काठमाडौं । चलचित्र ‘होस्टेल-३’ आगामी फागुन २३ गतेदेखि सिनेमाघरमा आउने भएको छ । चलचित्रको निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति तय गरेको हो । यो मितिमा नेपालसहित अन्य विभिन्न देशमा पनि चलचित्र प्रदर्शनमा आउने निर्देशक सुशान कँडेलले जानकारी दिनुभयो ।
निर्देशक कँडेलकै कथा रहेको यो चलचित्रको स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण भएको चलचित्रमा कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सह-निर्माता तथा शंकर कोइराला कार्यकारी निर्माता हुनुहुन्छ । ‘होस्टेल-३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो ।
चलचित्रमा आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय छ । अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, यमप्रसाद ओलीको प्रोडक्सन डिजाइनर चलचित्रमा छ ।
अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत रहेको यो चलचित्रमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन छ । आरआर फिल्मस् र काफिया फिल्मस् चलचित्रको नेपाल वितरकमा रहेका छन् ।






