पुस्तक : कोइरालाको कवितासंग्रह ‘आफ्नै डम्फु’

सुशीला घिमिरे
सुशीला घिमिरे
Read Time = 6 mins

ओमप्रसाद कोइराला कवि हुनुहुन्छ । छन्दका कवितामा उहाँ सिद्धहस्त हुनुहुन्छ । हालै उहाँको कवितासंग्रह आफ्नै डम्फु प्रकाशित भएको छ । डिएमआई साइजमा प्रकाशित यस पुस्तकको प्रकाशक कौशिकी साहित्य प्रकाशन रहेको छ । प्रथम संंकरणका रूपमा २०७८ साल माघमा प्रकाशित भएको यस पुस्तकको आवरण चित्र देवेन्द्र थुम्केलीले तयार पार्नुभएको छ भने साजसज्जा सचन विश्वकर्माको छ । पुस्तक सुनगाभा अपसेट प्रेस डिल्लीबजार काठमाडौंमा मुद्रण भएको छ । पुस्तक भूमिका खण्डमा १२ र पाठ्य खण्डमा १५९ गरी जम्मा १७१ पृष्ठको छ र यसको मूल्य ३५० रुपैयाँ छ ।

पुस्तकको सर्वाधिकार कविमै रहेको छ । आवरण रातो पृष्ठभूमिमा रहेको छ र यसको माथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक ‘आफ्नै डम्फु’ छ । यसमुनि कोष्ठकमा साना अक्षरमा कवितासंग्रह भनिएको छ भने बीचमा मधुरोमा डम्फुको चित्र रहेको छ । तल सेता अक्षरमा कविको नाम ओमप्रसाद कोइराला भनेर उल्लेख गरिएको छ । पृष्ठआवरणमा फोटोसहित कवि कोइरालाको नाम दिइएको छ । उहाँको पारिवारिक परिचय, शिक्षादीक्षा, उहाँले प्राप्त गर्नुभएका पुरस्कार, अभिनन्दन, सम्मानपत्र, कदरपत्र तथा प्रसशंसापत्रलगायतको विवरण तथा कवि कोइरालाको संस्थागत आबद्धता यस पृष्ठमा दिइएको छ । तल प्रकाशक संस्था कौशिकी साहित्य प्रतिष्ठानको लोगोसहितको नाम दिइएको छ ।

पुस्तक कविले आफ्ना पिता पुष्पलाल कोइराला र माता कृष्णकुमारी कोइरालामा समर्पण गर्नुभएको छ । भूमिका खण्डमा प्रकाशकीयमा ‘कवि कोइरालाको डम्फुमा आफ्नै ताल’ शीर्षकमा कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौंका अध्यक्ष चेतनाथ धमलाका विचारहरू तथा लेखकीयमा कवि कोइरालाको विचार ‘विकृतिविरुद्ध आफ्नै डम्फु’ शीर्षकमा प्रस्तुत भएका छन् । यसबाहेक पुस्तकमा अन्य कसैको भूमिका राखिएको छैन । यसपछि विषयसूचीका रूपमा कविताक्रम छ । पुस्तकमा कवि केइरालाका ११२ वटा कविताहरू समावेश भएका छन् ।

यी कविताहरू प्रस्तुत भइसकेपछि पुस्तकमा चारजना लेखकका कोइरालाका बारेका विचारमूलक लेखहरू समावेश गरिएका छन् । राजेन्द्र सुवेदीको ‘कवि कोइरालाको आफ्नु डम्फु र मेरो डम्फुवादन’, प्रयागराज वाशिष्ठको ‘ओमप्रसाद कोइरालाको जीवनी, व्यक्तित्व र कृतित्वको संक्षिप्त रेखांकन’, भुवनहरि सिग्देलको ‘कवित्व र भावपक्ष स्रष्टाकै दायित्वमा पर्छ’ र विनोद दाहाल वत्सको ओमप्रसाद कोइराला : अध्यापनदेखि साहित्यसम्म’ शीर्षकका आलेखहरू समावेश भएका छन् ।

ADVERTISEMENT

पुस्तकमा समावेश गरिएका ११२ वटा कवितामध्ये एक शब्दको शीर्षकमा ५१ वटा, दुई शब्दको शीर्षकमा ३१ वटा, तीन शब्दको शीर्षकमा २१ वटा, चार शब्दको शीर्षकका सातवटा र पाँच शब्दको शीर्षकका दुईवटा कविता छन् । यसबाट कवि कोइरालाको छोटा शीर्षक चयन गर्ने प्रवृत्ति देखिन आउँछ । कवि कोइरालाका कविताहरू लामा छैनन् छोटा छन् । प्रायः कविताहरू एकै पृष्ठमा समेटिएका छन् । जम्मा ११२ वटा कवितामध्ये ९९ वटा कविता एक पृष्ठमै समेटिएका छन् भने १३ कटा कवितामात्र दुई पृष्ठको फैलावटमा रहेका छन् तर ती एक पृष्ठबाट एक वा दुई श्लोकमात्र अर्को पृष्ठमा गएका छन् ।

यस पुस्तकका अधिकांश कविता पाँच श्लोकका छन् । दुईवटा कवितामात्र चार श्लोकका छन् भने एक पृष्ठमा नअटेका १३ वटा कविता ६ श्लोकका छन् । तिनै १३ वटा कविताको एक वा दुई श्लोक अर्को पृष्ठमा गएका छन् । माथि नै भनियो यो छन्दका कविताहरूको संग्रह हो । यसमा समावेश सबै कविता छन्दमा लेखिएका छन् । कवि कोइरालाले यहाँ शार्दुलविक्रीडित, द्रुतविलम्बित, उपजाति, शिखरिणी, मालिनी, स्वागता, अनुष्टुप, इन्द्रबज्रा, भुजंगप्रयातलगायत छन्दको प्रयोग गर्नु भएको छ । कुनै कुनै कविता लोकलयमा छन् । ६७औं क्रममा रहेको आफ्नै डम्फु यस पुस्तकको शीर्ष कविता हो ।

यहाँ समेटिएका कविताहरू प्राय अविधामा अर्थबोध गराउने खालका छन् । प्रकृति, समाज, व्यंग्य, अभाव वा गरिबी, मानवता, मानवीय संवेदना, गुनासा, अनुभूति, खगोल, भूगोल, तारा, पिण्ड, राजनीति, प्राकृतिक प्रकोप, दुःख, सुख, हाँसो, खुशी जस्ता विविध भाव र विषय कवितामा समेटिएका छन् । कृतिका लागि कवि कोइरालालाई बधाई तथा कृतिको सफलताको कामना । साथै यस्तै अन्यान्य कृतिका लागि कविलाई अग्रीम शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *