नवौं राष्ट्रिय खेलकुदको तयारी कहाँ ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 13 mins

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ आउन डेढ महिनाको समय बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारी धमाधम भइरहेको जिकिर गरेको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिता सफल बनाउन परिषद्ले विभिन्न उपसमितिमार्फत तयारी गरिरहेको जानकारी दिनुभयो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत भइसकेको, प्रत्येक टिमबाट महिला ३३५ र पुरुष ३७४ जना गरी जम्मा खेलाडी संख्या ७०९ हुने राखेपले जनाएको छ ।

यस्तै प्रतियोगितामा सहभागिता जनाउने ११ वटा टोलीबाट गरी जम्मा सात हजार ७ सय ९९ जना खेलाडीहरू सहभागिता हुनेछन् । जसमध्ये महिला तीन हजार ६८५ र पुरुष चार हजार ११४ जना रहने आयोजकले जनाएको छ । नवौं खेलकुदमा स्वर्र्ण ३९३, रजत ३९३ र कास्य ६ सयका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । हालसम्म प्रतियोगिताका लागि ६० (साठी) करोडको बजेट सुनिश्चित भएको र पहिलो किस्ता वापत १० करोड निकासा भएको राखेपले जनाएको छ । त्यसबाहेक लोगो, मस्कट, नारा छनौट भई स्वीकृत भइसकेको छ ।

नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी सहितको बृहत् बैठक सम्पन्न गरिसकेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुदको कार्यकारी समितिको सचिवालय काठमाडौं र पोखरामा, १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भएको तथा उपसमितिको कार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको राखेपले जनाएको छ । उपसमितिहरूले कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारम्भ गरिसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्को एप तथा वेबमार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरी काम अघि बढाएको राखेपले जनाएको छ ।

त्यसबाहेक खेलतालिका, खेल सामग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाइन टेण्डर, राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमुना संकलन, उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको भएको राखेपले जनाएको छ ।

भदौ २४ गते देखि पोखरा रंगशालामा मास पिटीको अभ्यास सुरु हुने, नवौं राष्ट्रिय खेलकुद–२०७९ मा समावेश खेलका खेलस्थलहरूको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश गरिएको, खेलस्थल निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी रहेको र १५ भदौ सम्म खेल स्थालको टुंगो लगाइसकिने सदस्यसचिव घिसिङले जनाउनुभयो ।

खेलाडी तथा अफिसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भइरहेको, प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन गर्दै दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको, खेलस्थलमा स्वास्थ्य सेवाका लागि सम्बन्धित पालिकासँगको समन्वय गरिएको तथा सबै उपसमितिहरूले असोजको १५ गतेभित्र सम्पूर्ण तयारी पुरा गर्नेगरी लक्ष्यका साथ काम अघि बढाइएको राखेपले जनाएको छ ।

कास्कीमा खेलाडी छनोट
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोटको कार्यतालिका बनाएर छनोट प्रक्रिया सुरु गरेको छ । ब्याडमिण्टनका लागि सात पुरुष र चार महिला गरी ११ खेलाडी प्रादेशिक छनोटमा पर्नुभएको छ ।

जिल्ला खेलकुद विकास समितिका सदस्य मनिषा गुभाजु, जिल्ला व्याडमिण्टन संघका उपाध्यक्ष विशाल खड्का, खेल अफिसियल ज्ञानेन्द्र भण्डारी, वीरबहादुर आले, इच्छा गुरुङ र रविचन्द्र होनासहितको समितिले खेलाडी छनोट गरेको हो । पुरुषतर्फ राष्ट्रिय खेलाडीद्वय भूगोल गुरुङ र विधान अधिकारीसहित विशाल खड्का, सशांक अधिकारी, इशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ छनोट हुनुभएको छ । यसैगरी महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुष्मा नेपाल र शीतल केसी छनोट हुनुभयो । यमकुकारी राष्ट्रिय खेलाडी हुनुहुन्छ र उहाँ राष्ट्रिय वरियतामा आठौँ स्थानमा हुनुहुन्छ ।

ADVERTISEMENT

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रत्येक टोलीबाट व्याडमिण्टनमा पुरुषतर्फ सात र महिलातर्फ पाँचजनाले प्रतिनिधित्व गर्नेछन् । गण्डकी प्रदेशअन्तर्गतका जिल्लाबाट छनोट भएका खेलाडीले यही भदौ १५ देखि १८ गतेसम्म हुने प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्राविधिक होनाले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय जिल्लास्तरीय छनोट प्रक्रियाका लागि कार्यतालिका प्रकाशित गरिसकेको कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरण बानियाँले बताउनुुभयो । समितिले व्याडमिण्टनसहित फुुटबल, बास्केटबल, एथलेटिक्स, भलिबल, कबड्डी, चेस, तेक्वान्दो, कराँते, रग्वी, क्रिकेट, टेबलटेनिस, उसुु, जुुडोलगायत २२ खेलको जिल्लास्तरीय छनोट सञ्चालन सुरु गरेको हो ।

राखेपले यही भदौ २५ गतेभित्र खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समय तालिका, खेल स्थलको जानकारी गराउने कार्यक्रम तालिका छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनएको एक गरी ११ टिमले ३६ खेलमा चार सय सात पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कैलालीमा खेलाडी छनोट
यसैगरी कैलालीमा पनि खेलाडी छनोट सुरु हुनेभएको छ । उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया शुक्रबारबाट सुरु भई १४ गतेसम्म हुने कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट गरिने प्रतियोगिता धनगढी र टीकापुरमा सञ्चालन हुनेछन् । जिल्लाबाट छनोट भएका खेलाडीलाई यही भदौ १८ देखि २४ गतेसम्म प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर विष्टले बताउनुभयो ।

प्रदेशस्तरीय प्रतियोतिामा छनोट भएका खेलाडीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउने उहाँको भनाइ थियो । उक्त प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, भारत्तोलन, कुस्ती कबड्डी, बुद्धिचाल, बास्केटबल, व्याडमिण्टन, क्रिकेट, पौडी, सुटिङ, खो-खो, शारीरिक सुगठनलगायत ३३ प्रकारका खेलमा प्रदेशको सहभागिता हुने जनाइएको छ । रुग्वी ट्रयाथोलन, प्यारागलाडिङ, गल्फ, पौडी, आर्चरी, साइक्लिङ, सफ्ट टेनिस, लङटेनिस र स्क्वासका लागि भने जिल्ला र प्रदेशबाट छनोट नभई सोझै प्रतियोगितामा सहभागी हुन पाउने जनाइएको छ ।

खोटाङमा खेलाडी छनोट
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिण्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । तेक्वान्दोका २२, टेबलटेनिसका चार, फुटबलका ३२ र व्याडमिण्टनका सात जना खेलाडी बिहीबार र शुक्रबार सञ्चालन हुने छनोट प्रतियोगिताबाट छनोट हुने जनाइएको छ ।

यस्तै, भारोत्तलनका दुई, उसुका दश, बक्सिङका तीन, पौडीका दुई, शारीरिक सुगठनका एक र सफ्ट टेनिसका दुई खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागी जनाउने जनाइएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आगामी असोज-२८ गतेदेखि कातिक-३ गतेसम्म सञ्चालन हुनेछन् ।

बागमती छनोट
नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र उत्सव केसी छनोट हुनुभएको हो ।

महिलामा सञ्जु धामी, बबिता पकवाल, सन्ध्या कालीकोटे, अर्चना चित्रकार, संगीता सुनुवार, स्वस्तिका श्रेष्ठ, करिश्मा धामी, भावना ठकुल्ला, सुजनी राय, सुष्मा गाहा, अञ्जु खड्का र स्वेच्छा बम ठकुरी छानिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?