✍️ अच्युत दाहाल
लोकतान्त्रिक शासनमा अपांग झैं भएको
मेरो देश
अझै लोकतान्त्रिक गणतन्त्र बनिन खोज्छ
‘मल्ल’ र ‘शाह’ हरूको चोलो भिरेर
करोडौं मानिसको सरल मनलाई कुल्चेर
भरोसालाई रेटेर
आफ्नै स्वामित्व जमाउँन खोज्छ
मेरो देश
खल्तीमा राखेको वाणिज्यिक मुस्कान
फुत्त झिकेर ओठमा लिप्दै
एउटा मीठो असत्य गीतको
तानपुरा छेड्ने प्रयास गर्छ
मेरो देश
‘भूगोलमा सानु तर छातीभित्र विशाल’ भन्दै
सबैलाई हौसला दिँदै
सबैको हैसियत थुत्न खोज्छ
मेरो देश
हो ‘नेपाल’ सोचाइ विशाल हरेक मनभित्र,
शब्द सरल, भोग्ने
मनहरू सोझा छन्
उनीहरूको सरलतालाई
विवशता ठान्छ
मेरो देश
शब्दहरू मौन छन्,
वाक्यहरू हतास छन्,
हरफहरूको छट्पटी कहालीलाग्दो छ,
पुस्तकहरूको आँखामा मौनता मात्र झल्किन्छ,
उनीहरूको मौनतालाई
मूर्खता ठान्छ
मेरो देश
हिजोआज किन देखिँदैन सगरमाथाको उज्यालो,
महसुस हुँदैन गौतम बुद्धको शान्ति,
मोलमोलाइमा छ स्वाभिमान
देश जान्दैन
शब्दहरू ब्रहृम हुन्
शब्दहरू सत्य हुन्
शब्दहरू सुन्दर हुन्
अहिले समाधिमा मग्न छ देश
त्यसैले मौन छ ऊ
उसको मौनता मूर्खता होइन
महानता हो
देश जिस्क्याउँछ
खिल्ली उडाउँछ
उसलाई के थाहा
प्रलय त तब हुन्छ
जब देशका आँखा उघ्रिन्छन् ।
चन्द्रनिगाहपुर, रौतहट ।
कविता : कठै मेरो देश
Read Time = 2 mins
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता