बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : हरिवंश आचार्य

Read Time = 6 mins

काठमाडौं । अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली फिल्मबजार बढी नै उतारचढाव देखिएको बताउनु हुन्छ। उहाँ अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएको र केहीले भने अपेक्षाभन्दा निकै कम व्यापार गरेको बताउनु भयो ।

अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहेको र त्यो ‘महापुरुष’ रहेको उहाँको भनाइ थियो । ‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ,’ उहाँले भन्नुभयो ।

नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाइदा पुर्‍याउने उहाँले बताउनु भयो । ‘केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको छ । चिसो मान्छे, दोख, पानीफोटो, प्रकाश, राधा यसको उदाहरण हुन् । उल्लेखित फिल्महरू विभिन्न नेपाली समयलाई दर्शाउने भए पनि दर्शकले हलसम्म पुगेर हेर्ने जाँगर चलाएनन्,’ उहाँले भन्नुभयो ।

बजेटको हिसाबले पनि दुई करोडको हाराहारीमा बनेर हलसम्म पुगेको फिल्महरू लगातार असफल भएपछि यसको कारण मानोञ्जनको मात्रा कम भएको विश्लेषण गरिएको छ । यद्यपि पुराष्नै मेकिङ शैलीमा साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित कृति ‘झिँगेदाउ’ मा आधारित सोही नामको फिल्मलाई दर्शकले रुचाएका छन् ।

अभिनेता आचार्यले पूर्ण रूपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताउनु भयो । ‘यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गरेको अघिल्लो फिल्महरूको तुलनामा यो उत्कृष्ट छ,’ उहाँले भन्नुभयो। आचार्यले फिल्मको निर्देशक प्रदीप भट्टराईसँग टेलिफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसक्नुभएको छ । मह जोडीकै टेलिफिल्महरूमार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाइ छ । ‘उहाँको स्क्रिप्ट चयनबाट म प्रभावित छु । बजारले खोजिरहेको विषयवस्तुलाई सरल रूपमा प्रस्तुत गर्ने खुबी तारिफयोग्य छ,’ अभिनेता आचार्यले भन्नुभयो ।

ADVERTISEMENT

जात्रा, शत्रु गते र जात्रैजात्राको सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताउनु भयो । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विधमान सोचलाई भत्काउने प्रयास हाम्रो हो,’ उहाँले भन्नुभयो ।

‘लोभी पापी’ पश्चात दोस्रोपटक अभिनेता आचार्यसँग स्क्रिन सेयर गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुसी हुनुहुन्छ । ‘यो टिमले मलाई अहिलेको मेकिङ शैलीसँग नजिकबाट साक्षात्कार गरायो । हरिदाइको जोडी बनेर देखिन पाउँदा खुसी छु । हामीले नजरअन्दाज गरिरहेको गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ,’ अभिनेत्री मल्लले भन्नुभयो ।

यसै फिल्मबाट अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गर्दै छन् । मह जोडीसँग डेब्यु गर्न पाउँदा अरुण निकै उत्साहित छन् । ‘म जापान छाडेर यहाँ अभिनयमा आफ्नो भविष्य बनाउन प्रयासरत थिएँ । उहाँहरूसँग जोडिएर पाइला टेक्न पाउँदाको खुसी शब्दमा व्यक्त्त गर्न सकिँदैन । डेब्यु फिल्ममै मैले उहाँहरूबाट धेरै सिकेको छु,’ अरुणले भन्नुभयो ।

डेब्यु अभिनेत्री अन्जनाले आफ्ना लागि स्कुलिङ भएको बताउनु भयो । ‘यो टिमले मलाई चलचित्र उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरा लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ,’ उहाँले भन्नुभयो ।

फिल्म ‘महापुरूष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *