काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले फोटो पत्रकार विशेष नारी सम्मानको घोषणा गरेको छ । ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालका दुईजना फोटो पत्रकारलाई सम्मान गर्ने घोषणा गरेको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको केन्द्रीय कमिटी बैठकले पहिलो महिला फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोही साहसी महिला फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
बैठकले उक्त सम्मान आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरी सम्मान गर्ने निर्णय गरेको छ । २०४६ सालदेखि निरन्तर फोटोग्राफीसँगै फोटो पत्रकारितामा सक्रिय नेपालकै पहिलो महिला स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ उषा तितिक्षु ।
यस्तै, एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा श्रेष्ठले आफ्नो सगरमाथा आरोहणका क्रममा सगरमाथा आधार शिविरमा फोटो प्रदर्शनी गर्नुका साथै नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै कीर्तिमान कायम गर्नुभएको छ ।






