कृति ‘शहीद स्रष्टा परिचय कोश’ प्रकाशित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘शहीद स्रष्टा परिचय कोश’ प्रकाशनमा आएको छ । समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

कृतिमा नेपालको राजनीतिक तथा रूपान्तरणकारी आन्दोलनमा ज्यानको आहूति दिएका शहीद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालको प्राज्ञिक जगत्का समग्र विज्ञहरूलाई समेट्दै अघि बढ्न आफूहरू कटिबद्ध रहेको जनाउनुभएको छ ।

उहाँले शुभकामना मन्तव्यमा लेख्नुभएको छ, ‘२०६२/०६३ को जनआन्दोलनपछि साविकको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ललितकला एवं नाट्य–संगीत विधालाई छुट्टयाई छुट्टाछुट्टै प्रतिष्ठान गठन गरिएको र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अन्तर्गत नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनको अध्ययन, अनुसन्धानमार्फत प्रवर्धन गर्ने उद्देश्यले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठान गठन गरिएको हो । यस अर्थमा गठनदेखि बिरासत ग्रहण गर्दै हाल कानुनबमोजिमका विषयक्षेत्रमा यो प्रज्ञा प्रतिष्ठान कार्यरत् छ ।’

प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले जीवित अवस्थामा रहँदा साहित्य, कला, संस्कृति, गीत, संगीतलगायत विभिन्न विधा सिर्जना र प्रस्तुतिमा क्रियाशील रहेका शहीद स्रष्टाको खोज गरी तयार पारिएको यस ग्रन्थको प्रकाशनले शहीद हुनुभएका स्रष्टाहरूप्रति सच्चा सम्मान र श्रद्धाभाव अभिव्यक्त भएको जनाउनुभएको छ ।

उहाँले प्रकाशकीयमा लेख्नुभएको छ, ‘शहीद भनेका परिवर्तनका संवाहक हुन् । न्याय, समानता र स्वतन्त्रताका हिमायती अनि राष्ट्रका अमूल्य निधि हुन् । यस कार्यबाट थोरै भए पनि शहीद स्रष्टाहरूलाई सम्झिन सकेको अनुभूति भएको छ ।’ उहाँले अनुसन्धान परियोजना कार्य सम्पन्न गर्ने समालोचक तेजविलास अधिकारीलाई प्रतिष्ठानका तर्फबाट विशेष धन्यवाद दिनुभएको छ ।

ADVERTISEMENT

प्रतिष्ठानका साहित्य, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा.गोपीन्द्र पौडेलले शहीदहरूप्रति सम्मान होस् भनेर नै शहीद स्रष्टा परिचयकोश प्रकाशन गरेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘शहीद भनेका न्याय, समानता र स्वतन्त्रताका पक्षमा लड्ने, राष्ट्रिय स्वाभिमानलाई उचो राख्नका लागि आफूलाई बलिदान गर्ने, देशको निम्ति अमरत्व प्राप्त गर्ने उच्च उदात्त चरित्र भएका आस्थाका धरोहर एवं महानायक हुन् । यद्यपि शहीदका सपनाले साकार रूप लिन बाँकी नै छ र शहीदका सपना अधुरै छन् ।’

पुस्तकका लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक शहीद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मको खोजी पुस्तकमा गरिएको बताउनुभयो । उहाँले शहीद स्रष्टा परिचयकोशको काम अलि चुनौतीपूर्ण भए पनि नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको आहूति दिने स्रष्टा शहीदप्रति यो कार्य महत्वपूर्ण रहेको सुनाउनुभयो । अधिकारीले भन्नुभयो, ‘सामग्रीलाई सकेसम्म तथ्यपरक बनाउन प्रत्येक शहीद स्रष्टाको परिचयात्मक लेखलगत्तै सहयोगी सन्दर्भ सामग्री र व्यक्तित्वको नाम उल्लेख गरिएको छ ।

यस पुस्तकमा क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, प्रजालाल राई, ऋषिराज देवकोटा ‘आजाद’ जस्ता प्रजातन्त्रका निम्ति जीवन अर्पण गर्ने राजनीतिज्ञदेखि क्रान्तिको फिलिङ्गो भीमदत्त पन्त, चुनु गुरुङ, कृष्णसेन इच्छुक, मस्तबहादुर विष्ट, शारदा श्रेष्ठ, तारा काफ्ले जस्ता सांस्कृतिक क्षेत्रमा विशेष योगदान र ऊर्जा दिने शहीदहरूको परिचय प्रस्तुत गरिएको छ ।’ उहाँले पुस्तकमा मूलतः राज्य पक्षको दमनको, धरपकड र यातनाबाट जीवन गुमाउने स्रष्टाहरूको फोटो राख्ने चाहना हुँदाहुँदै अधिकांशको प्रामाणिक फोटो नभेटिएका कारण समावेश गर्न नसकिएको जानकारी दिनुभयो ।

लेखक अधिकारीले पुस्तक प्रकाशन गर्ने क्रममा दुई सयभन्दा बढी व्यक्तिलाई सम्पर्क गरेको जनाउँदै कतिपय शहीदका परिवारसँग सम्पर्क हुन नसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *