घुम्ती मुक्तक नेपालद्वारा खरेल, गौतम र कार्कीलाई सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । घुम्ती मुक्तक नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार यादव खरेललाई सानु-मखमली मुक्तक नायक सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई कालिका-शान्ता मुक्तक मानकश्री सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा मुक्तककार उदास कार्कीलाई जानकी-मवी युवाश्री सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

महाराजगञ्जस्थित न्यू थकाली रेस्टुरेन्टमा आयोजित कार्यक्रकमा प्रमुख अथिति नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उहाँहरूलाई सम्मानित गर्नुभएको थियो । कलानिधि दाहालको स्वागत मन्तव्य र भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा प्रमुख अथिति बैरागी काइँलाले साहित्यमा मुक्तक लोकप्रिय विधा हो भन्नुहुँदै यसको समृद्धिका लागि अझै प्रयास हुनु आवश्यक छ भन्ने धारणा राख्नुभयो । कसैको दृष्टिमा नपरेका अझै केही विधा छन् र तिनको पनि विकास गर्दै जानुपर्छ भन्ने उहाँको धारणा थियो ।

ADVERTISEMENT

सम्मानित व्यक्तित्व यादव खरेलले हाल मुक्तक सबैभन्दा लोकपृय विधा बनेको हुँदा यसलाई अंग्रेजीमा अनुवाद गरेर संसारव्यापी बनाउनु आवश्यक छ भन्नुभयो । पुरस्कृत अर्का व्यक्तित्व प्रा.डा. गौतमले मुक्तक संस्कृतको चतुष्पदीबाटै विकसित भएको विधा हो भन्नुहुँदै हेर्दा सजिलो भए पनि बिन्दुमा सिन्धु अटाउनुपर्ने भएका कारण यो विधा लेख्न त्यति सजिलो नभएको धारणा राख्नुभयो । अर्का सम्मानित व्यक्तित्व उदास कार्कीले यो सम्मान र पुरस्कारले आफूमा जिम्मेवारी बढाएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवाली, विनोद दाहाल वत्स, प्रा.डा. गोविन्दमानसिंह कार्की, बलराम दाहाल, युवराज मैनाली, सुचिता काफ्ले, ठाकुरप्रसाद शर्मा भण्डारी, रामप्रसाद पन्त, हरिभक्त सिग्देल महेश, राधेश्याम लेकाली उषा शेरचन, कामकाजी कोने लगायतका विभिन्न व्यक्तिबाट शुभकामना मन्तव्य राखिएको थियो । उक्त कार्यक्रममा विभिन्न मुक्तककारले आ-आफ्ना मुक्तक वाचन गर्नुभएको थियो । मुक्तक वाचन गर्ने स्रष्टाहरूमा मञ्जु थापा, सुशीला ढकाल अधिकारी, उत्तम विचार, वासुदेव घिमिरे, बद्री उप्रेती, नम्रता उप्रेती, विनोद खत्री ‘आकाश’, शैलेन्द्र शाह, सानु शर्मा, सुरेश वैद्य, दाहाल कल्पनालगायत रहनुभएकोे थियो ।

प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमोद प्रधानले पुरस्कृत व्यक्तिहरूबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अन्त्यमा घुम्ती मुक्तक नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति निर्मलरमण पराजुलीले प्रतिष्ठानको विकासका लागि आफूले गरेको संघर्षबारे बताउँदै आगामी दिनमा पनि यसको समृद्धिका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *