✍️ जनक रावल
घरको आँगनमा
अंशबण्डाको कुरा नमिलेर
जोडतोडका साथ
जेठा, माइला र कान्छाहरू
खुकुरीको खेल देखाउन,
युद्धको अभ्यास गरिरहेका छन् ।
आमा, हजुरआमा र काकीहरू
धर्तीको माटोसँग युद्ध रोक्न
अनुरोध गरिरहेछन् ।।
आँगनीमा आमा कार्पेट बिछ्याउँछे,
पृथ्वीविरुद्ध युद्धको सुरुवात देखेर,
बुद्ध र शान्तिलाई गर्भधारण गर्न चाहने आमा
सधैँ सन्तानको सुख
खुशी चाहने आमा
बन्दुक भिरेका असङ्ख्य बालकहरूदेखि
शान्ति छाओस् भनेर बार बार
सन्तानसँग भिख मागिरहेकी छिन् ।।
तर, सुनिदिने कस्ले ?
जेठादेखि कान्छाहरूसम्म
वल्लो घरका र पल्लो घरका
डाढेहरूको भनाइ र उक्साहटमा लागेर
आमाको अंशबण्डा गर्न खोजिरहेका छन् ।
आमाको नाम ओगट्न झगडा
कसैलाई शिर, कसैलाई छाती आदि आदि
आफ्नो पहिचानका लागि
आफ्नो नुनको ऋण तिर्न ।।
आमाको अंशबण्डा ?
आफ्नो शक्ति बलियो देखाउन
जेठाले वल्लो घरकालाई गुहार्यो
अनि माइलाले पल्लो घरकालाई
के कम भन्दै,
कान्छाले भित्रभित्रै दुवैलाई गुहार्यो ।
लडे आफैँ-आफैँ
घाइतेसमेत भए
वल्लो घरका र पल्लो घरका खुशी छन्
अब आफ्नो हालीमोहाली चल्ने भयो भनेर ।।
जेठाले छानो उजाड्यो..
माइलाले बार्दली भत्कायो
कान्छाले चारवटै भित्ता भत्कायो
अब घर चारैतिरबाट नांगो भयो,
कसैलाई टाउको लुकाउने ठाउँ बाँकी रहेन ।
तर पनि, अझै अंशबण्डाको कुरा मिलेन
टाढा बसेर छिमेकीले हेरिरहृयो,
उनीहरूले सहकार्य गर्नेलाई
अघाउन्जेल भोज खुवाए ।।
त्यसैको गुन तिर्नलाई पनि
आमाका विरुद्ध,
आफ्नै सन्तानहरूलाई जुधाए ।
केही सन्तानलाई उत्तरले च्याप्यो,
दक्षिणले पनि केहीलाई लालचमा पा¥यो,
अनि तिनैभित्र पनि झगडाको बिउ छरे ।।
त्यही ऋण तिर्न सन्तानले
आमाको सम्झौता गरे,
अलिकति पनि संकोच नमानी..
आज,
आमाको अस्थित्व खतरामा पर्दा,
एकले अर्कामाथि औला ठड्याउँदैछ,
आरोप–प्रत्यारोपको झगडा सुरु भएको छ ।
तर पनि,
आमा अझ पनि मांन छिन्
आफ्नो स्वार्थका लागि अंशबण्डामै
सन्तान लडिरहेका छन् ।।
अरूको इशाराले गर्दा,
अरूकै हितको प्रलोभनमा पर्दा
बस् ! लुछालुछ मात्र भइरहेको छ ।।
काठमाडौं ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts