काठमाडौं । फागुन २ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘रंगी’ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको एक मिनेट ३५ सेकेण्डको सार्वजनिक टिजरमा चलचित्रका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रको टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ । टिजर खुशी, रोदन र पीडा मिश्रित छ । फुड डेलिभरी ब्वाई बन्नुभएका सलोनले छोरीका लागि पानीमा भिज्दै काम गरेको दृश्य, छोरीलाई स्याहार सुसार गरेको दृश्य टिजरमा छ । टिजरमा अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन र नम्रतासँगै दीलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।






