बागलुङ । अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू-२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नुभएको छ । बंगलादेशको राजधानी ढाकामा हुने ‘बंगबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उहाँ अग्रस्थानमा हुनुहुन्छ । उहाँ आइतबारदेखि बन्द प्रशिक्षणमा हुनुहुन्छ ।
नेपाल भलिबल संघले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोलीले आगामी पुस ५ देखि ११ गतेसम्म बंगलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ ।
बंगलादेश भलिबल फेडेरेसनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एसोसिएसनको संयोजनमा प्रतियोगिता हुन लागेको हो । नेपालले पहिलोपटक यू-२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क हुनुहुन्छ ।
‘खेलाडीका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो,’ केसीले भन्नुभयो, ‘टोलीमा पक्कै पर्छु भन्ने लागेको छ, मिहिनेत पनि त्यसैअनुसार गरिरहेको छु ।’
दुई वर्षअघि काठमाडौंमा सम्पन्न भएको ‘एनभिए कप’बाट राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गर्नुभएको थियो । उहाँले गलकोट स्पोर्ट्स क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नुभएको थियो । ओपन स्पाइकर रविले त्यसयता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेल्नुभएको थियो ।
१४-१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गर्नुभएका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिनुभएको छैन । ‘प्रतियोगिताका बेला हुने सामान्य अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर पाएको छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै क्लबमा पनि आबद्ध भएको छैन ।’
यहाँको गलकोट नगरपालिका-७ मल्ममा जन्मनुभएका केसीले गाउँमै भलिबल खेल्दै र सिक्दै आउनुभएको हो । जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारीले खेलकौशल र अनुशासनमा केसी अब्बल रहेको बताउनुभयो ।
‘अब अन्तिम १४ मा परेर रविले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘उहाँलाई राष्ट्रिय टोलीमा पार्न हाम्रो प्रयत्न रहन्छ ।’ रविलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न सुरेन्द्र केसीको नाम अघि आउँछ । उहाँ हाल गलकोट भलिबल टिमका प्रशिक्षकसमेत हुनुहुन्छ । रवि र सुरेन्द्रले सँगसँगै थुप्रै प्रतियोगिता खेलेर टोलीलाई जिताउनुभएको छ ।
‘रविले सुरुमा वडास्तरीय प्रतियोगिताबाट खेलजीवन सुरु गर्नुभएको हो, मैले नै धेरै ठाउँमा उहाँलाई अघि सारेर भलिबल सिकाएको हुँ,’ प्रशिक्षक केसीले भन्नुभयो, ‘रवि कुशल स्पाइकर हुन्, अनुशासन र इमानदारिता उनको अर्को सम्पत्ति हो ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts