काठमाडौं । सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा थापाथलीले ललितपुर स्पोट्र्स क्लबलाई हराएको हो । चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेन्टको गेममा २-२ अंकको बराबर गर्दै ¥यापिड चरणसम्म पुगेर सफल भएको थियो ।
क्लासिकल खेल रोमाञ्चक बराबरीमा टुंगिएको थियो । पहिलो बोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारीले स्पोट्र्स क्लबका सिएम सजिन महर्जनसँग हार खेप्नुभयो । चौथो बोर्डको स्पर्धामा महिला च्याम्पियन सिन्दिरा जोशी विनिता कपालीसँग पराजित हुनुभयो ।
दोस्रो बोर्डमा खेल्नुभएका सुशील चौधरीले शैलेन्द्र न्यौपानेमाथि जित दर्ता गर्नुभयो । तेस्रो बोर्डमा आशिष फुँयालले रिसोन थापालाई टाइम आउट गर्दै स्कोर २-२ बनाउनुभएको थियो । त्यसपछि र्यापिड चरणमा थापाथलीले बाजी मारेको थियो ।
उपाधिसँगै थापाथलीले दुई लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता ललितपुर स्पोट्र्स क्लबले एक लाख २० हजार रुपैयाँ पुरस्कार पायो । ललितपुर महानगरपालिका टिम तेस्रो बन्दै ६० हजार र चौथो भएको साबिक विजेता दोलखा चेस होमले ४० हजार रुपैयाँ पुरस्कार पायो ।
प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता