अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको शिला बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ। अयोध्यामा निर्माणाधीन मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला यहाँ ल्याइएको हो ।
यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो। अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितको टोलीलाई स्वागत गर्नुभयो ।
ठूलो संख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिला भित्र्याए। शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ । शिला बिहीबार बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिनुभयो ।
ट्रष्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि बिहीबार देवशिला ग्रहण गर्ने बताउनुभयो । उहाँले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रष्टले औपचारिकरूपमा शिला बुझ्ने जानकारी दिनुभयो ।
यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि शिला अयोध्यातर्फ लगिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts