काठमाडौं । समस्त अपांगता भएका व्यक्तिहरूका लागि जागरण गीतको प्रबद्र्धन कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा ‘आउ साथी एउटा खुशीको दियो बालौं’ मुख्य शीर्ष गीतलगायत अन्य गीतहरू समेत समेटेर तयार पारिएको सो श्रव्यदृष्य सामग्रीमा अपांगतासम्बन्धी जनचेतना फैलाउने तथा अपांगता भएका व्यक्तिलाई सहयोग गरौं भन्ने सन्देश समेटेर बनाइएका गीतहरू प्रदर्शन गरिएको थियो ।
अपांगताभित्र रहेको विविधतालाई समेट्ने गरी बनेको ‘आउ साथी एउटा खुशीको दियो बालौं’ बोलको सो गीतलाई सम्पूर्ण अपांगता भएका व्यक्तिको मनमुटुसम्म पुर्याउने उद्देश्यले आयोजित सो प्रबद्र्धन कार्यक्रम ‘तिमीसँग आन्विका अभियान’को सहयोगमा पाटन सिबिआरले आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले यस प्रकारको सन्देशमूलक गीतले समाजमा अपांगताप्रतिको नकारात्मक धारणामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा ‘तिमीसँग आन्विका अभियान’का प्रतिनिधि दिनेश खनालले मस्तिष्क पक्षघात भएकी बालिका आन्विकाको आमाबुबाको पहलमा उहाँ जस्तै अपांगता भएका अन्य व्यक्तिको सहयोगका लागि भनेर यस अभियानको सुरुवात गरेको जानकारी दिनुभयो ।






