कवि पुरुषोत्तम दाहालको ‘काला बादलमा उज्याला पाइला’ !

डा. नारायण चालिसे

मानिस कुनकुन तत्वहरू मिलेर बनेको हुन्छ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर अहिलेसम्म प्राप्त हुन सकेको छैन । संसारमा विद्यमान धेरै तत्वहरूका विषयमा मानिसले खोज गरिरहेको छ तर मानिस नामको तत्वका विषयमा सबै कुरा पत्ता लगाउन मानिसलाई पनि सकस परेको छ । अनेक तत्वहरूको ज्ञाता मानिस कुन तत्व हो भन्ने बुझ्ने दिन सायद अध्ययनको एउटा महतत्वपूर्ण अध्याय पूरा हुनेछ । भन्नुको अर्थ मानिस केही रहस्य, केही यथार्थ र केही सम्भावनाको पुञ्ज हो । कालान्तरमा मानिसले आफूलाई केही विषयमा केन्द्रित गर्छ अनि लाग्छ यो मानिस यस्तो हो । तर, केही समयमै मानिसमा अर्को विषयको प्रारम्भ हुन्छ अनि लाग्छ यो मानिस अर्को यो पनि हो ।

यसरी नै बाँचुञ्जेल मानिसले आफूलाई क्रियाशील राखिरहन्छ र उसमा उपाधिहरू थपिँदै जान्छन् । पेशा वा व्यवसाय मानिस पहिचानका बाहिरी आवरण हुन् । सारमा मानिसको परिचय खुलेको छैन । यो हो कि जस्तो लाग्नु आंशिक परिचयको आधार हो । कुरा दर्शनतिर त्यति धेरै नलैजाँदा पनि के कुरा खुलिरहन्छ भने मानिसभित्र सम्भावनाका अनेकौँ पत्र विद्यमान छन् । मानिसको एउटा पेशा वा व्यवसायले उसभित्रको अर्को व्यक्तित्व ओझेलमा परिरहेको हुन्छ । जब कुनै समय आउँछ उसले आफ्नो सम्भावनालाई प्रकाशमा ल्याउन थाल्छ ।

पुरुषोत्तम शिष्य बने, मित्र बने, गुरु बने, पति बने, पिता बने, प्रोफेसर बने, पत्रकार बने, राजनीतिक विश्लेषक बने, मानवअधिकारवादी बने, स्वतन्त्रताप्रेमी विचारक बने, साहित्यकार बने । यस्तै बन्दै गइरहेका छन् उनी र बन्ने क्रम जारी छ ।

पुरुषोत्तम दाहालका विषयमा कुरा गर्दा पनि यही नियम लागू हुन्छ । पुरुषोत्तम दाहालले यो धर्तीमा पदार्पण गरेपछि उनीमाथि पदेन आइलाग्ने उपाधिहरूको खात लाग्न थाल्यो । कसैले छोरो भने, कसैले भाइ भने, कसैले भान्जो भने, कसैले नाति भने । यसरी धेरैले आ-आफ्नै सम्बन्धमा भने । यी सबै त थिए उनीमाथि जोडिएका रैथाने सम्बन्धका बन्धनहरू जसमा उनी जीवनभर बाँधिइरहने कुरा भयो । आफूले चाहेर नचाहेर उपाधिहरूका बीचमा टाक्सिएको पुरुषोत्तममन जब स्वतन्त्र आकाशमा आफ्नो अस्तित्वको खोजीमा विचरण गर्ने समय आउँछ अनि केही आर्जित उपाधिहरू जोडिन थाल्छन् ।

त्यसपछि पुरुषोत्तम शिष्य बने, मित्र बने, गुरु बने, पति बने, पिता बने, प्रोफेसर बने, पत्रकार बने, राजनीतिक विश्लेषक बने, मानवअधिकारवादी बने, स्वतन्त्रताप्रेमी विचारक बने, साहित्यकार बने । यस्तै बन्दै गइरहेका छन् उनी र बन्ने क्रम जारी छ । खासमा उनी के बने वा के हुन् ? भन्ने प्रश्न भने अहिले पनि अनुत्तरित नै छ । एउटा मानिस बन्दा आफैँभित्रको अर्को मानिस अपरिचित रहने क्रम अहिलेसम्म जारी छ । पशुपक्षी वा अन्य भौतिक वस्तु हुन्थ्यो भने एउटा बिन्दुमा पुगेपछि बन्नेक्रम रोकिन्थ्यो मानिसमा त्यस्तो पनि हुँदोरहेनछ । अर्थात् बनिरहन सक्ने तत्वको नाम मानिस हो ।

आजको सन्दर्भमा कवि बनेका पुरुषोत्तम दाहालका विषयमा केही कुरा गरिँदै छ । त्यसो त उनी कवि बनेको पनि धेरै वर्ष भइसकेको छ । २०५९ सालमा उनको पहिलो कवितासंग्रह प्रकाशमा आएपछि उनी कवि बनेका हुन् । तर, माथि भनिएजस्तै प्राध्यापक, पत्रकार वा राजनीतिक विश्लेषक पुरुषोत्तमका नामले उनको कवि व्यक्तित्व केही ओझेलमा थियो । अहिले उनले युटर्न गरेका छन् । आफ्ना प्रचलित पेशा र व्यवशायलाई केही मत्थर पारेर एकप्रकारले उनी साहित्यकार बढी देखिएका छन् । यस क्रममा उनका केही प्रसिद्ध साहित्यिक कृतिहरू बाहिर आएका छन् । यसै क्रमको पछिल्लो कृति कविताका रूपमा आएको छ काला बादलमा उज्याला पाइला (२०७९) ।

कविताको शीर्षकले दुईवटा परिस्थितिको सङ्केत गरेको छ । आकाशमा कालो बादल छ तर बादलमुनि हिँडिएका पाइला भने उज्यालोतर्फ लक्षित छन् । पहिलो परिस्थिति यथार्थ हो र पछिल्लो अभियान यथार्थलाई सच्याउँदै र आदर्शलाई पछ्याउँदै भएको छ । हुन त कालो बादल पनि पानी वर्षाउन काम लाग्छ । पानी नपर्ने हो भने धर्तीमा खडेरी पर्ने हुनाले आकाशमा बादल कालो भएरै पानी पार्नु पनि परेको छ । तर, सबै कालो बादल पानी पार्ने नभएर केबल वातावरणलाई अँध्यारो बनाउन मद्धत गर्ने भएकाले सबै समयको कालो बादल प्रिय लाग्दैन । कविताको शीर्षकले भनेझैँ अहिले हामीले देशमा मडारिएको कालो बादलको घुर्मैलो अँध्यारोमा आफ्नो उज्यालो भविष्य खोजिरहने परिस्थिति आइलागेको छ ।

म चिताउँछु मुढो बन्चरो चिताउँछ घुँडो भनेझैँ हामीले चाहेको कुरा र पाएको कुराका बीचमा समन्वय हुन सकेको अवस्था छैन । मन कुँडिएका छन्, आस्था डग्मगाएको छ । आशा निराशामा परिणत हुँदै छन् । जनविश्वास गुम्दै गएको छ । कसैप्रति आस्था गर्नु वा भरोसा गर्नुको पनि निश्चित आधार र समयसीमा हुन्छ । कुनै विचारप्रति आस्था राख्नुको पनि नैतिक आधार, अभीष्ट र ध्येय हुन्छ । कसैलाई देशको नियम कानुन लाग्ने कसैलाई लाग्दै नलाग्ने पनि हुँदैन । विगत वर्षदेखि नै देशको राजनीति जनअपेक्षा अनुकूल चलेको छैन । राजनीतिक निष्ठा, आदर्श र मूल्य एकातिर छ सत्ताको बाँडफाँड अर्कोतिर चलिरहेको छ ।

कोही कसैको जीवनभरको भक्त होइन, दास होइन र कारिन्दा पनि होइन । इतिहासका पाना जति नै सुनौला अक्षरले लेखिए पनि जब कार्यान्वयनको समय आउँछ इतिहास लर्बराएको छ, विचार धर्मराएको छ । नेतृत्वपंक्तिमा अनेकौँ विकृति र विसङ्गतिले जरा गाड्दै गइरहेको छ । निश्चय पनि देशको यो परिस्थिति आकाशमा मडारिएको पानी नपार्ने कालो बादलभन्दा कम हानीकारक छैन । जति नै बादल मडारिए पनि जाने कहाँ ? गर्ने के ? हामीले त्यसपछि पनि चिताउने भनेको उज्यालोको कामना नै हो । यस्तो बेला लेखिने साहित्यमा के लेखिएला ? सजिलै अनुमान गर्न सकिने कुरा हो विद्यमान अँध्यारोको साम्राज्य ढलोस्, पाइलाहरू उज्यालो यात्रामा लाग्न सकून् ।

ADVERTISEMENT

तिमीले जतिसुकै अँध्यारो बाँड्ने रहर गर तर हाम्रो चाहना उज्यालो भेट्ने नै हो र हाम्रो यात्रा उज्यालोकै निम्ति तय हुन्छ भन्ने भावमा रचिएका चालीसवटा कविताहरूको सँगालो हो यो संग्रह । संग्रहमा कवि दाहालका विभिन्न विषय र भाव समेटिएका कविताहरू रहेका छन् । देशको जिम्मेवार नागरिक बुढेसकालमा कवि बन्छ भन्नुको अर्थ ती कविताले नवनिर्माणको अपेक्षा गरेका छन् । देशप्रतिको चासो र चिन्ताले थलिएको कवि मनबाट सुस्केरास्वरूप केही कविताहरूमा तीतो पोखिएको छ । कतिपय कविताहरू आक्रोशका अभिव्यक्ति पनि बनेका होलान् । तर कविको आक्रोश सत्तामा नजर लगाएर भएको छैन र कुनै राजनीतिकर्मीले राजनीतिक निष्ठा तोडेर गरिएको घातक निर्णयका सामु यी कविताहरू देशको निम्ति त्यति घातक छैनन् ।

यति कुरा अवश्य हो कविताको शक्ति बुझेकाहरूले यी कवितालाई शब्दका मिसाइल भन्न रुचाउने छन् । कवि हुनु र यति धेरै चित्त दुखाउनु त्यति मिल्दो कुरा थिएन देशको लागि र आफ्नै पनि स्वास्थ्यको लागि पनि तर विश्वाको सगरमाथाभन्दा बेगवान् बनेर परिस्थिति उभिएपछि कविको चित्त दुखाइ पनि उपदेश बन्न पुगेको छ । विशेष गरी सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक परिस्थिति देशको अनकूल नभएको अवस्थाले पिरोलिएको कवि चेतना भावनाको संसारमा विचरण गर्दागर्दै पनि व्यग्यको झटारो बन्न पुगेको अवस्था छ । देश बनाउन बसेकाहरूले कवितालाई कुनै शक्ति हो भन्ने नै मान्दैनन् । त्यस्तो अवस्थामा यी कविताहरू मनोविनोदका नयाँ मानकहरू हुन् ।

कविको दृष्टि धेरैतिर परेको छ । कवि मनीषी हो, स्वयम्भू पनि हो । निरोले बाँसुरी बजाइरहेको बेला खबर्दारी पनि हो । यी चालीस शीर्षकभित्र संसार अटाएका छन् कविले । शरीरको नश्वरताका कुरादेखि, नवनिर्माण हुँदै परिनिर्वाणसम्मका कुरा गर्दागर्दै कवि जीवन र जगत्को यथार्थलाई चित्रण गर्न भ्याएका छन् । मूल कुरा जनजीविका, अमन चैन र आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका ललिपप देखाएर वर्षौँदेखि जनताजनार्दनका प्रति भइरहेको राजनीतिक बेइमानीका यावत् दृश्य र घटनाहरूले कविलाई मर्माहत तुल्याएको छ । कति टाउँ त कवि आफैँमा आफैँ नअटाएरै आक्रोशित भएका छन् । कविले सत्ता र शक्तिको आडमा भएका दुष्कर्महरूप्रति झटारो हानेका छन् ।

यसलाई गाथगादी ताकेको अर्थ लाग्दैन भने यी कविता सत्ताका लागि चुनौतीहरू हुन् । विध्वंसको खेल चलाएर आज चौका चढेकादेखि झुट र फरेवीको पुलिन्दा बाँडेर सत्तासीन हुनेहरूप्रति कवि सकारात्मक हुन सकेका छैनन् । साहित्यले सधैँभरिगुनासो मात्रै गर्ने नियति लिएर आएको छ । साहित्यको सत्ता कस्तो हुन्छ ? परीक्षण भएको छैन तर राजनीतिको सत्ताका अनेक पहलुहरू बाहिर आइसके र ती कुनै पनि आश्वासन देश र जनताको पक्षमा भएको पाइएन । यसै विषयका प्रतिको गम्भीर असहमति हो यो कविता संग्रह । सुझबुझले युक्त पाका कविले निवृत्तिको यो उमेरमा यति धेरै रागिला कविता किन लेखिरहेका छन् ? यति धेरै आग्रह किन राखिरहेका छन् ?

यति धेरै गुनासो किन गर्दै छन् ? कतै सत्ताको नजर आफूप्रति आकर्षित गर्न त होइन भन्ने पनि अर्थ गर्न सकिने ठाउँ कवितामा रहेको छ । कवि अलि बढी नै असन्तुष्ट छन् परिस्थितिप्रति । अब त विरोधका कुराभन्दा सहमतिका कुरा बढी गर्न आवश्यक छ । हामी समस्या जति दरो गरी उठाउँछौँ समाधान त्यति दरो दिन सक्दैनौँ । हामीले कहिलेसम्म विरोध र असहमतिका कुरा गर्ने ? कहिलेसम्म व्यंग्य र आक्रोश पोख्ने ? के हाम्रो दायित्व यतिमै पूरा हुन्छ त ? साहित्यलाई अब रूपान्तरणको विषय किन नबनाउने ? परिवर्तनको विषय किन नमान्ने ? लगायतका अनगिन्ती विषयमा छलफल चलाउन सकिने अवस्था छ ।

कवि अलि बढी नै असन्तुष्ट छन् परिस्थितिप्रति । अब त विरोधका कुराभन्दा सहमतिका कुरा बढी गर्न आवश्यक छ । हामी समस्या जति दरो गरी उठाउँछौँ समाधान त्यति दरो दिन सक्दैनौँ । हामीले कहिलेसम्म विरोध र असहमतिका कुरा गर्ने ?

सारमा हामी स्वयं समस्या बनेको अवस्था पनि छ । विरोधका कुरा धेरै गरिए अब केही समर्थनका कुरा पनि गरौँ । अब त केही मत्थर भएर निर्माणको पक्षमा केही बोलौँ । निर्वाणकै पक्षमा केही बोलौँ भन्ने तर्क गर्न सकिने ठाउँ पनि कवितामा प्रशस्त भेटिन्छ कवितामा । यी कुराका प्रति कविको प्रतिबद्ध प्रतिक्रिया आवश्यक देखिएको छ । गद्य, पद्य र लोक लयमा आबद्ध यी कविता पढेर मनन गरियो भनेँ त्यहाँ हामीले आफूहरू बोलेको पाउने छौँ ।

शिल्प, भाव, विचार र सन्देशका दृष्टिले कविताहरू पठनीय रहेका छन् । कवि दाहालका आँखाले हेरिएको यो संसार साँच्चै सुन्दर र उज्यालो यात्रातर्फ लक्षित छ । पुरुषोत्तम दाहालको साहित्यतर्फको यो यात्रा अझै अनुकरणीय बन्दै जाने छ । कवि दाहाल सार्वभौम चेतनाको पक्षमा लागिरहनु भएको छ । अरूका विषयमा यति धेरै राम्रा कुरा गर्नेले आफ्ना साना कुरा गर्नु पनि हुँदैन पुरु दाइ !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *