काठमाडौं । हिमालय टाइम्सका सम्पादक प्रा.पुरुषोत्तम दाहालले मानिस सबै पुस्तकालय तथा पाठशाला हौँ भन्दै यस नव-पुस्तकालयले आयोजना गरेको कार्यक्रममा उपस्थित मानव पुस्तकालय अर्थात् विज्ञ व्यक्तिहरूबाट आफू प्रभावित भएको बताउनुभयो ।
यसका लागि उहाँले आयोजक तथा तीनैजना व्यक्तिलाई धन्यवाद दिँदै आयोजकलेमात्रै कार्यक्रमलाई निरन्तरता दिन असमर्थ भए अरूको सहयोग लिएर भए पनि यस्ता राम्रा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
मुक्तिनाथ साहित्य समाज तथा नव-पुस्तकालय आयोजक रहेको मानव पुस्तकालयको यस शृंखलामा तीनजना विभिन्न क्षेत्रका विज्ञहरूलाई मानव पुस्तकालयका रूपमा उपस्थित गराइएको थियो । साहित्यकार तिलकप्रसाद लुइँटेल, पुस्तकालय विज्ञ दीपकराज पौडेल र चिकित्सक रामकुमार श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका लुइँटेलले संस्कृत साहित्य वर्तमान पनि हाम्रो प्रेरणाको स्रोत भएको विचार राख्दै नेपाली साहित्यको स्रोत संस्कृत साहित्य रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी विदेशीले बोलेका कुरालाई विज्ञान मान्छौँ तर वेदले भनेको हाम्रै जनजीवनको स्रोतका रूपमा रहेको साहित्यलाई कर्मकाण्डमात्र मान्दै आएका छौँ ।’ लुइँटेलले चार वेदको अनुवाद गरेको प्रसंग पनि जानकारी गराउनुभयो ।
कलानिधि दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अर्का मानवपुस्तक पुस्तकालयविद् दीपकराज पौडेलले आफूले विभिन्न पुस्तकालयको जिम्ममेवारी सम्हाल्दाका अनुभव बताउँदै पुस्तकालय पनि ज्ञानको एउटा अंग भएको धारणा राख्नुभयो । नव-पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पुस्तकालय अध्यक्ष विष्णु पन्तको सभापतित्वमा सञ्चालित कार्यक्रममा डा.रामकुमार श्रेष्ठले आफू न्यूरोसर्जन बन्दाका अनुभव सुनाउनुभयो । सल्यक्रिया गर्दाका अनुभव बताउँदै उहाँले हाम्रो समाजमा डाक्टर बन्दा र त्यसभन्दा पहिलेको अवस्थामा मानिसहरूले हेर्ने दृष्टिकोणको भिन्नताका बारे बताउनुभयो ।
कार्यक्रमा पदम दाहाल, विनोद दाहाल वत्स, सुरज वैद्य, सुचिता काफ्ले, पार्वती अधिकारी, निर्मलरमण पराजुली, दुर्गा अधिकारी भमरकोटे, केशव ज्ञवाली, रीता शाही, ध्रुव गजुरेल, जानुका गुरागाईं, गणेश लोहनी तथा कल्पना दाहालले आआफ्ना रचना सुनाउनुभएको थियो । महेशप्रसाद रिजालले भने गीत गाउनुभएको थियो ।
कार्यक्रमका अन्त्यमा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष हरिभक्त सिग्देल महेशले धन्यवाद ज्ञापन गर्नु भयो भने विष्णुप्रसाद पन्तले सभापतिको मन्तव्य दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts