काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट संघका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिनुभएको हो ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकून् भन्ने कामना पनि गर्नुभयो । ‘यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत् तपाईंहरूको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरू बधाईका पात्र हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।’
आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्दै उहाँले यसका लागि बोलपत्र आहृवान भइसकेको बताउनुभयो । उहाँले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताउनुभयो । त्यस अवसरमा नेपाल क्रिकेट संघ र खेल व्यवस्थापकहरूले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झन्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो । जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुसी भएको प्रतिक्रिया दिनुभयो ।
व्यावसायिक क्रिकेटको सम्भावना बढ्यो : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको समेत उल्लेख गर्नुभएको छ ।
एनपिएलको उपाधि जनकपुर बोल्ट्सले जितेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारभर पुगेको बताउनुभयो ।
खेलले एकता, सद्भाव र सहिष्णुताको भावनासमेत विकसित गर्ने गरेको उल्लेख गर्दै उहाँले एनपिएल र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको प्रतिक्रिया दिनुभयो ।
जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको समेत मुख्यमन्त्री सिंहको भनाइ थियो ।
उहाँले प्रदेशको धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव बनेको जनकपुर बोल्ट्स विजयी हुँदा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रतिको निष्ठा अभिव्यक्त भएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्ददायक प्रदर्शनबाट प्रदेशवासीमा अन्तिम खेलसमेत जित्ने विश्वास पलाएको र टोली आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलबाट प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान पुग्नुभएको थियो । मधेश प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्री सिंहले बताउनुभयो ।
जितको उपलक्ष्यमा साधुसन्तलाई खाना
जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेसँगै मधेश प्रदेशका युवाहरूले साधुसन्तलाई निःशुल्क खाना खुवाएका छन् । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरूलाई बोलाएर भण्डारा गरिएको हो । जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधि जितेको खुसीमा साधुसन्तलाई खाना खुवाएको महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताउनुभयो । उहाँले शनिबार फाइनलअघि जनकपुरको जितका लागि पूजा आराधना गरेको बताउनुभयो । कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आइतबार साधुसन्तलाई भण्डारा खुवाएको उहाँले बताउनुभयो ।
दुव्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरूमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।
कीर्तिपुर खेलमैदानमा शनिबार सम्पन्न एनपिएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आइतबार एक विज्ञप्ति जारी गरी यस किसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सद्भाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पुर्याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।
सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाई स्थलगत निरीक्षणसहित घाइतेहरूसँग विस्तृत विवरण बुझेपछि आवश्यक निर्णय लिने स्पष्ट गरेको छ ।






