एसियाडमा नेपालले सुखद नतिजा ल्याउने मन्त्री गहतराजको प्रतिबद्धता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । ‘नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्छ, १९औँ एसियाली खेलकुदको तयारीका लागि एक वर्ष छ, यो हाम्रा लागि तयारी गर्ने सुखद अवसर हो,’ युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले १९औँ एसियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरूका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा बताउनुभएको छ ।

सुखद नतिजाका लागि अहिले विनियोजित तयारी बजेटलाई बढाउन सकिने उहाँले बताउनुभयो । सिंहदरबारले खेल नबुझेको भन्दै खेल एक विज्ञान भएको र खेल शिक्षामा परिवर्तन गर्दै स्कुलस्तरबाट नै खेलकुदलाई विकास गर्नुपर्ने भन्दै सिंहदरबारलाई खेल बुझाउनुपर्ने बताउनुभयो ।

खेल विश्वविद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्नेतर्फ सोच अगाडि बढेको बताउनुभयो । खेल विकासका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय खेलमैदान बनाउने सोच आगाडि बढेको र भएका पूर्वाधारलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।

खेलाडीको मनोबल बढाउने उद्देश्यले पुरस्कार, सम्मान बढाउनेतर्फ अग्रसर रहेको र राष्ट्रबाट प्रदान गरिने पदकहरू खेलाडी र प्रशिक्षकहरूले प्राप्त गर्ने आधार तयार गरिने र खेलाडीले आगामी दिनमा पदक हासिल गरेबापत कसैको निगाहबाट नभई कानुनी प्रावधान बनाएर पुरस्कार राशिको निर्धारण गरिने बताउनुभयो ।

मन्त्री गहतराजले एसियन गेममा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले ३२ लाख ५० हजार, रजत १९ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीले १३ लाख प्राप्त गर्ने कानुनीरूपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यहीअनुरूप प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली खेलकुदमा अहिलेसम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजातर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरूले पनि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले यसका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

ADVERTISEMENT

परिषद्का उपाध्यक्ष शिव कोइरालाले खेलाडीहरूलाई हौसला प्रदान गर्नेक्रममा हरेक विजयहरू थकाइ मार्नका मात्र होइन, नयाँ उचाइ लिनका लागि पनि हो । यस पुनर्ताजगी कार्यक्रमले खेलाडीहरूलाई अझ खारिएर अगाडि बढाउन सक्षम हुने भन्दै परिषद्ले सोचेको परिणाम खेलाडीहरूले दिनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले खेलाडीहरूलाई पदक हासिल गरेर योभन्दा भव्य कार्यक्रममा सरिक भएको हेर्न चाहेको बताउनुभयो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एसियन गेममा नेपाली खेलाडीहरूले सुन्दर परिणाम प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

नेपाली खेलाडीहरू हरेक समय सेना जस्तै तयारी अवस्थामा रहनुपर्ने भन्दै त्यसैका लागि अहिलेको प्रशिक्षण सुरु भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बताउनुभयो । उहाँले एसियन गेमका लागि अझै एक वर्ष बढी बाँकी रहेको भन्दै यो समयमा विभिन्न प्रतियोगिता आयोजना हुने भएकाले खेलाडी त्यसका लागि सदा तयार रहनुपर्ने बताउनुभयो । खेलाडीहरूले १४ महिना नभई १४ सेकेन्ड बाँकी छ भनेर प्रशिक्षमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले एसियाली खेलकुदका लागि यो छनोट नै अन्तिम नभएको भन्दै विभिन्न चरणका छनोट पार गरेर एसियन प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुने बताउनुभयो । विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराउने भन्दै त्यसबाट प्राप्त नतिजालाई आधार बनाउँदै अन्तिम छनोट गरिने र निरन्तर प्रशिक्षण सञ्चालन हुने बताउनुभयो ।

१९औँ एसियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका खेलाडीहरूका लागि पुनर्ताजगी कार्यक्रमका अवसरमा रात्री भोजको पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?