नेपाल कम्युनिष्ट पार्टी एमालेले अध्यक्ष ओलीको नेतृत्वमै आगामी आमनिर्वाचनमा जाने निर्णय गरेको छ । नेतृत्व घोषणा गरेर यसरी निर्वाचनमा जाने लोकतान्त्रिक परम्परा छ । यसअघि २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईको नेतृत्वमा निर्वाचन लडेको थियो र बहुमतका साथ सरकार गठन गरेको थियो । सामान्यतः आफ्नो पार्टीको बहुमत भएमा वा सरकार गठन गर्नुपरेमा कसको नेतृत्वमा भन्ने प्रश्नलाई आमनागरिकसमक्ष प्रस्तुत गर्दा यसको प्रभाव सकारात्मक पर्दछ । नेपाल कम्युनिष्ट पार्टी एमालेले योपटक आलीलाई निर्विकल्प रूपमा अघि सारेको छ । सत्ता गठबन्धनका तर्फबाट अहिलेसम्म त्यस्तो कुनै घोषणा भएको छैन । त्यहाँ आफैँले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्नेहरू भने धेरैजना देखिएका छन् । नयाँ र पुरानाहरूको प्रधानमन्त्रीका लागि लिगलिगे दौड चलिरहेको देखिन्छ ।
एमालेले पुनः केपी ओलीलाई नै किन निर्विकल्प नेता घोषणा गर्यो ? यो प्रश्न सबैका मनमा उठिरहेको छ । एमालेबाट माधवकुमार नेपालसहित एक सशक्त नेतृत्व पंक्ति र पुस्ता पृथक् भएको छ र समाजवादी पार्टी खोलेको छ । एमालेभित्रै रहेका केही प्रखर नेताहरू अहिले पनि ओलीको कार्यशैलीविरुद्ध खरो रूपमा प्रस्तुत भइरहेका छन् । ओलीले २०७४ सालमा माओवादीसँग एकता गर्दा पार्टीभित्रका अरू कसैसँग सल्लाह नगरेको, सरकार सञ्चालनका क्रममा अनेक भ्रष्टाचार भएका, विवादास्पद निर्णयहरू गरेको, पार्टीमा असहमत तर्कहरूलाई निमिट्यान्न गर्ने प्रयास गरेको, विरोधी स्वरहरूलाई बलात् बुझो लाउने प्रयास गरेको, माओवादीसँगको एकता निरन्तर गर्न नसकेको, संसद्लाई दुई पटकसम्म भंग गरेको, विधानविपरीत सरकार र पार्टी सञ्चालन गरेको अनेक आरोप छन् ।
त्यसभन्दा असम्भव रूपका अनेक सपना देखाएर जनतालाई भ्रमित तुल्याउँदै एमाले पार्टीलाई जनसमक्ष अविश्वनीय तुल्याएको आरोप छ । उहाँ स्वास्थ्यका दृष्टिले सुखद् अवस्थामा हुनुहुन्न । यद्यपि, जतिसुकै अस्वस्थ भए पनि उहाँको शारीरिक र मानसिक सक्रियता आश्चर्यजनक छ । अहिले पनि ओलीको क्रियाशीलता आफूलाई स्वस्थ दाबी गर्ने नेताहरू भन्दा निकै बढी देखिन्छ । के एमालेमा ओलीभन्दा अरू कोही नेता नेतृत्वका लागि समर्थ छैनन् ? यो प्रश्न अब आवश्यक रहेन । उहाँको नेतृत्व घोषणाले नै यसको उत्तर दिएको छ । एमालेका लागि ओली निर्विकल्प नै हुनुहुन्छ । दुईपटक संसद् विघटन गर्ने निर्णय सही थियो र देउवा नेतृत्वको नयाँ गठबन्धन गलत छ भन्ने सिद्ध गर्न ओलीको नेतृत्व अनिवार्य थियो एमालेका हकमा ।
ओलीलाई हटाएर अर्को नेतृत्व घोषणा गरी चुनावमा जाने हो भने हिजो आरोपित सबै विषयहरू प्रमाणित भएको मानिने थियो । एमाले कार्यकर्ता वा नेतृत्वका लागि यो स्वीकार्य थिएन । हिजोका दिनमा ओलीका काम र अडानलाई सत्यापित गर्न पनि कमसेकम यो एक निर्वाचन ओलीकै नेतृत्वमा लड्नुपर्ने बाध्यतामा एमाले रहेको छ । अर्कोतर्फ ओलीभन्दा पछिको पुस्ता समान वय, योगदान र सक्रियताले भरिएको छ । त्यो पुस्ता अनुभवी पनि छ । तुरुन्त अहिले नै अर्को नेतृत्व खोज्दा एमालेभित्रको प्रतिस्पर्धा गुणकारीभन्दा क्षयकारी हुने निश्चित थियो । एमालेका लागि यसैकारण ओलीको विकल्प थिएन र खोजेको देखिएन ।
वर्तमान राजनीतिलाई हेर्दा ओलीको सामथ्र्यसँग, अडानसँग, वाकपटुतासँग र बहुमुखी क्षमतासँग प्रतिस्पर्धा गर्ने राजनीतिक नेता देखिँदैन पनि । उहाँको जस्तो कौशल नदेखाए पनि २०६३ पछि पुष्पकमल दाहालमा मानिसहरूले धेरै अपेक्षा गरेका थिए । तर, उहाँ आफ्नै पारिवारिक वृत्त, जटिलता र समस्याको सिकार भइरहनु भएको छ । उहाँको अस्थिर सोच र कामका कारण विश्वसनीयता पनि धरापमा परेको छ । २०६३ यताका दिनमा दाहालले मारेको फरक फड्कोले नै उहाँलाई नेतृत्वको प्रथम हार दुर्लभ हुँदैछ । नेपाली कांग्रेसका सभापति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ताप्रतिको सरल आकर्षणलाई उपयोग गरी भोलिका दिनमा नेतृत्वको मार्ग सहज बनाउने कल्पना दाहालको हुनसक्छ ।
तर, कार्यकारणको संयोगले डा. बाबुराम भट्टराईदेखि नारायणकाजीसम्मको गतिमा निर्भर पर्नुपर्ने अवस्थामा उहाँ पुग्नुभएको छ । नेपाली कांग्रेसमा तत्काल नेतृत्वको सम्भावना देखिँदैन देउवाबाहेक । यद्यपि, वरिष्ठ नेता रामचन्द्र पौडेलको आसले समेत मधुरो स्वरमा आवाज निकालिरहेको सुनिन्छ । नयाँ पुस्तामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र विस्तारै सशक्त हुँदै देखिएका डा. शेखर संसद्मा प्रविष्ट भएमा प्रथम लहरको नेतृत्व केही हदसम्म विश्वसनीय हुनेछ । त्यो पुस्तापछि भने अनेक अनुहार छन् कांग्रेसमा तर तिनको कार्यकुशलता, व्यवहार, आचरण सबैको समीक्षा गर्ने हो भने उनीहरूलाई नेतृत्वमा पुग्न धेरै बांगाटिंगा र कठोर सिँढीहरू उक्लनुपर्ने देखिन्छ ।
के ओलीको नेतृत्व सफल होला ? यो प्रश्नको उत्तर अरू दलहरूमा देखिने सहमति, त्यहाँभित्र उठ्नसक्ने तरंग, वर्तमान गठबन्धनका कामहरू, जनतामा परेको प्रभाव र राजनीतिक घटनाहरूको सन्दर्भले मात्रै दिनेछन् । राजनीतिमा सफलता वा असफलता हुने गर्छ । एमाले नेतृत्वले ओलीलाई आफ्नो पार्टीबाट आगामी प्रधानमन्त्री प्रस्ताव गर्दै निर्वाचनमा होमिँदा यसको आँकलन गरेको हुनुपर्छ जय वा पराजय कस्तो हुनेछ ? नेपालका लागि राष्ट्रिय स्वाभिमानको रक्षा, वर्तमान राजनीतिक प्रणालीको सम्बद्र्धन, जनताका लागि सुशासन र समृद्धि दिन सक्ने नेतृत्वको खाँचो छ । परीक्षितहरूबाट त्यस्तो नेतृत्वको अपेक्षा देखिँदैन तर नयाँमा पनि परीक्षितहरूका सबै स्खलित गुणहरूको अंश नै रहेको हुनाले तत्काल कुनै चमत्कारपूर्ण परिवर्तनको सम्भावना छैन । यिनै बुढापाकाहरूको भरिया हुनु नै नेपालीहरूको वर्तमान नियति हो ।







याे सम्पादकीय पठनीय,स्मरणीय र मननीय पनि छ किनभने अाेलीजस्ता पार्टीका धेरै भए भने जनतामा पार्टीप्रतिकाे अाकर्षण घट्छ भन्ने कुरामा शङ्का नगरे हुन्छ ।