पुस्तक : बास्तोलाको कवितासंग्रह ‘भोका सपनाहरू’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

‘भोका सपनाहरू’ यो साहित्यकार होमशंकर बास्तोलाको कविता कृति हो जुन हालैमात्र प्रकाशित भएको छ । यो पुस्तक गद्यकविता कृति हो । कौशिकी साहित्य प्रतिष्ठान काठमाडौंबाट प्रकाशित यस पुस्तकको सर्वाधिकार कवि बास्तोलामै सुरक्षित रहेको छ भने २०७८ साल चैतमा पहिलो संस्करण आएको यस पुस्तकको प्रकाशित प्रति १००० रहेको छ । पुस्तकमा कोहलपुर बाँकेका विक्रम शिशिरको आवरण र वसन्तराज अज्ञातको साजसज्जा रहेको छ । यो पुस्तकको मुद्रण सुनगाभा अपसेट प्रेस डिल्लीबजार काठमाडौंमा भएको पाइन्छ ।

पुस्तक भूमिका खण्डसहित ९५ पृष्ठको छ भने यसको मूल्य व्यक्तिगत २५० र संस्थागत पाँच सय रुपैयाँ छ । पुस्तक डिएमआई साइजमा छ । छपाइ स्तरीय छ र अशुद्धिहरू खासै छैनन् । आवरणमा सामान्य सेतो पृष्ठभूमिमा मानिसहरूको अमूर्त चित्र रहेको छ । माथि सेतो पृष्ठभूमिमा पुस्तकको शीर्षक ‘भोका सपनाहरू’ राता ठूला अक्षरमा लेखिएका छन् भने तल साना अक्षरमा कविको नाम ‘होकशंकर बास्तोला’ भनेर छापिएको छ ।

पृष्ठ आवरणमा फोटोसहित कविका बारेमा आर.एम. डङ्गोल, ठाकुर बेलवासे र चेतनाथ धमलाले व्यक्त गरेका विचारहरू दिइएको छ । तल लोगोसहित पुस्तकको प्रकाशक कौशिकी साहित्य प्रकतिष्ठानको नाम दिइएको छ । पृष्ठ आवरणको भित्रपट्टि कवि बास्तोलाको परिचय दिइएको छ जसअनुसार उहाँ कुइभिर-३ ओखलढुंगामा जन्मिनु भएको भन्ने थाहा हुन्छ । नारायणप्रसाद बास्तोला र वेदमाया बास्तोलाका छोरा होमशंकरले एलएलबी तथा स्नातकोत्तर गर्नुभएको छ भन्ने कुरा पनि यहीको विवरणबाट थाहा हुन्छ ।

उहाँका यसपूर्व आँसुका झरनाहरू (कथासंग्रह २०५८), घाम हराएको दिन (गजलसंग्रह २०६१), बन्दुकको छाया (कथासंग्रह २०६७) र हिमाल पहाडका कथा (संकलित कथासंग्रह २०७१) प्रकाशित भइसकेका छन् । उहाँ अन्तर्बोध (साहित्यिक त्रैमासिक पत्रिका र कपन कविता क्यालेन्डरको सम्पादक पनि हुनुहुन्छ । हाल बुढानीलकण्ठ १२ कपनमा आफ्नै निवासमा बस्तै आउनु भएका बास्तोलाले जनआन्दोलन घाइतेसम्मान (नेपाल सरकार, २०६३), भानुभक्त काव्य पुरस्कार ( २०७१), यज्ञराज घले संस्था पुरस्कार (२०७४) तथा प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) प्राप्त गर्नुभएको छ ।

ADVERTISEMENT

हाल वाणी प्रकाशन विराटनगर, दायित्व वाङ्मय प्रतिष्ठान काठमाडौं, जनमत वाङ्मय प्रतिष्ठान काभ्रेपलान्चोक, कपन साहित्य समाज काठमाडौं, कौशिकी साहित्य प्रतिष्ठान काठमाडौं तथा नेपाल साहित्यिक पत्रकार संघ केन्द्रीय सचिवमा उहाँको संलग्नता रहेको छ ।
यस पुस्तकको भूमिका खण्डमा कौशिकी साहित्य प्रतिष्ठानकाका अध्यक्ष चेतनाथ धमालाको ‘मुक्तिका स्वरभित्र भोका सपनाहरू’ शीर्षकको प्रकाशकीय, साहित्यकार आर.एम. डङ्गोलको ‘भोका सपनाहरूको प्रवृत्तिगत वैशिष्ट्य’ र कवि बास्तोलाको ‘भोका सपनाहरूका बारेमा बोल्नै पर्दा’ शीर्षकका विचारहरू रहेका छन् । यसपछि कविता क्रम रहेको छ ।

यस पुस्तकमा जम्मा ३५ वटा कविता छन् । यो गद्य कवितासंग्रह हो । एक शब्दको शीर्षकमा ११ वटा, दुई शब्दको शीर्षकमा आठवटा, तीन शब्दको शीर्षकमा १२ वटा, चार शब्दको शीर्षकमा तीनवटा र छ शब्दको शीर्षकमा एउटा कविता यस संग्रहमा रहेका छन् । यसबाट उहाँका छोटा शीर्षक राख्ने प्रवृत्ति यहाँ देखापर्छ । शीर्षक जस्तै उहाँका कविताहरू पनि छोटा नै छन् । प्रायः सबै कविता दुई पृष्ठको फैलावटमा रहेका छन् । ३५ वटामध्ये ३२ वटा कविता दुई पृष्ठमा समेटिएका छन् भने तीनवटा कवितामात्र तीन पृष्ठको फैलावटमा छन् ।

यसरी हेर्दा उहाँका कविताहरू न धेरै छोटा न धेरै लामा छन्, मध्यम आयामका कविताहरू यस पुस्तकमा समेटिएका छन् । प्रकाशकीयमा चेतनाथ धमलाले भन्नुभए जस्तै यस पुस्तकका कविताहरूले समाजको गतिशील बाटो र पाटोको चित्रण गरेका छन् । प्रकृति चित्रण, अन्यायविरुद्ध आक्रोश, चेतावनी, अभाव, गरिबी, भविष्यप्रतिका सपनाहरू, सामाजिक विकृति, निराशा, चिन्ता, आशावादीता, जीवन दर्शन, समाजचित्रण, माया वा स्नेह आदिसम्बन्धी धारणा यस संग्रहभित्रका कविताले प्रस्तुत गरेका छन् ।

सडक, पूmल नदी जस्ता कविताहरू प्रतीकात्मक छन् । यसै गरी तमसुक, साँपहरू, जन्जिर र पर्खाललगायत कविताहरूमा विद्रोह, सामाजिक विपभेदप्रति आक्रोश तथा घृणाजस्ता भावप्राधान्य पाइन्छ । ‘भोका सपनाहरू’ समग्रमा माक्र्सवादी सौन्दर्य चिन्तन प्रभावित कृति हो भन्न सक्न्छि । कवि बास्तोलालाई बधाई छ तथा पुस्तकको सफलताको कामना । यसका साथै कविलाई यस्तै अन्य कृतिहरूको सिर्जनाका लागि अग्रीम शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?