हिमालय टाइम्स आजबाट २८ बर्षमा

विश्वासका साथ चलिरहेको यात्रा

हिमालय टाइम्स कालिकोट, संवाददाता

आजभन्दा २७ वर्ष पहिले विकासको विशिष्ट सपना देख्दै नेपाली प्रेस जगतमा अवतरित हिमालय टाइम्स राष्ट्रिय दैनिकले आफ्नो जीवनको अनगिन्ती आरोह अवरो पार गरी २८ वर्षको खुड्किलोमा चढ्न लागेको छ । जीवनको २८औं खुड्किलोमा चढ्दै गर्दा यसको अघिल्लो खुड्किलोको आरोहण झन् कठिन हुनसक्छ । विगतको कष्टकर यात्राले आउँदो यात्राको जग बनाइरहेको हुन्छ । हिमालय टाइम्स पनि कठिन जगमा उभिएको हुनाले भोलिको दिनमा जे-जस्ता कठिनाई आए पनि अर्को खुड्किलोमा पुग्ने आँट, परिश्रम र धैर्य यथावत् छ । यसैकारण विगतलाई भन्दा आगतप्रति हामी कढी आस्वस्त र विश्वस्तसमेत छौं ।

नेपाली प्रेसले अत्यन्त ठूलो संघर्षको चरण पार गरेर यहाँसम्म आए पनि अझै त्यो चरण यथावत् छ । संघर्षको लामो शृंखला सामुन्ने देखिँदै छन् । खासगरी छापा माध्यमहरूका लागि दुईटा चुनौती छन् । पहिलो आर्थिक नै हो । बजार घट्तै गएको छ । बजारको प्रतिस्पर्धा हिजोभन्दा आज बढी जटिल छ । पहिले यातायातको असुविधा थियो । तर अधिकांश शहरमा छापा माध्यम ढिलै भए पनि पुग्न सक्थ्यो । अहिले यातायातको विकास र संचारको तीव्रता रहेको छ तर छापा माध्यमलाई बजारसम्म पुग्न कठिनाई छ । छापा माध्यमका दुइटा मुख्य आर्थिक स्रोतहरू नै हुन् । पहिलो पाठक र दोस्रो विज्ञापन । पाठक असाध्य बढेका छन् तर बिक्री घटिरहेको अवस्था छ । विज्ञापनको अवस्थाबारे खोतल्नु नै निरर्थक छ ।

दोस्रो चुनौती हो विद्युतीय माध्यम । अहिले सूचना प्रविधिले संसारलाई बन्दी बनाएको छ । नेपाली छापा माध्यमलाई मात्रै होइन सबै सूचना र सञ्चारका माध्यमलाई सूचना प्रविधिले आफ्नो नियन्त्रणमा राखेको छ । कागज विस्तारै अभ्यासविहीन हुने स्थिति छ । मानिसहरूका हातहातमा रहेको मोबाइलमा सिंगो पृथ्वी अटाएको छ । पृथ्वीमात्रै होइन सम्पूर्ण ग्रह, उपग्रह, आविष्कार त्यही सानो भाँडोमा बन्द छ र जुनबेला पनि मानिसहरूले मोबाइलको ताला खोलेर संसारलाई चियाउन सक्छन् । यस्तो समयमा सानो लगानीकासाथ निष्ठाले पूर्ण छापा माध्यम सञ्चालन गर्नु अत्यन्त कठिन कार्य हुँदै गएको छ ।

प्रेस जहिले पनि समाजप्रति उत्तरदायी हुन्छ, सरकारले बनाएका कानुन नियमको सम्मान गर्दै सूचनाको भारी समाजमा नै बिसाउने गर्छ । यद्यपि प्रेस निष्पक्ष र स्वतनत्र हुन कठिन छ । राज्यका कानुन र समाजको अनुशासनमा वेष्ठित प्रेस स्वतनत्र र निष्पक्ष हुन्छ भन्नु भ्रम छर्नु सिवाय केही हुने छैन । तर प्रेस सत्यको नजिक पुगेर समाचार, विचार र सूचना प्रदान गर्ने स्वाभाविक माध्यम हो । प्रेसले निरन्तर समाजलाई सचेत गराइरहेको हुन्छ र जिम्मेदारीमा बसेका हरेक क्षेत्रलाई खबरदारी गरिरहेको हुन्छ । मुख्य रूपमा राज्य विषय हो । राज्यमा बसेर नेतृत्व गर्नेहरू, उनीहरूका काम, उनीहरूका निर्णयले पार्ने असर, सबै पक्षमा प्रेसको खबरदारी हुने गरेको छ । हिमालय टाइम्स त्यसमा कतै पनि चुकेको छैनभन्दा हामीलाई खुशी लागेको छ ।

ADVERTISEMENT

२७औं वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गर्दै गर्दा हामीले विचार आधार बनायौं : पुराना समस्या नयाँ सरकार । यो साल नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको अर्को चरणको अभ्यासअन्तर्गत तीनवटै तहमा नयाँ सरकार गठन भएको छ । सार्वभौम नेपाली जनताको विवकेलाई जुनसुकै रूपमा परिभाषित र परिचालित गरिए पनि मतदानबाटै तीनवटा सरकार बनेका छन् । तीमध्ये स्थानीय सरकार सबैभन्दा महत्वपूर्ण रहेको छ । प्रदेश सरकारको भूमिका त्यति महत्वपूर्ण र प्रभावकारी हुनसकेको छैन । तर संघीय सरकारले स्थानीय र प्रदेश दुवै तहको सरकारभन्दा बढी भूमिका पाएको छ । जुन स्वाभाविक हो । अनेक राजनीतिक संघर्षको परिणाम यस युगको सबैभन्दा राम्रो मानिएको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक प्रणाली नै हो । यसमा दुई तहको वा तीन तहको भन्ने विवाद छ । नेपालको आर्थिक सामाजिक अवस्थादेखि राजनीतिक सोचका आधारमा दुई तहका पक्षमा जनमत पर्याप्त छ । तै पनि तीन तहको सरकारको अभ्यास सुरु भइसकेको हुनाले यसले देखाउने जनमुखी परिणामलाई पर्खनै पर्ने हुन्छ ।

नेपालमा अनगिन्ती समस्या छन् । आर्थिक विपन्नता, बेरोजगारी, अविकास, बौद्धिक पलायन, भ्रष्टाचार, पुराना रोगहरू हुन् । सामाजिक रूपले छुवाछूत, दाइजो प्रथा, छाउपडी प्रथा, बोक्सा-बोक्सी प्रथाले समाज ग्रस्त छ । अनेक अन्धविश्वासले जरो गाडेको छ । मानिसहरू आज पनि खानेपानी, औषधि र राम्रो शिक्षा नपाएर पीडित छन् । मानव अधिकारको क्षेत्र लथालिंग छ । संक्रमणकालीन न्यायको विषय पसारो परिरहेको छ । विगतको हिंसाले पीडित, यातना र आफन्तको हत्याले आहत, विस्थापितहरूको अवस्था प्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित तनाव, युद्ध, अशान्ति, शक्ति संघर्षको छाया नेपालले समेत भोग्नु परिरहेको छ । आर्थिक अवस्था भयावह हुँदै गएको विज्ञहरूको विश्लेषण छ । अव्यस्थित र अनि योजित ग्रामीण सडक, अव्यवस्थत शहरीकरण, कृषिमा क्षयीकरण, अनेक समस्या छन् । विकासको आरम्भ कहाँबाट गर्ने हो ? यो प्रश्न हिजोदेखि आज पनि यथावत् छ । यस अर्थमा हिमालय टाइम्सले यो पटकलाई पुराना समस्या नयाँ सरकारमा हबस केन्द्रित गर्ने प्रयास गरेको छ ।

अनेक पुराना समस्या छन् । राज्य र समाजका सामु आँ..मुखवाएर बसेका छन् । तीमध्ये केही क्षेत्रका समस्यालाई लिएर प्रतिकात्मक रुपले यहाँ विभिन्न विद्वानहरूका विचार प्रस्तुत गर्ने जमर्को गरेका छौं । हामीलाई आशा छ सरकारमा बस्ने, नीति निर्णयमा बस्ने र समाजका विभिन्न तहमा रहेका जिम्मेदारहरूले पुराना समस्यालाई नयाँ सरकारले कसरी सामना गर्ने छन्, गर्नुपर्ने हो मन्थन गर्नु हुनेछ । वादेवादे जायते तत्वबोध : अर्थात् प्रतिक्षणको विमर्शले विस्तारै निष्कर्षमा पुग्न सकिन्छ । तत्वबोधलाई हामीले यहाँ निष्कर्ष बुझेका छौं ।

हाम्रो यस प्रयासमा आफ्ना अमूल्य रचना र विचारकासाथ सहयोग गर्नु हुने सम्पूर्ण लेखकप्रति हामी आभारी छौं । आगामी दिनमा समेत यहाँहरूको अमूल्य सहयोगको अपेक्षा गर्दछौं । आजको यस सुखद् अवसरमा सम्पादकीय सहकर्मीहरू, पाठक, ग्राहक, शुभेच्छुक, सहयोगी, व्यवस्थापनमा संलग्न र विज्ञापनदाताहरू सबैमा सम्पादकीयका तर्फबाट आभार प्रकट गर्दछौं र आगामी यात्रा सहज गराउन यहाँहरूको सदासयता यसरी नै हुनेछ भन्नेमा विश्वास प्रकट गर्दछौं । शुभास्ते पन्थानः सन्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *