
✍️ सन्दीप लुइँटेल
विगत केही वर्षदेखि नेपालको राजनीतिमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ वरिपरि घुमिरहेको छ । यी नेताहरूले विभिन्न समयमा देशको बागडोर सम्हालिसकेका छन् । संसद्को झिनो बहुमत तथा कसैले दुई तिहाइ सांसदको समर्थनमा सरकार सञ्चालन गरेका छन् ।
यिनीहरूको कार्यशैली फरक नै छ । देश र जनताको अवस्थाभन्दा पनि आफ्नो पार्टी र राजनीति बचाउन सत्ताको बागडोर सम्हालेकोभान नेपाली जनतालाई पर्न थालेको छ । यी तीन दलका तीन नेतामध्ये एक सरकारमा रहँदा अर्को सम्भावित प्रधानमन्त्रीको दौडमा रहने गरेका छन् । तर सरकारमा रहँदा एकले गरेको राम्रो काम अर्कोले अनुशरण नगरेको देखिन्छ ।
वर्तमान ओली सरकार आफ्नोलाई बचाउने र आफूले गरेको अपराध लुकाउनेमा ध्याउन्न छ । त्योबाहेक यो सरकारबाट केही हुन्छ भनेर जनताले अपेक्षा गर्न छोडेका छन् । यसअघि पनि प्रधानमन्त्री हुँदा ओलीले भ्रष्टचारीलाई पक्षपोषण गरेको सुनिन्थ्यो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एमाले सांसद गोकुल बाँस्कोटाको सार्वजनिक रूपमै बचाउ गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफ्नै पार्टीको करिब दुई तिहाइसहित सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । अन्त्यमा संसद् विघटनसँगै प्रधानमन्त्री तथा करिब दुई तिहाइ रहेको पार्टी विघठनसम्म पुग्यो । बालुवाटारबाट बालकोटको यात्रा तय भयो । हाल दुई तिहाइ सांसदको समर्थनमा उनै ओली आज प्रधानमन्त्री छन् । तर उनको कार्यशैली हेर्दा आफ्नालाई बचाउनबाहेक केही गर्न नसकेको देखिन्छ । न प्रधानमन्त्री ओलीले यसअघिका प्रधानमन्त्री प्रचण्डको सकारात्मक कार्यशैलीलाई अनुशरण गरेको देखिन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक २०७९ पुस ११ गते प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री हुँदा ‘ठूल्ठूला माछा’ जेलमा पुगे । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, सरकारका सचिवलगायत जेल चलान भए । आफ्नै पार्टीको उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि सुन तस्करी प्रकरणमा पक्राउ गरे । सशस्त्र युद्धमा उनीहरूसँगै भूमिगत गएका थिए । कान्तिपुर ग्रुपका साहु कैलाश सिरोहिया उनकै पालामा नागरिकता किर्तेमा समातिए । भाटभटेनी साहु मीनबहादुर गुरुङलाई पनि ललितानिवास जग्गा प्रकरणमा पक्राउ गरियो । बाँसबारी छालाजुत्ता प्रकरणमा विवादित व्यापारी तथा डलर अर्बपति विनोद चौधरीको भाइ अरुण चौधरी प्रहरीको फन्दामा परे ।
भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु देउवा र झापाको गिरिबन्धु टी-स्टेटको जग्गा हिनामिना प्रकरणमा नेकपा एमालेका नेतालाई पक्राउ गर्न खोजेपछि प्रचण्ड सरकार ढलेको बताइन्छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेको पाँच महिना भयो । पाँच महिनामा आफ्नालाई बचाउने विपक्षीलाई समात्ने प्रधानमन्त्री ओलीको रणनीति देखिन्छ । सहकारी प्रकरणमा ३५ हजार २३९ ले करोडौं बचतकर्ताको खर्बाैं रूपैयाँ खाइदिएको छ । सडकमा मकै पोल्नेदेखि साग बेच्ने, चटपटे बेचेर गुजारा गर्नेसम्मको पैसा सहकारीले झ्वाम पारिदिएको छ ।
तर, वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पछाडिमात्र हात धोएर लागेको छ । लामिछानेलाई विभिन्न जिल्ला पु¥याएर सरकारले नौटंकी गरिरहेको छ । सरकारले अरूलाई समात्न चाहेको भए पाँच महिना पर्याप्त थियो । मुलुकभर सञ्चालित सहकारी ठगीमा अधिकांश प्रमुख दलका नेताहरूले सञ्चालन गरेको सहकारी छ । कानुन सबैलाई बराबर हुन्छ । कारबाही गरेपछि सबैलाई गर्नुपर्छ । एउटा व्यक्तिको पछाडिमात्र सरकार लाग्दा आमसर्वसाधारणमा शंका उब्जिएको छ ।
सहकारीकै पीडित बचतकर्ता भन्छन्, ‘सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्यो । यो एउटालाई मात्र समातेर खोरमा कोचर अन्य बचतकर्ताको हकमा चाँहि के हुन्छ ?’ आफ्नो पार्टीका नेता-कार्यकर्तालाई ओलीले कसरी बचाउँछन् ? यो जनताको आँखासामुन्ने छर्लंग छ । मानव तस्करीको आरोपमा समातिएका कोशी प्रदेशका कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई जोगाइएको जगजाहेर छ । उनीमाथि मुद्दा नचल्ने निर्णय गराइएको छ । यता, सरकारकै परराष्ट्रमन्त्री आरजु राणामाथि पनि टीकापुर जग्गा घोटाला तथा भुटानी शरणार्थी प्रकरणमा दाग लागेको छ । कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलमाथि कारबाही गर्ने सरकारको कुनै सुरसार छैन् । उनीहरू पनि सहकारी काण्डमा मुछिएका छन् । तर, किन नसमातेको ? गम्भीर प्रश्न यहाँ नेर उठेको छ ।
वर्तमान सरकार आफ्नोलाई बचाउने र आफूले गरेको अपराध लुकाउनेमा ध्याउन्न छ । त्योबाहेक यो सरकारबाट केही हुन्छ भनेर जनताले अपेक्षा गर्न छाडेका छन् । यसअघि पनि प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टचारीलाई पक्षपोषण गरेको सुनिन्थ्यो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एमाले सांसद गोकुल बाँस्कोटाको सार्वजनिक रूपमै बचाउ गरेका थिए । यती, ओम्नी प्रकरणमा प्रधानमन्त्री ओलीको बोली पक्षपोषण गर्ने नियतकै थियो तर आज पनि प्रधानमन्त्री ओलीको कार्यशैली उही नै छ ।
प्रधानमन्त्री ओलीका यस्तै कार्यकदमले एमालेको जनमत क्रमशः ओरालो लाग्ने देखिएको छ । गत मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनले नै एमाले जनताको नजरमा कहाँ छ ? भन्ने प्रष्ट्याइसकेको छ । आफ्नाले जतिसुकै गल्ती गरे पनि जोगाउने ओलीकै कारण पार्टी सकिने देखिएको छ । एमालेकै कार्यकर्ता ओलीका कारण एमाले सकिएको बताउँछन् । यता, पार्टीभित्र पनि यस विषयमा बहस चुलिसकेको बुझिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच