हरेक नयाँ सिर्जनालाई कसरी सुमधुर बनाउने भन्ने चुनौती एउटा कुशल संगीतकारमा रहेको हुन्छ । यस्तै सुमधुर संगीतमार्फत् लोकप्रियता हासिल गरेको नाम हो-रोशन बान्तबा राई । पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् श्रोता/दर्शकको मनमष्तिस्कमा बस्न सफल उहाँका ६०० भन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् । दोहोरी, पूर्वेली लोक, पश्चिमेली लोक, भाषाभाषी, आधुनिक सबै प्रकारका गीतमा उत्तिकै न्याय गर्न सक्ने संगीतकारका रूपमा स्थापित उहाँ साधनाबिनाको कलाकारिता दीर्घकालीन नहुने धारणा राख्नुहुन्छ । आफूलाई निखारेर, साधनामा तल्लीन बनाएरमात्र आएका सिर्जना कालजयी हुने मान्यता राख्नुहुने रोशन बान्तबा राईसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी:-
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमा संलग्न भएको व्यक्ति भएकाले यससँगैका कार्यमा आफूलाई तल्लीन बनाउँदै आएको छु । अहिले पनि गीतसंगीतमै आफूलाई व्यस्त बनाइराखेको छु । पछिल्लो समय केही चलचित्रका गीतहरूको काम गरिरहेको छु ।
कहिलेदेखि हुनुहुन्छ नेपाली गीतसंगीत क्षेत्रमा ?
यो क्षेत्रमा २०५६ सालयता लगातार संगीत क्षेत्रमै काम गरिरहेको छु ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
घरमा दाइ गीतारिष्ट हुनुहुन्थ्यो । गीतार, हार्मोनियम, मादल, बाँसुरी घरमै हुन्थ्यो र स्कुलमा पनि सांगीतिक माहोल थियो । सायद त्यही वातावरणले यस क्षेत्रमा डोर्याएर ल्याएको हुनुपर्छ ।
कस्तो पाउनुभयो नेपाली गीतसंगीत क्षेत्र ?
यो क्षेत्र चुनौती र अवसर दुवैले भरिपूर्ण छ । नाम र दाम दुवै छ । यसका लागि सिर्जनशील र कडा मिहिनेत जरुरी छ ।
अहिलेसम्म आउँदा कतिजति गीतमा संगीत भर्नुभयो, केहीको नाम लिनुपर्दा ?
अहिलेसम्म आउँदा ६०० भन्दा बढी गीतमा संगीत भरिसकें । जस्तो ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’लगायत रहेका छन् ।
यहाँले थुप्रै गीतमा संगीत सिर्जना गर्नुभएको छ, नेपाली संगीत क्षेत्रलाई अझ समृद्ध तुल्याउन के-कस्ता पहल आवश्यक देख्नुहुन्छ ?
नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाउन पहिलो कुरा नेपाली साहित्यमा आमूल परिवर्तन गर्नुपर्छ । किनकि साहित्यबिना संगीत बन्दैन । मिठो मिठो शब्द, शैलीको अभाव छ र यसपछि गायकगायिकामा निखारपन चाहिन्छ । धेरै रियाज गर्नुपर्छ । सिक्नुपर्यो । त्यसपछि संगीतकारहरूले पनि मौलिक र मसालेदार सिर्जना गर्नु आवश्यक देख्छु । साथै एरेन्जमेन्टको प्याट्रनलाई अझ सिर्जनात्मक बनाउँदै लानुपर्छ ।
यहाँले आफ्नौ संगीत विद्यालय खोलेर पनि प्रशिक्षण दिइरहनुभएको छ, यहाँसँग अहिलेसम्म क-कसले प्रशिक्षण लिनुभएको छ ?
संगीत विद्यालय खोलेर नेपालमा धेरैले प्रशिक्षण लिनुभएको छ । म आफैँ पनि गीतार धेरै वर्षसम्म सिकेको मान्छे । चर्चित नामहरूमा आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धिरज राईलगायतका चर्चित कलाकारहरूलाई पनि संगीत प्रशिक्षण दिने अवसर मिलेको थियो ।
यो क्षेत्रमा लामो अनुभव संगाल्नुभएका यहाँले अहिलेको गीतसंगीतलाई कस्तो पाउनुहुन्छ ?
नेपाली गीतसंगीत विविधताले भरिपूर्ण छ । पूर्वमा हाकपारे, लैवरी, मारुनी, पालाम, मध्यमा सेलो, काठे भाकादेखि पश्चिममा रोधी हुँदै देउडा भाकाले भरिपूर्ण छ । तर, यी आफ्ना मौलिक भाकाहरूको प्रशस्त खोज अनुसन्धान र संवद्र्धन हुन अझै सकेको छैन । हामी पप, रक, र्याप र सुगम संगीतलाई नै धेरै लगानी र संवद्र्धन गरिरहेका छौं ।
यस क्षेत्रमा धेरै चोरीको आरोप पनि लाग्ने गर्छ नि ?
चोरीको आरोपमा म के भन्छु भने व्यक्तिअनुसार फरक पर्छ, कसै कसैले यस्तो पनि गरेका छन् भने कहिलेकाहीँ सिर्जना गर्दै जाँदा कुनै न कुनैसँग मिल्न पनि जान्छ । यसलाई अब यसरी नै हेर्नुपर्छ । थाहा हुँदाहुँदै चोरी गर्नु भनेको अपराध नै हो भन्छु म त ।
यहाँले संगीत सिक्न सजिलो होस् भनेर पुस्तकहरू पनि सार्वजनिक गर्नुभएको छ होइन ?
हजुर मैले गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू लेखेको छु । धेरैलाई यी पुस्तक निकै उपयोगी भएको मैले पाएको छु । यी किताबको व्यावसायिक सफलताले पनि राम्रै भयो । अहिले धेरैजसो म्युजिकल इन्स्टिच्युट र स्कुलहरूमा मेरा किताबबाट प्रशिक्षण दिइन्छ ।
यहाँले आफूलाई व्यक्तिगतरूपमा यो क्षेत्रले के दियो र के गुमाएजस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर सन्तुष्टि मिलेको छ । धेरै थोरै परिचय प्राप्त भएको छ र व्यावसायिकरूपमा पनि सन्तुष्ट नै छु र मैले गुमाएको चाहिँ पढाइ गुमाएँ, बिबिएस पढ्दा पढ्दै यतातिर पूर्णरूपमा संलग्न हुन पुगें ।
जीवन र संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन र संगीत एकापसमा सम्बन्धित छन् । स्वस्थ जीवनयापनका लागि संगीत चाहिन्छ । संगीतबिनाको कुनै पनि उत्सव, महोत्सव अधुरो छ । बुढाबुढीलाई भजनका रूपमा पनि संगीतले साथ दिइराखेको छ । बच्चाहरूलाई, बिहेमा, चाडपर्व, पिकनिक आदिमा संगीत नै चाहिन्छ । संगीत जीवनको एउटा पाटो हो ।
यहाँको भविष्यको योजना ?
मेरा योजनाहरू अझै उत्कृष्ट संगीत सिर्जना गर्दै नेपाली दर्शकश्रोताको मन जित्दै जाने र यस क्षेत्रमा आउन चाहनेहरूका लागि भरपर्दो प्लेटफर्मको निर्माण गर्दै जाने छ ।
यो क्षेत्रमा आउन चाहने नयाँ प्रतिभालाई के कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
यस क्षेत्रमा आउन चाहनेहरूलाई प्रशिक्षित भएर आउँदा राम्रो हुन्छ र यो क्षेत्र भनेको साधना गर्ने क्षेत्र हो । त्यसैले यसमा धैर्यता, अनुशासन र कडा मिहिनेतको आवश्यकता पर्छ । यही अनुरूप आफूलाई तयार पार्दै आउनुहोस् भन्न चाहन्छु ।







जीवन र संगीत एकापसमा सम्बन्धित छन् । स्वस्थ जीवनयापनका लागि संगीत चाहिन्छ । संगीतबिनाको कुनै पनि उत्सव, महोत्सव अधुरो छ ।
निकै रोचक लाग्यो मलाई
Congratulations mama hajur 😍👏👏🙏🙏
Great