नेपाली कला क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा देखिनुभएको छ शेखर सुवेदी । उहाँल मोडलिङबाट थिएटर हुँदै चलचित्रको यात्रामा अघि बढनुभएको हो । सुवेदीले ‘चीँ मुसी चीँ’, ‘निर्भय’, ‘गाजाबाजा’, ‘भाँडाकुटी’, ‘यस्तो यो माया’लगायत एक दर्शन नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ । मोडलिङका लागि उहाँ नेपालमा मात्र नभएर भारतलगायत युरोपियन मुलुकमा पुग्नुभएको छ । नेपालमा कलाकार भनेको पनि मान्छे हो भन्ने सोच अझसम्म विकास नभएकोे बताउनुहुने कलाकार शेखर सुवेदीसँग हिमालय टाइम्सका संवाददाता पुरुषोत्तम घिमिरेले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-
नेपाली चलचित्र जुन रूपमा अघि बढनुपर्ने हो त्यसरी अघि बढेको पाइँदैन नि ?
यसका कारण विविध होलान् । म भन्दा अग्रज कलाकार जो नेपाली सिने क्षेत्रमा आजीवन आफूलाई समर्पित गर्नुभयो उहा“हरूले सोेच्नु होला । मेरो विचारमा विविध कारणमध्ये प्रमुख चाहिँ हाम्रो चलचित्रको क्षेत्र सानो छ । बजार सानो भएकाले आम्दानी कम हुने नै भयो । लगानीकर्ताले मन खोलेर लगानी गर्न सक्ने अवस्था छैन । अर्को कुरा कलाकार छनोट गर्ने तरिका सही छैन भन्ने लाग्छ ।
कलाकार छान्ने प्रक्रिया गलत भन्नु भएको ?
कलाकार छान्ने प्रक्रिया गलत भनेको के हो भने यहा“ अनुहार बिकेका कलाकारलाई मात्र चलचित्रमा लिने गरिन्छ । अनुहार बिकेका कलाकार भयो भने चलचित्र डुब्दैन भन्ने लगानीकर्ताको छ । यो स्वभाविक हो । लगानी गरेपछि उठ्नु पर्यो । भारतमा कलाकारलाई हेरेर कथा लेखिन्छ । कुन कलाकार कुन विषयवस्तु फिट हुन्छ । त्यो अनुसार चलचित्र बनाइन्छ । अनि दर्शकको रुचिमा चलचित्र पर्छ । भारतमा पनि नचलेका चलचित्र धेरै छन् । त्यहा“ चलचित्र धेरै बन्ने भएकाले असर देखिँदैन । त्यहाँको बजार ठूलो छ समस्या छैन । कतिपय अवस्थामा लगानी कर्ता नै कलाकार बन्नपर्नु भन्ने छ त्यसले असर पारेको छ । कलाकारको इथिस नबुझेको व्यक्ति कलाकार भएपछि समस्या आउनु ठूलो कुरो होइन ।
कलाकार र कलाकारितामा फरक ?
खासै फरक छैैन । कलाकारमा निपुण भएकाले कलाकारिकता निभाउने हो ।
बजारमा ‘प्रेम गीत-३’ ले निकै चर्चा पायोे र विवादमा पनि आयो, यसो किन ?
खासै विवाद गर्नुपर्ने कुरा थिएन । सानो कुरालाई ठूलो बनाइयो । कलाकारले त स्क्रिपट अनुसार बोल्ने न हो । कलाकारलाई यसोउसो भनेर विवादमा किन ल्याएको हो त्यो उहा“हरूले नै जान्नु होला । हो प्रेम गीत–३ चलचित्रले आम्दानी राम्रो गर्यो, चर्चा पायो । हामी सिने क्षेत्रमा लागेकालाई यो पाठ हो र राम्रो चलचित्र बन्यो भने चल्छ भन्ने सन्देश हो । नेपाली चलचित्र नचलेका छैनन् चलेका छन् जति चलेका छन् तिनले चर्चा पाएकै छैनन् ।
हलवालाहरू नेपाली सिनेमा हलमा लगाउन मान्दैनन् भन्छन् नि ?
नेपाली चलचित्र लगाउनै नमान्ने होइन तर हिन्दी पाएसम्म नेपाली लगाउन गाह्रो मानेको मान्दछन्् । त्यो ठूलो कुरो मान्न भएन । करोडौ लगानी गरेर हल बनाएको हुन्छ । लगानी उठाउनु प¥यो । नेपाली चलचित्र एकादमात्र हो नत्र बजार लिन सक्दैन, अनि हिन्दी नलगाई सुखै छैन् । नेपाली दर्शक हिन्दी पाएसम्म नेपाली चलचित्र हेर्दैनन् । अनि बाध्यताले हिन्दी लगाउनुपर्छ ।
कस्ता चलचित्र बन्यो भने बजार लिन्छन् जस्तो लाग्छ ?
नेपालको सन्दर्भमा भन्नु पर्दा खासै गुणस्तरीय चलचित्र बनेका छैनन् । सबै त भन्दिनँ केही ऐतिहासिक पनि छन् । नेपालमा बन्नुपर्ने चलचित्र भनेको भौगोलिक, ऐतिहासिक, पौराणिक हो । दर्शककोे मन जित्न मन छुने चलचित्र बन्नुपर्छ । काम चलाउ चलचित्र बनाएर भएन । चलचित्रसम्बन्धी ज्ञान भएका यो क्षेत्रमा आउनु पर्यो । कथा वस्तुको अभाव होइन, कथा लेख्नेले त्यसतर्फ ध्यान दिनुपर्यो ।
तपाईं चलचित्र क्षेत्रमा आउनुभएको कति भयो ?
म यसमा आएको पा“च÷छ वर्ष भयो ।
चलचित्रमा आउनुअघि के गर्नु हुन्थ्यो ?
म कलेज पढ्दै थिए, पढ्दा-पढ्दै मोडलिङतिर लागे । मेरो सानैदेखि कलाकार बन्ने सोच थियो । मोडलिङबाट कलाकार बन्न सजिलो हुन्छ भन्ने सुनेकाले त्यता लागियो । चलचित्रमा भन्दा पनि मोडलिङबाट परिचित छु । नेपालमा मात्र होइन भारतलगायत युरोपतिर पनि मोडलिङ गरेको छु । मोडलिङबाटै थिएटर आए । मैले नाटक धेरै गरेको छु । त्यसपछि चलचित्रतिर आकषर्ण बढ्यो र चलचित्रतिर आए । मध्यवर्गीय परिवारका हामीलाई चलचित्र क्षेत्र सोचेजस्तो सजिलो छैन । कलाकार भनेको पनि मान्छे हो भन्ने सोच विकास भएकोे छैैन । हामी कलाकारै भएर बाच्ने अवस्था कहिले आउला भन्ने लाग्छ । तन, मन र वचनले अन्यत्र सोच्नु नपर्ने दिन कहिले आउला भन्ने लाग्छ ।
चलचित्र विकास बोर्डको अभिभावकीय भूमिकालाई कसरी लिनुहुन्छ ?
चलचित्र विकास बोर्डले कतिपय काम राम्रो गरेको छ भने कतिपय विवाद आउने काम गरेकोे छ । प्रेम गीत-३ चलचित्रलाई लिएर विकास बोर्डले विरोध ग¥यो । त्यो आवश्यक थिएन । ऊ अभिभावक हो अभिभावक भएपछि अभिभावकको भूमिका निभाउनुपर्छ । सार्वजनिक मिडियामा गएर प्रचारबाजी गर्नु ठीक होइन । कतिपय कलाकारले निर्माता निर्देशकले गल्ती कमजोरी गरे होलान् । त्यो घरभित्रको कुरा घरमै मिलाउनुपर्छ । अनावश्य मिडियाबाजी गरेर चर्चा बटुल्ने काम ठीक होइन ।
अन्त्यमा ?
यो संवादका लागि हिमालय टाइम्स दैनिक र तपार्इंप्रति आभारी छु । यो मिडियाले बेलाबेलामा कलाकारको आवाजलाई उठाओस् भन्न चाहन्छु । नाम चलेका मात्र होइन, ओझेलमा परेका कलाकारलाई स्थान दिनुभयो भने तपार्इंहरूको एउटा अन्तर्वार्ताले उसको बाटो खुल्न सक्छ । नेपाली चलचित्र हेर्न र नेपाली कलाकारलाई साथ दिन दर्शकहरूमा आग्रह गर्दछु ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts