कविता : सपना

विनोद दाहाल वत्स
विनोद दाहाल वत्स
Read Time = 4 mins

फँडनी खुलेको छ अरे भनेर झोडामा
खुकुरी भिरेर हिँडेको बाबु घरबाट
भर्तीमा छान्यो गल्लाले मलाई भनेर
बन्दुक बोक्न गएको छोरो
‘जनयुद्धमा जाऊँ’ भनेर क्रान्तिकारीहरूले
लगेको कान्छो छोरो पाखुरामा समातेर
बाटो हेर्दा हेर्दै अझै फर्किएका छैनन्
रुँदैछन् बुढीआमा पिँढीमा बसेर
पर्खिरहेकी छन् ख्वाङ्ख्वाङ् खोक्दै
ओरालो झरेको पारि डाँडाबाट
कुनै यात्री देख्दा आस गर्छिन्
आफ्नै लोग्ने हो कि भनेर
पाँच सात बिगाहा आवादी
जग्गा जोडेर आए कि खसम
मिठा मिठा सपना देख्छिन्
आँगनमा साँझ पोखिँदासम्म पनि
केही आउँदैनन् उनका दलानमा
अनि भित्र पस्छिन् उनी अँध्यारो कुनामा
मजेत्रो ओढेर सुत्छिन् फ्याङ्लो गुन्द्रीमा
सपना देख्छिन् राति
मलिलो फँडनीमा बुढाले
मकै फलाएछन् जोर घोगा घर बनाएछन् एउटा सानो भुइँटाँडे
र, बारीमा घरअगाडि
तोरी फुलाएछन् पँहेलै
बिहान उठ्नासाथ ब्युँझिएर
एउटा चिठी पर्‍यो उनका हातमा
राति हात्ती लगाएर सरकारले
उनका बुढाको आर्जन बारीमा
दाइँ गराएछ, घर भत्काइदिएछ
गाई चराइदिएछ तोरीमा
मकैको सुली लडाइदिएछ
र, सरकारको ज्यादतिको विरोध गर्ने
उनका खसमलाई मारेछ
हात्तीले कुल्चाएर ।

खाकी रङको हाफप्यान्ट लगाएर
खाकी झोलामा खुकुरी झुण्ड्याएर
दसैंमा घर फर्किएको भर्तीबाट
पहिलो छुट्टीमा आएको युवक देखेर
छोराको प्रतिबिम्ब
रूपान्तरित भयो उनका आँखामा
तर, उसले उनलाई
एउटा समाचार सुनायो-कुसमाचार
‘आमा हामी सँगै थियौँ
एउटै छाउनीमा
सँगै गयौँ लडाइँमा बैरी मार्न
एउटा बैरी मर्‍यो उसको गोलीले
मेरो गोलीले मरेन
अर्को बैरीको गोलीले ऊ मर्‍यो
तर, म मरिनँ
उसले वीरगति प्राप्त गर्‍यो
नुनको सोझो गरेर विदेशका लागि
अब तिम्रा लागि
उसको नामको पेन्सन आउँछ ।’

ADVERTISEMENT

आमै टोलाइन्, आँखा धमिला भए
साँझ ओर्लियो फेरि घुरमैलो बनेर
घर वरिपरि र उनका आँगनमा
अँध्यारो बाक्लियो घ्वाप्प पोखियो अमिलो
कम्ब्याक्टधारीहरूले उनलाई
छोडेर गए एउटा सन्देश
र, करेसातिर बेपत्ता भए
‘सहादत प्राप्त गर्‍यो तिम्रा कान्छा छोराले,
अमरत्व प्राप्त गर्‍यो, ऊ जनयुद्धमा मारियो’
मुर्छा परिन् आमै
मुर्छा परे उनका सपनाहरू
उनलाई उठाउन आए गाउँलेहरू
थाहा पाएर भोलिपल्ट बिहान
मुर्छाबाट ब्युँझाउन आए
तर, उठिनन् बुढी
उठाउन सकेनन् उनलाई गाउँलेहरूले
किनकि, चिर मुर्छामा थिइन् उनी
चिर निद्रामा सुतिसकेकी थिइन् उनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *