबु पण्डितको धान बोक्न ब्याँसीतिर झर्‍यो । बाबु ब्याँसीतिर झरेपछि बाबुले अघिल्लो दिन खुशी हुँदै कुखुरा पकाएको दृश्य मकरेको अगाडि झल्झली आउँन थाल्यो ।

खेल्नमा मात्र ध्यान जाने ओर्‍याहा मकरेले गाईलाई पाखातिर लखेटेर खोरमा भएका ठूल्ठूला सबै कुखुरालाई एक एक गर्दै बाहिर निकालेर घाँटीमा डोरी बाँधेर चर्नलाई छोडिदियो । साना चल्ला सबैको खुट्टामा डोरी बाँधेर आफू खेल्न निस्कियो । खेलिसकेर घर फिर्दा चर्न गएको गाई त सग्लै आएर गोठमा पस्यो तर घटेसो लागेका ठूला जति सबै कुखुरा स्वाहा भए । खुट्टामा बाँधेका जति गेडी खुस्किएर छट्पटिँदै गरेका कुखुरा र चल्ला उँधो मुन्टो पारेर भुइँमा तेर्सिए ।

ब्याँसीबाट सनमाने बेलुका घर फर्किंदा सबै कुखुरा भस्याक-भुसुक मरेको देख्दा मकरेलाई घरको खाँबोमा बाँधेर दाम्लाले झ्यामका झ्याम हान्दै गोरु चुटाइ चुटौँ झैँ लागेको थियो । तर, निन्याउरो अनुहार लगाएर आफ्नो छेउमा उभिन आइपुगेको छोराको कल्कलाउँदो अनुहार देख्दा भावुक बनेको सनमानेले उसलाई आफ्नो अँगालोमा लिएर आफैँ भक्कानियो । त्यो घटनाको केही दिनपछि सनमानेले छोरालाई सपार्न पण्डित बाजेकोमा गोठालो राखिदिएको थियो ।

पण्डितको घरमा साँझ बिहान आइपर्ने साना तिना कामदेखि घाँस दाउरा ल्याउने र भकारो सोहोर्ने काम उसको बचपनको अविभाज्य अंग बन्दै गयो । उसको काम देखेर पण्डितनी खुब खुशी हुने गर्थिन् । खुशी भएको बेला मौकामा पण्डितनी भन्ने गर्थिन् ‘राम्रोसँग काम गरिस् भने राम र लक्ष्मणसँग काठमाडौं पठइदिन्छु ।’ राम र लक्ष्मण काठमाडौंमा पढ्दै गरेका पण्डितका दुई भाइ छोराको नाम थियो । त्यस्तो कुरा सुनेर घर पुगेको मकरे प्रत्येक रातको सपनामा आफूलाई काठमाडौं पुगेर पढ्दै गरेको देख्ने गथ्र्यो ।

पण्डित बाजेले मकरेलाई बेलामौकामा यस्ता यस्ता काम अह्राउने गर्थे कि ती काम गर्न मकरेलाई धौ-धौ पथ्र्यो । एक दिन मकरेले गोठालो गर्दै गरेको पाखो बारीमा आइपुगेका पण्डित बाजेले उसलाई खोल्सानजिकको सम्झिँदै डर लाग्ने ढिस्कोमा जरैदेखि सुकेका भकमिलोका दुईटा ठूल्ठूला ठुटा उखेल्ने कामको जिम्मा दिएका थिए । बेलुका घर पुगेर पण्डितले जिम्मा दिएको काम बाबुलाई सुनाउँदा सनमानेले भन्यो, ‘पर्खी त्यो काम भोलि म गरिदिउँला’ भनेको सुन्दा मकरे दंग परेर सुत्यो तर त्यो रात उसले साह्रै नराम्रो सपना देख्यो ।

सपनामा उसले खोल्सामाथिको भिरालोमा भएका भक्मिलोका सुकेका दुवैवटा ठूटो देख्यो । अनि देख्यो ठूटो तान्दै गरेको आफ्नो बाबूलाई । सनमानेले एउटा ठूटो त उखेल्यो । अर्को ठूटो जब्बर रहेछ । चारैतिर गहिरो खाल्टो खनेर ठूटोलाई तल-माथि गर्दै हल्लाउन सुरु गर्‍यो । माथिल्लोपट्टिबाट तान्दा नउखेलिएपछि तल्लोपट्टि पुगेर एउटा खुट्टाले भित्तामा पैठ लगाएर बेस्सरी हल्लाउँदा थुत्त बाहिर निस्केको रूखको जरासँगै हुत्तिएर खोल्सातिर झर्‍यो सनमाने ।

उँधोमुन्टो परेर झरेको उसको टाउको कसो-कसो गरेर माथिल्लोपट्टि परेछ । बल्ड्याङ खाँदै तलतिर झरेको सनमानेको टुँइके हाड साँढेको जुरोजस्तो ढुङ्गोमा बजारिएर त्यहीं अड्कियो । पीडाले उखरमाउलो भएर छट्पटिएको बाबुलाई देख्दा चिच्य्याउँदै उठेको मकरेलाई सनमानेले किन तर्सिएको ? भन्दै माया गरेर आफ्नो अँगालोमा च्यापेर पुनः सुताएको थियो । अर्को दिन बिहान बाबुछोरा दुवै मिलेर त्यो चरिअमिलोको ठूटो उखेलेर फाले । मकरे खुब खुसी भयो ।

त्यस दशैँमा पण्डितनी बज्यैले मकरेलाई अघाउँजी मासु भात खान दिइन् । टीकाको दिन पण्डित बाजेले टीका जमरा लगाइदिएपश्चात् पण्डितनी बज्यैले उसलाई एक रुपैयाँको ढ्याक दिँदै भनिन् ‘कति दुःख खेप्छस् मकरे ! जा दाइहरूसँग काठमाडौं ।

मकरेका लागि विशेष बनेर आएको थियो त्यो वर्ष । त्यस वर्षको दशैँंमा काठमाडौंमा पढ्दै गरेका पण्डित बाजेका दुवै छोरा राम र लक्ष्मण घर आएका थिए । उनीहरूले ल्याइदिएको नयाँ कमिज सुरुवाल लगाउन पाउँदा मक्ख पर्‍यो मकरे । नयाँ लुगा लगाएर राम लक्ष्मणसँग घुम्न निस्किएको मकरेले उनीहरूसँगै लिंगे-पिङ र रोटे पिङ खेलेर रमायो । छोराहरू घर आएको खुशियालीमा पण्डित बाजेले दशैँको अष्टमीको दिन ठूलो खशी ढालेका थिए ।

त्यस दशैँमा पण्डितनी बज्यैले मकरेलाई अघाउँजी मासु भात खान दिइन् । टीकाको दिन पण्डित बाजेले टीका जमरा लगाइदिएपश्चात् पण्डितनी बज्यैले उसलाई एक रुपैयाँको ढ्याक दिँदै भनिन् ‘कति दुःख खेप्छस् मकरे ! जा दाइहरूसँग काठमाडौं । साँझ बिहान दाइहरूको जुठोभाँडो गर्ने काम सघाइदे अनि त्यहीँ बसेर पढ् । सपनामा देख्ने गरेको काठमाडौंमा बसेर पढ्न पाउने कुरा सुन्दा दंग पर्‍यो मकरे ।

काठमाडौं पुगेको हप्ता दिनपछि राम लक्ष्मणले उसलाई स्कुल भर्ना गरिदिए । मकरे अब मकरध्वज खबास बनेको थियो । पण्डित बाजेका छोराहरूलाई अरूले छोएको भान्सा नचल्ने हुँदा उनीहरू आफैँ पकाउने गर्थे । गाउँमा हुँदा भकारो सोहोर्नेदेखि घाँस दाउरासमेत गर्नुपर्ने मकरेको लागि जुठो भाँडामात्र माझ्नुपर्ने भएकोमा दंग थियो । स्वस्थ मानासिकता र स्वस्थ शरीर भएको मकरे पढाइमा अत्यन्तै तीक्ष्ण थियो । ६ वर्षको अवधिमा नाइट स्कुलबाट उसले प्रवेशिका परीक्षा उत्तीर्ण गर्‍यो, अर्को तीन वर्षमा आइए पास गरेर शिक्षक बन्नका लागि नर्मल तालिमसमेत लिन सफल भएको मकरध्वज खबास आफ्नो गाउँको मिडिल स्कुलमा हेड मास्टर नियुक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *