डा.बाबुराम भट्टराईमा अन्ततः मुसाको छोरी मुसैलाई उक्ति चरितार्थ भएको छ । उहाँको राजनीतिक जीवन यति अस्थिर भएको छ कि उहाँ कुन बेला कुन धारामा नुहाउन पुग्नुहुन्छ, कुन बेलामा कुन कुवामा डुबुल्की मार्नुहुन्छ र कुन समयमा कुन समुद्रमा हेलिनुहुन्छ थाहा नै नहुने भएको छ । यो अस्थिरता र छट्पटीलाई देख्नेहरू, जो कसैले पनि अब उहाँले राजनीतिको, सत्ताको, शक्तिको यो अस्थिर यात्रालाई पूर्णविराम दिने समय आएको अनुभव गर्न लागेका छन् । डा.भट्टराईले २०७२ यताको सात वर्षमा मात्रै चारवटा राजनीतिक दलमा आफूलाई आबद्ध गराउँदै अहिले अन्तिमपटक आफ्नो २०४६ देखिको पुरानै घर नेपाल कम्युनिष्ट पार्टी माओवादीको बलेसीमा ओत लिने निर्णय गर्नुभएको छ । २०७२ मा संविधान जारी हुनासाथ माक्र्सवादको, कम्युनिष्ट विचारको औचित्य अन्त्य भएको घोषणा गर्दै र जारी संविधानसँग असहमति राख्दै मातृपार्टी माओवादी परित्याग गर्नुभएको थियो ।
उहाँले नयाँ शक्ति हुँदै जसपा र नेसपामा छलाङ मार्नुभयो । कतै पनि टिक्नुभएन । माओवादी परित्याग गरी डा. भट्टराईसँग जोडिएका उहाँका सहयोगीहरूले समेत उहाँलाई परित्याग गर्दै हिँडेपछि उहाँ एक प्रकारले एक्लो अनुभव गर्न थाल्नुभयो र जसपासँग मिल्नुभयो । त्यहाँ पनि अट्नुभएन । उहाँले आफ्नै नेतृत्वमा गठन गर्नुभएको पार्टीलाई पनि हाँक्न सक्नुभएन । यसले के देखाउँछ भने डा. भट्टराई बौद्धिक रूपमा जति कुशल हुनुहुन्छ त्यसभन्दा निकै गुणा बढी पहिलो नेता भएर कार्य गर्ने कलामा उहाँ अकुशल हुनुहुन्छ । यसैकारण उहाँलाई पदमा पुग्न अरू कुनै कुशल नायकको आवश्यकता हुन्छ । अहिले त्यो नायकत्व पुष्पकमल दाहालमा देख्नुभएको हुनाले माओवादीको चुनाव चिन्हमा चुनाव लड्ने निष्कर्षमा डा.भट्टराई पुग्नुभएको छ ।
उहाँसँगै अर्का अस्थिर राजनीतिक प्राणी वामदेव गौतमले पनि सूर्य चिन्हधारी एमालेबाट निर्वाचन लड्नु पराजयको मुख देख्नु हो भन्ने निष्कर्षका साथ माओवादीसँग अंकमाल गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ । वामदेव गौतमको राजनीतिक चरित्र पनि रमाइलै छ । कुनै समयमा प्रचण्डलाई डकैतको स्तरमा मूल्यांकन थियो उहाँको । त्यसो त राजनीतिमा कसले हिजो कसका विषयमा के भन्यो कुनै अर्थ राख्दैन । नेपालमा चोर र साधुको स्वार्थ मिलेमा गला मिलाउने र आपसी स्वार्थ नमिलेमा साधु साधुका बीचमा तरबार युद्ध हुने सम्भावना रहन्छ । विद्यमान संविधानमा संशोधन गरी जसरी पनि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानलाई एमालेले पूरा नगरेको रिसमा गौतम माओवादीको ओतमा पुग्नुभएको छ । देश र जनताको उन्नति र प्रगतिको चिन्ता नभएका तर आफ्नो प्रगतिको मात्र चिन्तामा चुर्लुम्म डुब्ने राजनीतिक निशाचरहरूको यस्तो सोच र क्रियाकलापलाई अनौठो मानिरहनु पर्दैन ।
विगत निर्वाचनदेखि नै आफ्नो नेतृत्व, आफ्नो सिद्धान्त, आफ्नो संगठन र आफ्ना सदस्यहरूमा विश्वास नभएकाहरूको स्वार्थी गठबन्धनको बोलवाला छ यतिखेर । उनीहरू मतदातालाई समेत अंशबण्डा गरिरहेका छन् । बहुदलीय पद्धतिलाई स्वीकार गर्नेहरूले बहुदलीय चरित्रको खिल्ली उडाएको धेरै भएको छ । केका लागि । सायद अब सबैले अन्तिम सत्य सत्ता भन्ने एकाधिकारवादी विचारलाई आत्मसात गरेको हुनुपर्छ । नेपालको सबैभन्दा पुरानो र अग्रणी ऐतिहासिक राजनीतिक पार्टी नेपाली कांग्रेसको नेतृत्वसमेत मतदातालाई अंशबण्डामा पार्न ब्यग्र देखिन्छ । निर्वाचनको परिणामका आधारमा सरकार चलाउन गठबन्धन गर्ने पुरानो पद्धति हो लोकतान्त्रिक प्रणालीमा । तर, जनतालाई आफ्नो पैतृक सम्पत्ति जस्तो गरी बाँडफाँड गर्नु कुनै पनि हालतमा लोकतन्त्रको मर्मअनुरूप मानिँदैन । यसबाट शक्ति र सत्ताका लागि सिद्धान्त होइन अवसरवाद आफैँ सिद्धान्त हुन लागेको छ ।
यही अवसरवादलाई प्रश्रय दिन निर्वाचन आयोगले समेत अरू कसैको चुनाव चिन्हमा अरू कुनै दलका सदस्यहरूले निर्वाचन लड्न पाउने व्यवस्था गरेपछि यो व्यवस्था चोरलाई चौतारो सिद्ध भएको छ । लोकतन्त्र अभ्यासगत स्थापित संस्कृति पनि हो । अभ्यास जुन रूपमा हुन्छ त्यही रूपमा लोकतन्त्र सबल वा दुर्बल हुने हो । नेपालको आजको अभ्यास लोकतान्त्रिक प्रणालीलाई सबल बनाउनेतर्फ नभएर दुर्बल बनाउनेतर्फ केन्द्रित छ । यसको जिम्मेदार को हुने ? यो प्रश्नको उत्तर सिधा छ त्यो हो आजका सबै दलीय नेतृत्वले लोकतन्त्रलाई निरन्तर अलोकप्रिय र दुर्बल गराउने भूमिका निर्वाह गरिरहेका छन् । के परिवर्तनको अर्थ, भावना र मर्म यही नै हो त ?
लोकतान्त्रिक प्रणालीलाई दुर्बल गराउनेहरू नै परिवर्तनविरोधी हुन् भनेर इतिहासले भन्ने छ । लोकतन्त्रलाई गलत सिद्ध गर्न चाहनेहरूका लागि यो उदाहरणीय पनि हुनेछ । डा.भट्टराईको अस्थिरता वा वामदेवजीको वामयात्रा यी कुनै पनि लोकतन्त्रका पक्षका पाइला होइनन् । खाली सत्तास्वार्थको निकृष्ट चाहना र महत्वाकांक्षा मात्र हुन् । बरू डा. भट्टराईले राजनीतिमा सत्ता राजनीतिको यस्तो अपमानजनक मागलार्ई परिवर्तन गरी विचारको गुरु भएर नेपालीमाझ असल शिक्षा प्रदान गर्नुभएमा त्यो सर्वथा उचित हुनेछ । वामदेवजी त विचारको नभएर जसरी पनि सत्ताको ग्राहक हो उहाँबारे भनिरहनुपर्ने केही छैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता