नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्यसचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कात्तिक २० र २१ गते बीपी कोइराला नेपाल-भारत फाउण्डेशन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया) निर्माणका लागि मार्गचित्र तय गर्न आयोजित दुई दिने अन्तर्राष्ट्रिय संगोष्ठीको नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त सदस्यसचिव प्रा.डा.हेमनाथ पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ ।

गौहाटी विश्वविद्यालयका विभागीय सदस्य डा.खगेन शर्मा संयोजक तथा डा. सिर्जना शर्मा र प्रा.देवेन शर्मा सहसंयोजक रहनुभएको उक्त संगोष्ठीमा नेपालका साथै भारतका विभिन्न प्रान्तबाट उपस्थित भएका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्रतिनिधिहरू, भाषाविद्हरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूको उपस्थिति थियो ।

उक्त संगोष्ठीको समुद्घाटनका अवसरमा प्रमुख अतिथि पौडेलले नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली शब्दकोश (२०१९), नेपाली बृहत् शब्दकोश (२०४०) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) सम्म आइपुग्दा शब्दकोश निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विश्वकोश निर्माणका सम्बन्धमा पनि प्रतिष्ठानले ‘नेपाल लघु विश्वकोश’ (२०६७) निर्माण गरी यस कार्यको थालनी गरेको तथा विश्वकोशकै रूपमा ‘नेपाल दर्पण’ ग्रन्थका सात भाग निर्माण गर्ने कार्यलाई अगाडि बढाएको बताउनुभयो । लगभग १२ सय पृष्ठको ‘नेपाल दर्पण’ (मदेस प्रदेश) ग्रन्थको निर्माण भइसकेको जानकारी गराउँदै नेपालमा शब्दकोश निर्माणमा व्यक्तिगत प्रयासहरू पनि भएको जानकारी दिनु भयो । हाल गौहाटी विश्वविद्यालयले यस किसिमको संगोष्ठीको आयोजना गरेर भारतमा संस्थागत रूपमा शब्दकोश र विश्वकोश निर्माण गर्ने कामको थालनी गरेकोमा आयोजकहरूलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा प्रमुख अतिथि पौडेलले यो श्रमसाध्य विषय र अत्यन्त ठूलो आयोजना भएको हुँदा यसमा ठूलै धनराशी र समय लाग्ने कुरा उल्लेख गर्दै गौहाटी विश्वविद्यालयले थालनी गरेको यस कार्यमा बौद्धिक, प्राज्ञिक सहयोग गर्न नेपाल प्रज्ञा-प्रतिष्ठान तयार रहेको पनि बताउनुभयो । सो अवसरमा प्राज्ञ पौडेलले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ विश्वविद्यालयलाई हस्तान्तरण गर्नुभयो । उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, सिक्किम एकेडेमीका अध्यक्ष एस् आर् सुब्बा, दार्जिलिङ नेपाली एकेडेमीका अध्यक्ष डा.गोकुल सिन्हा र नेपाली प्रकाशन असमका अध्यक्ष डी.बी क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ADVERTISEMENT

गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवं साहित्य अध्ययन विभागकी प्रमुख एवं असमी भाषाकी प्रसिद्ध उपन्यासकार प्रा.डा.अनुराधा शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन सत्रको सहजीकरण संगोष्ठीका संयोजक डा.खगेन शर्माले गर्नुभएको थियो ।

संगोष्ठीमा नेपालबाट गएका विषय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट आउनुभएका विज्ञहरूले अध्यक्षता र टिप्पणी गर्नुभएको थियो । यस क्रममा ‘शब्दकोशका प्रकार र निर्माण’का बारेमा प्रा.डा.माधव पोखरेलले, ‘विश्वकोश निर्माणको मार्गचित्र’का बारेमा प्रा.डा.गोविन्दराज भट्टराईले, ‘विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरू’ का बारेमा प्रा.डा.हेमनाथ पौडेलले, ‘नेपाली शब्दकोश निर्माणमा प्रविधिको प्रयोग’ का बारेमा प्रा.डा.बलराम प्रसाईंले तथा ‘नेपाली शब्दकोशको इतिहास र निर्माणका समस्या’ का बारेमा डा.यज्ञेश्वर निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यपत्र सत्रहरूको सभापतित्व र टिप्पणी क्रमशः रुद्र पौड्याल र डा.पर्शुराम पौड्याल, डा.गोकुल सिन्हा र डा.दशरथ खरेल, प्रा.प्रतापचन्द्र प्रधान र प्रा.देवेन सापकोटा, प्रा.डा.दिवाकर प्रधान र डा.नरेशचन्द्र खत्री, प्रा.कृष्णराज घतानी र प्रा.पुष्प शर्माले गर्नुभएको थियो । उक्त कार्यपत्रहरूमाथि सामूहिक छलफलपछि मार्गचित्र निर्माण गरी गोष्ठीको समापन भएको थियो । गोष्ठीमा डा. खगेन शर्माद्वारा लिखित दुई पुस्तकको लोकार्पण पनि गरिएको थियो ।

संगोष्ठीमा नेपाली भाषा र साहित्यको विकासका निम्ति डा.गोकुल सिन्हाको अध्यक्षतामा भारतभरिका प्रतिनिधिलाई समेटर २१ सदस्यीय नेपाली भाषा राष्ट्रिय विकास परिषद्को गठनसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *