स्रष्टा विनोद दाहाल ‘वत्स’ को गद्य कविता संग्रह ‘टाँकघर’ पाठकमाझ आएको छ । बालकविता संग्रह ‘लालीगुराँस, इतिहास कृति ‘ओखलढुंगा सशस्त्र क्रान्ति : पृष्ठभूमि कारण र परिणाम’, ‘नेपालको लोक्तान्त्रिक आन्दोलनमा ओखलढुंगा’, खण्डकाव्य ‘भुइँचालो’, विमर्श कृति ‘अन्तरंग’ जस्ता कृति पाठकमाझ पस्किसक्नु भएका स्रष्टा दाहालको गद्य कवितासंग्रह ‘टाँकघर’ पाठकमाझ आएको हो । जीवनका विविध क्षेत्र पत्रकारिता, प्राध्यापन, कविता, मुक्तक लेखन, राजानीति, जीवनी लेखनमा आफूलाई समर्पित गर्दै आउनुभएका स्रष्टा दाहालका सहलेखन कृति ‘सम्बन्धसूत्र’ हाइकुसंग्रह र ‘शहीद स्मृति ग्रन्थ’ पनि पाठकमाझ छन् ।
साहित्यका विविध विधामा सशक्त रूपमा कलम चलाउँदै आउनुभएका स्रष्टा दाहालले आधा दर्जन जति कृति सम्पादन गर्नुभएको छ । कथा, कविता, निबन्ध, प्रबन्ध, गीत, गजल, मुक्तक, हाइकु, स्वतन्त्र लेखन, अनुसन्धानात्मक लेखन, संस्कृति, पर्वलगायत र राजनीतिक लेख रचनाहरू १८ सयभन्दा बढी विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्नुभएका स्रष्टा दाहालले विभिन्न राष्ट्रिय दैनिकमा कार्य सम्पादनको अनुभव सँगाल्नु भएको छ । उहाँ पछिल्लो समय हिमालय टाइम्स राष्ट्रिय दैनिकमा उपसम्पादकका रूपमा कार्यरत हुनुहुन्छ ।
कृति ‘टाँकघर’ मा स्रष्टा दाहालले विभिन्न परिवेशका ४० सुनौला थुँगा समावेश गर्नुभएको छ । कृतिमा रहेको एक कविता ‘टाँकघर’ बाट नै उहाँले पुस्क्तकको नामकारण गर्नुभएको छ । १२६ पृष्ठको यो कृतिको प्रकाशकमा विराज समाज, काठमाडौं रहेको छ भने सहारा प्रिन्ट कनेक्सन, डिल्लीबजारमा मुद्रण गरिएको छ । नेपाली साहित्यका सर्जक र अनुरागीहरू तथा आफ्ना स्वर्गीय पिता पं.मा.चन्द्रलाल दाहालमा कृति समर्पण गरिएको छ ।
यस गद्य कविता संग्रहमा साहित्यकार तथा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालको विशेष भूमिका रहेको छ जसले कृतिको ओजलाई अझ बढाएको छ । पत्रकारिताका धेरैका गुरु प्रा.दाहाल आफैँमा विशिष्ट साहित्यकार हुनुहुन्छ । साहित्यका विविध विधामा सशक्त रूपमा कलम चलाउनुहुने उहाँका थुप्रै कृति पाठकमाझ छन् । यस्तै समसामयिक विषयमा गहन विशलेषणसहित प्रकाशित हुने उहाँका लेख रचनाको धेरै ‘फ्यान’ मध्ये म पनि एक हुँ । आदरणीय गुरु प्रा.दाहालले यस कृतिमा कृतिका बारेमा र स्रष्टा विनोद दाहालज्यूका बारेमा विस्तृत रूपमा गहन तरिकाले आफ्ना भनाइ राख्नुभएको छ ।
यस्तै कृतिमा जीवनाथ धमलाज्यूको भूमिका छ भने कलानिधि दाहाल र हरिभक्त सिग्देल ‘महेश’ को ‘शुभकामना’ का साथै स्रष्टा दाहालका ‘आफ्नो भनाइ’ र ‘प्रकाशकीय’ समावेश गरिएको छ । कृतिमा उहाँले ‘आमा’, ‘सिँढीहरू’, ‘बारुद, बुद्ध र म’, ‘समय’, ‘बादलको घोडा चढेको म’, ‘टाँकघर’, ‘दोबाटोमा उभिएको मृत्यु’, ‘समय बरालिएको छ’, ‘नयाँ नेपाल’, ‘माटो’, ‘बालक’, ‘एक हुल कागहरू’, ‘ढासी’, ‘फूलहरू’, ‘आँठा, फगटा र पाटाहरूको किसान’, ‘यात्रा’, ‘दशैँको सन्देश’, ‘मुसा नमार्ने बिरालोको कथा’, ‘कुपोषणग्रस्त तीन दाजुभाइ’, ‘बादल’, ‘मन’ जस्ता शीर्षकमा कविता पस्किनुभएको छ स्रष्टा दाहालले ।
यस्तै उहाँले ‘रहर’, ‘दुरुह यात्रा’, ‘मन उडेको छ भुरुरु’, ‘आगो’, ‘खेत’, ‘आकाश’, ‘बैंस, वसन्त र अग्रगामी प्रतीक्षा’, ‘चिर आशा’, ‘भास’, ‘पोखरी’, ‘गाउँ बदलिएको छ अचेल’, ‘मेरो रुपान्तरण’, ‘वर्तमान’, ‘गुरु, गौरव र बमन बेदान्त’, ‘बाघ सहर पसेको छ’, ‘एउटा प्रश्न’, ‘भित्तो’, ‘बाटो’ र ‘गभाराहरू’ शीर्षकमा कविता प्रस्तुत गर्नुभएको छ ।
संसारमा सबैभन्दा प्रिय सम्बन्ध भनेको आमासँग हुन्छ । आमाको तुलना कुनै अर्को सम्बन्धसँग कहिल्यै पनि हुन सक्दैन । स्रष्टा दाहालले यो कवितासंग्रको दैलो पनि ‘आमा’ शीर्षकको कविताबाट उर्घानु भएको छ भने ‘गभाराहरू’ शीर्षकको कविताबाट संग्रहको मैजारो गर्नुभएको छ । प्रतीकात्मक रूपमा धेरै कविता प्रस्तुत गर्नुभएका उहाँका यस कृतिमा रहेका कवितामा जीवन, जगत, विद्रोह, मिलन, चेतना, सचेतना, आत्मबोध पाइन्छ । साहित्यका विविध विधामध्ये कवितालाई एउटा समृद्ध र प्रभावशाली तथा महत्वपूर्ण विधाका रूपमा लिइन्छ ।
कविताका विषयमा जति बुझ्न खोज्यो त्यति नै कठिन हुँदै जान्छ । यसको गहिराइ मापन गर्न निक्कै मुस्किल हुन्छ । ममा पनि उहाँका सबै कविताको गहिराइ मापन गर्ने क्षमता छैन तर सरसर्ती पढ्दा कविताले मन छुन्छ, कहीँ कवितामा आफैँलाई पाइन्छ भने कहीँ हाम्रो परिवेश, कल्पना, समाज, जीवन, भोगाइ, यथार्थता, दृष्टिकोण पाइन्छ । यही नै महत्वपूर्ण हो जस्तो लाग्छ । कवितामा उद्धृत गरेका पंक्तिहरूले पाठकलाई बाँधेर राख्दछ ।
‘विनोद दाहालले कविता के हो ? एउटा यक्ष प्रश्न गर्नुभएको छ । कविताका परिभाषा आफ्नो बुझाइअनुसार हुन्छ । काव्यको रचना कविले गर्छन् भने त्यसको रस पण्डितहरूले जान्दछन् भन्ने शास्त्रीय वचन छ । तर, रचनाकारले आफ्नो सिर्जनाको तह, लक्ष्य, दृष्टि, रसको आस्वादन सबै गरेपछि मात्र सार्वजनिक गर्दछ’, साहित्यकार प्रा. पुरुषोत्तम दाहाल आफ्नो भूमिकामा भन्नुहुन्छ ।
आफ्नो मुहारका ऐन
तिनका आँखामा देख्नेहरू,
हो, तिनै हुन् आमाहरू ।
.....
न घिन छ कुनै
न झर्कोफर्को र सिकसिको
छ त केवल माया छ
– आमा ।
‘आमा’ शीर्षकको यस कवितांशले थाह हुन्छ कि उहाँका कविता कति सशक्त छन् भनेर । मातृत्व प्रेमको संवेदनशीलता र यथार्थता कवितामा प्रस्तुत गर्नुभएको छ । उहाँका सृजनाले जीवनका हरेक पलसँग मेल खाने जीवनका वास्तविक्ता चित्रण गर्नुभएको छ । कृतिमा रहेका कविताले जीवनका समग्रपक्षको उजागर गरेका छन् । बहुप्रतिभाका धनी स्रष्टा दाहालका अन्य कृतिको रसास्वादन गर्ने अवसर मिलिराखोस् यही गीता कामना ।

स्रष्टा विनोद दाहाल ‘वत्स’ को गद्य कविता संग्रह ‘टाँकघर’ पाठकमाझ